विघटितका सदस्यद्वारा केन्द्रको आलोचना

चितवन, ८ असार । नेपाली कांग्रेस केन्द्रीय समितिले बिहीबार गठन गरेको चितवन तदर्थ समितिमा नपरेपछि विघटित कार्यसमितिका सदस्यहरूले केन्द्रको विरोध गरेका छन् ।
केन्द्रले टेकप्रसाद गुरुङ सभापति रहेका १५ सदस्यीय जिल्ला तदर्थ समिति बिहीबार गठन गरेको छ । समितिमा यसअघिका ३८ सदस्यीय कार्य समितिका एकजना पनि सदस्य परेका छैनन् । तदर्थ समितिमा नपरेपछि जिल्ला समितिका यसअघिका सदस्यले बिहीबार दिनभर बैठक बसेर केन्द्रीय कार्य समितिले गरेको तदर्थ समितिमा सदस्यहरूलाई नपारेको भन्दै आलोचना गरेका हुन् ।
‘सभापतिबाहेक हामी समितिका पदाधिकारीले गलत काम गरेको भए स्पष्टीकरण मागिनुपथ्र्यो,’ विघटित समितिका सचिव देवेन्द्र गुरुङले भने, ‘स्पष्टीकरण नमागी हामीलाई पनि कारबाही गरियो ।’ उनले सभापति विकास कोइरालाले जिल्ला समितिमा निर्वाचित भएदेखि नै पार्टीको हितविपरीत काम गरेकाले उनलाई कारबाही गर्नु जायज भएको भन्दै सभापतिले पार्टीको हितविपरीत गरेको कामको विरोध गर्दै आएका सदस्यलाई पनि कारबाही गरेको भन्दै गुनासो गरे ।
केन्द्रीय समितिले बिहीबार गठन गरेको जिल्ला तदर्थ समितिका सदस्यमा शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, ऋषिराम पाण्डे, भीमप्रसाद थपलिया, राजेन्द्र चौधरी, अञ्जनी श्रेष्ठ छन् । यस्तै, उमा अधिकारी, कमल आचार्य, भृकुटी पौडेल, शिवनारायण गुरौ, रामबहादुर लामा, सावित्री बोगटी पाठक, चीनप्रसाद प्रजा, शान्ति परियार रहेको जनाइएको छ ।
यसैबीच, कांग्रेस चितवनका निवर्तमान सभापति विकास कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौलाको पूर्वाग्रहका कारण जिल्ला कार्यसमिति भंग गरिएको आरोप लगाएका छन् । तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेललाई संरक्षण गर्न नसकेको भन्दै बुधबार केन्द्रीय समिति बैठकले जिल्ला कार्यसमिति भंग गरेपछि कोइरालाले यस्तो आरोप लगाएका हुन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले पार्टीमा ‘दरबारिया नेता’हरू हाबी भएको भन्दै महामन्त्री सिटौलाप्रति असन्तुष्टि पोखे । ‘सिटौला कहाँबाट परिचालित छन्,’ उनले भने, ‘यसको पर्दाफास गरिदिन्छु ।’

प्रतिक्रिया