माग नसुने पार्टी त्यागः जनजाति नेता


काभ्रे, ७ असार । एमालेका असन्तुष्ट नेताहरुले पार्टीले ९ बुँदे मागका बारेमा सम्बोधन गरेन भने छाड्न सकिने निश्कर्ष निकालेका छन् ।
बुधबारदेखि काभ्रेको धुलिखेलमा आयोजित गोप्य भेलामा सहभागी नेताहरुले केन्द्रीय कमिटीलाई बुझाएको मागबारे भेलाले सम्बोधन नगरेको प्रति आपत्ति प्रकट गरेका छन् । भेलाका बारेमा जानकारी दिदै एमाले नेता राजेन्द्र श्रेष्ठले मागका बारेमा सम्बोधन नभएसम्म पार्टीका सबै कार्यक्रमहरु बहिस्कार गर्ने निर्णय भएको जानकारी दिए ।
‘यो पार्टी भित्रको अन्तरपार्टी संर्घषको उच्चतम विन्दु हो, मागहरु सुनुवाइ भएन भने पार्टी छाड्नेसम्मको निर्णय हुनसक्छ,’ श्रेष्ठले भने, ‘हामी पार्टी त्यो अवस्थामा जान्छ भन्ने कुरामा छैनौ ।’
भेलाले विघटित संविधान सभा पुनःस्थापना गरी विवादित विषयहरु समाधान गर्न माग गरेको छ । नयाँ निर्वाचन तत्काल सम्भव नभएको भन्दै उनीहरुले विघटित संविधानसभा नै पुनःस्थापना गरी संविधान जारी गर्नु पर्नेमा भेलामा सहभागी सबैले जोड दिएको श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्ष अशोक राईले पार्टी राष्ट्रिय संकट टार्ने कुरामा उदासिन भएकाले समस्या समाधानका विषयमा छलफल गर्न धुलिखेलमा भेला भएको बताए ।
संविधान सभाको पुनःस्थापनाका लागि सडक संघर्ष समेत गर्न सकिने उनको भनाई छ । एमालेको राष्ट्रिय भेलाका बारेमा आफूहरुलाई औपचारिक रुपमा जानकारी नआएको राइले दावी गरेका छन् ।


अध्यक्ष झलनाथ खनालको प्रतिवेदन कार्यकर्ताको भावना विपरित भएकाले पार्टीको भन्दा फरक विचार भएकाहरुले छुट्टै भेला गर्नु परेको राइले बताए ।
भेलामा एकल जातीय पहिचानका आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने विषयमा समेत छलफल भएको थियो । भेलामा एमालेका उपाध्यक्ष अशोक राईसहित १७ जना नेताहरु सहभागी थिए ।
उपाध्यक्ष राईसहित पूर्व सभासद रामचन्द्र झा, पृथ्वी सुब्बा गुरुङ, रकम चेम्जोङ, सत्रुधन महत्तो, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, दलबहादुर रानामगर, किरण गुरुङ, हेमराज राई, रणध्वज कन्दङ्वा, वीरबहादुर लामा, मोहमद रिजवन अन्सारी, पासाङ शेर्पा, गोपाल ठाकुर र पे्रमबहादुर बरामु रहेका छन् ।
पार्टीले बहुपहिचानका आधारमा राज्यको पुनःसंरचना गर्ने निर्णय लिएपछि पार्टीमा आबद्ध जनजाति र मधेसीका पूर्व सभासदहरु पार्टी निर्णयको विरुद्धमा लागेका हुन् ।
काङमाङ आएनन्
आमाको उपचारमा सहयोगी बस्नु परेको भन्दै एमाले नेता अजम्बर काङमाङ राई भेलामा सहभागी नभएको बताएका छन् । उनको नाम मिरावेल रिसोर्टमा सहभागीहरुको उपस्थितिमा १३ नम्वरमा उल्लेख गरिएको छ । उनका लागि होटलको १०२ नम्वर कोठा बुक गरिएको थियो ।
उनीसँगै सोहि कोठामा रामचन्द्र झाका लागि कोठा बुक गरिएको थियो । विहिबार सौर्य लगायतका संचारमाध्यममा काङमाङको नाम प्रकाशित भएपछि उनले एसएमएस मार्फत आफू सहभागी नभएको बताएका छन् ।

 

प्रतिक्रिया