नेपाल लगभग बाहिरियो

काठमाडौं, ७ असार । समूहको आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानविरुद्ध ४–२ ले पराजित भएपछि नेपाल एसियाली फुटबल महासंघ (एएफसी) यु–२२ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।
पहिलो खेलमा बंगलादेशविरुद्ध ४–१ ले विजयी भए पनि दोस्रो खेलमा यमनविरुद्ध १–० ले पराजित भएको नेपाल तीन खेलबाट तीन अंक मात्र बटुल्दै समूहको तेस्रो स्थानमा छ । दुई खेल खेल्दै दुवैमा विजयी जोर्डन र उज्वेकिस्तान गोल अन्तरमा अगाडि रहँदै जोर्डन शीर्षस्थानमा छ भने उज्वेकिस्तान दोस्रोमा छ । दुई खेलबाट तीन अंक जोडेको यमन तीन अंकका साथ चौथो स्थानमा छ भने तीन खेल खेल्दै सबैमा पराजय बेहोरेको बंगलादेश पाँचौं तथा अन्तिम स्थानमा छ । नेपालले अब जोर्डनविरुद्ध मात्र खेल्न बाँकी छ ।
निकै स्तरीय प्रदर्शन गरेको उज्वेकिस्तानविरुद्ध २–० ले पछि परेर पनि मध्यान्तरअघि बराबरीमा आइपुगेको नेपाल दोस्रो हाफमा गोलकिपर विशाल श्रेष्ठको कमजोर प्रदर्शनका कारण दुवै गोल सामना गर्न पुग्यो । ५६ औं मिनेटमा उज्वेकिस्तानका डिफेन्डर अजामोभ रुस्तामले गरेको ‘सामान्य’ प्रहार पनि फस्ट बार हुँदै गोल भयो । अब्दुखोलिक्वोभले दिएको छोटो पासमा रुस्तामले डिबक्सभित्र छेउबाट गरेको प्रहारलाई डिफेन्डर दीपक भुसाल र गोलकिपर विशाल दुवैले रोक्न सक्ने अवस्थामा थियो । तर, भुसालले सो प्रहार छुन पनि भ्याएनन् भने गोलकिपर विशालले प्रयास गरे पनि उनको मिहिनेत अपर्याप्त भयो । खेलको सुरुवातदेखि नै अनियन्त्रित देखिएका गोलकिपर विशालले ८६ औं मिनेटमा अर्को गल्ती गरे, जसले नेपाल खेलमा ४–२ ले पछि पर्‍यो । स्ट्राइकर अब्दुखोलिक्वोभले डिबक्सभित्र बल अगाडि बढाइरहँदा गोलकिपर विशालले स्लाइड गरी गोलपोस्ट नियन्त्रण छाडेर बल छेक्न अगाडि बढे पनि उनी त्यसमा सफल भएनन् र अब्दुखोलिक्वोभले खाली पोस्टमा गोल गरेका थिए । ‘गोलकिपरका कारण आज हार बेहोर्नुपर्‍यो,’ खेलपछि नेपाली टोलीका प्रशिक्षक कृष्ण थापाले भने, ‘विशालले आज कमजोर प्रदर्शन गर्‍यो । अर्को खेलमा ऊ नहुन पनि सक्छ ।’
यसअघि शारीरिक र प्राविधिक रूपमा निकै स्तरीय देखिएको उज्वेकिस्तानले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । सातौं मिनेटमा मिडफिल्डर गादोएभ सोरुहले करिब ३० यार्ड टाढाबाट फ्रिकिक गोल गरेका थिए । नेपाली डिफेन्डर र गोलकिपरबीच असमझदारी हँुदा गादोएभले गरेको प्रहार सेकेन्ड बार हुँदै गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेट पनि नबित्दै उज्वेकिस्तानले अग्रता दोब्बर बनाएको थियो । कर्नर प्रहारबाट आएको बललाई रुस्तामले हेडमार्फत गोल गरी घरेलु टोलीलाई थप दबाबमा पारेका थिए । त्यसमा पनि उज्वेकिस्तानको प्रदर्शन राम्रो रह्यो तर फिनिसिङ भने कमजोर रह्यो ।
यता उज्वेकिस्तानलाई रोक्दै नेपालले उत्कृष्ट पुुनरागमन गर्‍यो । पहिलो हाफमा नेपालले दुई मुभ मात्र बनायो र दुवै आकर्षक रूपमा सफल पनि भए । मिहिनेती र प्रभावशाली स्ट्राइकरको छवि बनाएका भरत खवासले निकाली दिएको कठिन क्रसलाई ‘वान टच’मै गोल गरी अनिल ओझाले ३५ औं मिनेटमा नेपाललाई २–१ को स्थितिमा ल्याइपुर्‍याए । डिफेन्डरले ट्याकल गर्दा विपक्षी खेलाडीसँगै टच लाइन बाहिर पुगेका भरतले पुन: फर्कंदै गोलपोस्टको नजिकै रहेको ‘फ्रि बल’ सेकेन्ड बारमा मिडफिल्डर अनिललाई क्रस निकालिदिएका थिए । पहिलो गोल गरेसँगै एक्कासी नेपालले विपक्षीलाई दबाबमा राख्यो । ४२ औं मिनेटमा भरतले आकर्षक मुभ बनाउँदै पहिलो गोलमा जसरी मुभ बनाएर क्रस निकालिदिएर अर्का स्ट्राइकर सुजल श्रेष्ठलाई गोलको अवसर सिर्जना गरे । करिब २५ यार्ड टाढाबाट एक्लैले बल अगाडि बढाएर भरतले डिबक्सभित्र टच लाइन नजिकैबाट निकालेको क्रसमा सुजलले वन टचमै फस्ट बारमा गोल गरेका थिए । ‘भरतले निकै राम्रो खेल्यो । मिहेनत गर्‍यो । दुवै गोलमा भरत नै पहिलो हकदार हो,’ प्रशिक्षक थापाले कप्तानसमेत रहेका भरतको प्रशंसा गर्दै भने । उनले उज्वेकिस्तान निकै स्तरीय टोली भएको बताउँदै उक्त टोली एसियाकै राम्रा टोलीमध्ये एक भएको प्रतिक्रिया दिए । प्रशिक्षक थापाले योजनागत हिसाबले नेपाली टोली पूर्णरूपमा असफल भएको बताउँदै जोर्डनविरुद्ध नतिजाका लागि भन्दा पनि प्रदर्शनका लागि खेल्ने बताए ।
उज्वेकिस्तानका प्रशिक्षक मुरातोभ बिन्यामिनले नेपाल यस खेलमा ‘अनलकी’ भएको बताए । ‘यो खेल निकै कठिन रह्यो,’ उनले भने, ‘नेपालले निकै मिहिनेत गरी संगठित भएर खेल्यो ।’ नेपाली टोलीका कप्तान भरतले उज्वेकिस्तानजस्ता बलिया तथा स्तरीय टोलीसँग खेल्दा खेलाडीसँगै प्रशिक्षकले पनि सिक्नुपर्ने धारणा व्यक्त गरे । यसअघि बुधबार भएको अर्को खेलमा जोर्डनले बंगलादेशलाई ३–० ले पराजित गरेको थियो ।

“४/५ जना खेलाडी आवश्यक”
उज्वेकिस्तानविरुद्ध ४–२ ले पराजय बेहोरेलगत्तै नेपाली टोलीका प्रशिक्षक कृष्ण थापाले पटकपटक दोहोर्‍याएर नेपाली युवा टोलीमा ४/५ जना नयाँ खेलाडी आवश्यक रहेको बताए । ‘आजको खेलबाट केही खेलाडी यस टिममा रहनुपर्ने मलाई महसुस भएको छ । राम्रो नयाँ प्रतिभालाई राम्ररी प्रशिक्षण गरेर राखियो भने सिनियर टोलीको बलियो विकल्प बन्न सक्छ यो टोली,’ थापाले भने । उनको मतलब टोलीमा स्तरीय खेलाडीको अभाव रहेको भन्ने थियो । उनले राम्रा खेलाडीको नामै किटेका थिए । ‘आजको खेल हेर्नुहुन्छ भने पनि भरत खवास, अनिल ओझा, रूपेश केसी, सुजल श्रेष्ठ, रवीन श्रेष्ठ र रोहित चन्दले मात्र राम्रो खेले,’ थापाले भने । उनले तीन खेलमा छ गोल गरेको भन्दै नेपाली टोलीमा अग्रपंक्तिमा रहेको विगतको समस्या अब नरहने बताए ।

प्रतिक्रिया