जी–२० सम्मेलनमा युरो जोनको चिन्ता

मेक्सिको, ७ असार । मेक्सिकोमा सम्पन्न विश्वका आर्थिक सम्पन्न राष्ट्रहरू जी–२० को सम्मेलन आर्थिक मन्दीको चरम समस्या भोगिरहेको युरो जोनको समस्या समाधानका लागि विभिन्न उपायको खोजीमा केन्द्रित छ ।

सम्मेलनमा सहभागी राष्ट्रको अर्काे एक संगठन ब्रिक्समा आबद्ध मुलुकको समूहले अन्तर्राष्ट्रिय मुद्राकोषमा आर्थिक हिस्सा बढाउने घोषणा गर्नुका साथै युरो जोनको आर्थिक समस्या समाधानबारे पनि चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।
मेक्सिकोमा जारी जी–२० सम्मेलनपछि ब्रिक्स राष्ट्रले सो विषयमा घोषणा गरेका छन् । साथै, उनीहरूले युरो जोनको समस्याबारे पनि चिन्ता व्यक्त गरेका छन् ।
विश्वको तीव्र गतिमा उदाएका पाँच अर्थतन्त्र ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाले मिलेर तयार पारेको समूहलाई ब्रिक्स नाम दिइएको छ ।
मेक्सिकोमा जी–२० को सम्मेलनपछि भारतले मुद्राकोषलाई १० अर्ब डलर दिने घोषणा गरेको छ । रसियाले पनि त्यति नै राशि बराबरको सहयोग दिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, चीनले मुद्राकोषको फन्डमा ४३ अर्ब डलरको योगदान गर्ने बताएको छ ।
मुद्राकोषमा आर्थिक हिस्सेदारी बढाउने सो घोषणा त्यस्तो समयमा गरिएको छ जतिबेला मुद्राकोष भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकट समाधानका लागि तयार हुन सकोस् भनेर अभ्यास थालिएको छ ।
सम्मेलनका लागि अन्य मुलुकका नेताले पनि युरोपेली मुलुकसँग युरोजोन संकटको समाधानका लागि हरसम्भव कदम चाल्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सुस्त भएको आर्थिक विकासको गतिप्रति चिन्ता व्यक्त गरेको समाचार एजेन्सीले जनाएका छन् ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले युरोपले आफूले आर्थिक संकटसँग मुकाबिला गर्नका लागि कदम चालिरहेको बताएका छन् । त्यसैगरी, सो सम्मेलनमा युरोपेली आयोगका अध्यक्ष जोसे मेनुअल बारोसोले विश्व मन्दीका लागि युरोप मात्र जिम्मेवार नभएको र युरोपेली नेता मेक्सिकोमा कुरा सुन्न नआएको बताए ।
मंगलबारदेखि सुरु भएको दुई दिनको सो सम्मेलनभन्दा पहिला अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले भेटघाट गरेका थिए । सिरियालाई लिएर दुवै मुलुकबीच गहिरो मतभेद छ ।
यसअघि मेमा जी–८ को अमेरिकामा सम्मेलन हुँदा राष्ट्रपति पुटिन नआएर उनले प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई पठाएका थिए । जी–२० भन्दा पहिला दुवै नेताले सिरियाबारे कुराकानी गरे ।
त्यसैगरी, मुद्राकोषले युरोजोनको ऋण संकटसँग संघर्ष गरिरहेका ग्रिसजस्ता मुलुकलाई ऋण दिने कुरा उठाएको छ । स्पेन वा इटालीजस्ता ठूला अर्थतन्त्रमा यो संकटको असर पर्‍यो भने उसका लागि अहिलेको विद्यमान फन्ड पर्याप्त हुन नसक्ने भन्दै मुद्राकोषले पनि चिन्ता व्यक्त गरेको छ ।
भारतका प्रधानमन्त्री मनमोहन सिंहले विद्यमान संकटसँग मुकाबिला गर्न पर्याप्त समय नभएको बताएका छन् । भारत पनि आर्थिक मन्दीको समस्याबाट गुज्रिएको छ । सो सम्मेलनका लागि तयार पारिएको घोषणापत्रमा लगातार बढिरहेको व्यापार संरक्षणप्रति चिन्ता पनि व्यक्त गरिएको छ । जी–२० को यो बैठक युरोजोन संकटमा रहेका बेला आयोजना गरिएको छ । विश्वको कुल गार्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सा जी–२० मुलुकहरूको छ ।

प्रतिक्रिया