बाजाका पुजारी

कहिलेकाहीँ मानिसले नसोचेको यात्रा तय गर्छ । यात्राका मोडहरूसँगै जीवन पनि मोडिन्छ । ती मोड अनि परिवर्तनलाई उसले पूजा गर्न थाल्छ । अर्थात् ऊ खुसी हुन्छ आºनो कर्मसँग, आºनो जीवनसँग । यस्तै कर्म र जीवनप्रति नि:सर्त खुसी हुने मानिसमध्ये पर्छन्, रामप्रसाद कँडेल । जो यो सहरमा कुनै बेला कैयौँ अस्पष्ट सपनासहित पसेका थिए । तीनै किरिङमिरिङ सपनाको त्यान्द्रोमा बेरिँदै उज्यालो भेट्टाए । र, आज नेपाली लोकबाजाका पर्यायझैँ बन्न पुगेका छन् उनी । नेपाल लोकबाजा संग्रहालयको संस्थापक –उनको गतिलो चिनारी ।
धेरै जातिको बसोबास रहेको नेपालमा प्रत्येक जातिपिच्छेका आºनै बाजा छन् । ब्राह्मणले बजाउने शंखदेखि दमाईंले बजाउने दमाहासम्मका बाजाको इतिहास छ । तर, विकसित पछिल्ला कारणले त्यस्ता बाजा बजाउने मान्छे भेट्टाउन कठिन मात्र होइन, बाजा नै लोप हुने स्थितिसम्म पुग्न थाल्यो । यसले पीडा दियो कँडेललाई, त्यसैले विभिन्न लोकबाजाहरूको संकलन गर्न हान्निए उनी । विसं २०५२ बाट उनको यो अभियान सुरु भयो । एउटा सानो र साँघुरो कोठामा उनले कैयौँ लोकबाजाहरू संकलन गरे त्यतिखेर । पूर्व झापादेखि पश्चिम दार्चुलासम्म पुगे बाजा खोज्दै । अनि कालान्तरमा लोकबाजाको संग्रहालय नै बनाए, भद्रकालीमा ।
कहिल्यै संगीतको सोख नभएको मानिसलाई बाजाप्रति यो अनुराग कसरी पलायो, उनैलाई थाहा छैन । बच्चादेखि जोगाइराखेको आममानिसको सपनाजस्तो पनि होइन उनको कर्म । जीवनको एउटा मोडमा आएपछि अनायास दिमागमा ‘क्लिक’ भएको कुरा रहेछ लोकबाजा संग्रहालय त । खासमा उनले गुरुलाई चढाएको गुरुदक्षिणाको विम्ब रहेछ यो वाद्यालय । गुरुभक्ति, गुरुश्रद्धा अनि गुरुप्रार्थनाको आत्मीय भाव बोकेको छ यसले ।
सहर संघर्षको आमकथाका पात्रजस्तै नै हुन् कँडेल पनि । धादिङ, मलेखुमा जन्मेका थिए उनी २०२२ साल फागुन ११ मा । उनी पढ्नका लागि गाउँबाट आशाको सातु पोको पार्दै रुमानी सपनाले डल्लो पारेको काठमाडौं छिर्छन् । बिएडसम्म पढेका छन् उनले । उनी थांका व्यवसायमा लाग्छन् । थांकामा अनेक चित्र हुन्छन् । कोही चित्र कतै देखेजस्ता, कोही अपरिचितजस्ता । थांका किन्ने मानिसले ती चित्रका भावका बारेमा सोधेका प्रश्नको उत्तर दिन नसकेर उनी ऐंठनमा हुन्छन् । अनि उनी त्यसमा युक्त भाव बुझ्न गुरुको खोजीमा हिँड्छन् । गुरु भेट्टाउँछन्– अखण्डानन्द सरस्वती । गुरुको संगतमा गएपछि उनी थांकाका चित्रका भाव त सिक्छन् नै, खासमा चाहिं जिन्दगी सिक्छन् । अनि दु:ख सिक्छन् र त्यसको समाधान पनि जादन्छन् गुरुबाट । यसअघि दु:ख भनिएका कुरा त केही होइन रहेछ जस्तो लाग्न थाल्छ । उनले त खास दु:ख बुझ्छन् । गुरुको संगत गरेकै वर्ष उनको दिमागमा संग्रहालयको कन्सेप्ट फुरेको हो । गुरुदक्षिणाका लागि उनले खोलेको संग्रहालय आज नेपालका पुराना र मौलिक लोकबाजाहरूको संरक्षित स्थान बन्न पुगेको छ । बाल्यकालमा सपनामा जमिनबाट धातुका औजार झिकेको देख्थे रे उनी । आज त्यही बाल्यकालीन सपना विपनामा परिणत भएजस्तो मान्छन् ।
लोकबाजा संग्रहालयको स्थापना भएपछि नेपाली लोकबाजासँग कँडेलको साइनो गाँसियो । बाजा खोज्दै जाने क्रममा कैयौँ जाति, सम्प्रदाय र संस्कृतिसँग हिमचिम भयो । यसबीचमा संगीत र बाजाका सम्बन्धमा अनुसन्धानहरू पनि भए । अब भने उनको सपनासँग जोडियो नेपाली लोकबाजा, लोकसंगीत, लोकसंस्कृति । यहीबीचमा संग्रहालयमा झन्डै ४५० थरी नेपाली लोकबाजा संकलित भएका छन् । ती सबैको इतिहास छ । पुर्खासँगको सम्बन्ध छ । अचेल उनी संग्रहालयमा नै बढीजसो भेटिन्छन् । भन्छन्– ‘यहाँका बाजा छुँदा मलाई आनन्द लाग्छ, म ती पुर्खाहरूलाई छुँदैछु जस्तो लाग्छ ।’
सबैभन्दा पहिला उनले संकलन गरेको बाजा हो, शंख । सानो हुँदा चुलोमा जानलाई आरती गर्नुपर्ने र आरती गर्दा शंख बजाउनुपर्ने ब्राह्मण परम्परामा हुर्केका थिए उनी । त्यही परम्पराअनुसार उनले शंखमा आºनोपन भेट्टाए रे । प्रत्येकजसो जातिका आ–आºनै बाजाहरू छन् । उनी भन्छन्– ‘बाजा नभएको जाति नै छैन ।’ तर, अहिले धेरै युवा पुस्तालाई आºनो संस्कृतिबाट अलग्याइएको ठान्छन् उनी । युवा पुस्तामा लोकसंस्कृतिप्रति आकर्षण नभएको नभई त्यसतर्फ लिंक हुने वातावरणको अभाव भएको देख्छन् । बाउ पुस्ताको उत्पादन सम्बन्ध गाउँसँग टुटेर सहरकेन्द्रित भएको नयाँ पुस्तामा आºनो संस्कृतिप्रति आएको अपरिचितता नै समस्याको जड रहेको ठम्याउँछन् ।
संग्रहालयमा संगृहीत सबै बाजा लोपोन्मुख र अप्रचलित छन् । प्रचलित बाजाहरूलाई म्युजियममा कैद गर्नु मूर्खता हुने धारणा राख्छन् उनी । ‘सबै खालको कलाकृति राखिएको भव्य होटेल र भवन बनाएर सहर रित्याउनुजस्तै गर्नु भएन नि,’ उनले भने । संग्रहालय अवलोकनका खातिर प्राय: विद्यार्थी र युवा नै आउने गरेको बताउँछन् । यदाकदा अनुसन्धान गर्नका निमित्त विदेशीहरू पनि आउने रहेछन् । आºनो संस्कृतिसँग नजिक रहेको बाजा छुँदै नयाँ पुस्ता उत्साहित हुने गरेको उनले देखेका छन् संग्रहालयभित्र । एकपटक खोटाङको एउटा बालकले बिनायो हेर्दै भन्यो रे– ‘यो त हाम्रो बज्यूले बजाउने बाजा, तर मलाई बजाउन आउँदैन ।’ संस्कृतिको जगेर्ना गर्नु छ भने त्यसलाई युवा पुस्तामा सुरक्षित तबरले हस्तान्तरण गर्नुपर्ने बताउँछन् उनी । पुस्ताको ग्यापमा सांस्कृतिक हस्तान्तरण हुन सकेन भने संस्कृति लोप हुने देख्छन् ।
संग्रहालयले बाजा बजाउन पनि सिकाउँछ । अहिलेसम्म २००० जति मानिसले विभिन्नखालका लोकबाजा बजाउन सिकेको बताउँछन् कँडेल । संग्रहालयले २५ किसिमका बाजाको प्रशिक्षण दिने गरेको रहेछ । ०६३ सालमा सरेर त्रिपुरेश्वर, महादेवबहाल आइपुगेको संग्रहालयले विभिन्न अनुसन्धान पनि गरिरहेको रहेछ । संग्रहालयमा अडियो भिजुअल अभिलेखालय राख्ने तयारी पनि भइरहेको छ । हालसालै ब्रिटिस लाइब्रेरीबाट नेपालको सबैभन्दा पुरानो १९३१ मा बनेको फिल्म पनि पत्ता लागेको र त्यसलाई संग्रहालयमा राखिएको बताउँछन् उनी । यसबाहेक संग्रहालयले ‘स्कुल अफ म्युजिक अफ परफमिङ आर्ट’ पनि खोल्ने योजना बुन्दै छ रे ।
दुई छोरी, एक छोरा र श्रीमतीसहित बस्दै आएका कँडेलले आºनो व्यवसायको आम्दानी पनि संग्रहालयमै खर्चेका छन् । उनी भन्छन् ‘धादिङबाटै बाआमाले खान पुग्ने चामल पठाइदिनुभएको छ, यो (संग्रहालय) मेरो पूजा गर्ने ठाउँ हो, यहाँ पैसा खर्च गर्दा आनन्द लाग्छ ।’ आफूलाई भाग्यमानी ठान्दै उनी भन्छन् ‘संग्रहालयको काम अरूकसैको आग्रह वा जिम्मामा गरेको भए पो बोझ हुन्थ्यो, यो त मेरो आºनै मनले गरेको कर्म हो, त्यसैले यहाँ त आनन्द नै आनन्द छ ।’
जब बोलीको अन्त्य हुन्छ, त्यसपछि सुरु हुन्छ संगीतको काम । शब्दले व्याख्या गर्न नसकेको काम गर्दछ संगीतले । र, त्यो संगीत निकाल्छ बाजाले । हाम्रा पुर्खाले शब्दमा व्यक्त गर्न नसकेको इतिहास यिनै बाजामार्फत ओकल्न खोजेझैँ लाग्छ । हुन पनि विभिन्नखालका बाजा छन् नेपालमा । मानिसको नली खुट्टाको हाडको बाँसुरीदेखि गोहोरोको छालाले बेरिएको खैँजडीसम्म । ती सबैले आ–आºनो कथा भन्छन् जस्तो लाग्छ उनलाई । प्रत्येक बाजाले रहस्य बोकेको ठान्छन् । मानिसको नली खुट्टाको हाडको बाजा संकलन गरेर ल्याएपछि त्यो राख्दाको डरको अनुभूति पनि रोचक छ उनीसँग । ‘तर असल प्रयोजनका लागि भएकाले डर मान्नुपर्ने नै रहेनछ,’ उनी भन्छन् । ‘म भूत, प्रेत, पिशाच सबैलाई मातृ शक्ति मान्छु, मनमा सकारात्मकता भयो भने जीवन आनन्द हुन्छ,’ आºनो गुरुबाट तन्त्रविद्या सिकेका कँडेलले भने ।
कँडेलको जीवन दर्शन हो, सिम्पल लिभिङ, सिम्पल थिंकिङ । भन्छन्, ‘जीवन त सादा नै बाँच्ने हो, त्यससँगै विचार पनि हामीले सबैसँग मिल्ने, समान लिनुपर्छ, यसले नै खुसी दिन्छ ।’ सबैलाई आमाजस्तै सम्मान र माया गर्न भन्छन् उनी । उनलाई गुरुले पनि बाबु, आमा र राष्ट्रको सेवा गर्न अह्राउनुभएको थियो रे । गुरुको समाधि भएको तीन वर्ष भइसके पनि उनको आत्मामा अझै गुरुप्रेम, गुरुभक्ति उस्तै छ । तन्त्रविद्यामा निपुण गुरुले अलौकिक कुरा नसिकाए पनि जीवन सिकाएको लाग्छ उनलाई । ‘मलाई गुरुले कहिल्यै स्याउको फोटो चाट्न लगाउनुभएन, स्याउ नै खुवाउनुभयो ।’ माक्र्सवादमा विश्वास राख्ने कँडेललाई माक्र्सले धर्म अफिम हो भनेको थाहा छ । तर, यिनी तन्त्रविद्यामा विश्वास गर्छन्, धर्म संस्कृतिमा विश्वास गर्छन् । उनलाई थाहा छ रे, यी सबै विज्ञान नै हुन् भन्ने कुरा । लोक र मौलिक संस्कृतिलाई जोगाउन सकिए मात्र इतिहास जोगाउन सकिने धारणा छ उनको । अनि तिनै परम्परा र इतिहाससँग जोडिएर मात्र रिफ्रेसमेन्ट लिन सकिने लाग्छ उनलाई । भन्छन्, ‘गीतार बजाउन जान्ने, पियानो बजाउन जान्ने, ड्रमसेट बजाउन जान्ने संसारमा धेरै छन्, त्यही बाजा बजाएर विश्वका करोडौँसँग प्रतिस्पर्धा गर्नुभन्दा नेपाली लोकबाजा सिकेर अन्तर्राष्ट्रियस्तरमा त्यसलाई लानेले नै सफलता हात पार्छ ।’

प्रतिक्रिया