दाहालको फोटो दुई टुक्रा

काठमाडौं, ७ असार । पार्टी विभाजन भएलगत्तै कार्यालय कब्जा गर्ने विषयमा दुई माओवादीका कार्यकर्ताबीच मारपिट सुरु भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी महासंघको कार्यालयबाट एकीकृत नेकपा (माओवादी)का कार्यकर्तालाई फुटेको माओवादीका कार्यकर्ताले बुधबार घोक्रेठ्याक लगाएर निकाले ।

नेकपा–माओवादीका कार्यकर्ताले माआवादीका अध्यक्ष पुष्पकमल दाहालको फोटोलाई समेत दुई टुक्रा पारेर कार्यालयबाहिर फालिदिएका छन् । ‘दलाल, नवसंशोधनवादी तथा राष्ट्रघाती नेताहरूको फोटो राख्नुको कुनै अर्थ छैन’ भन्दै उनीहरूले भित्तामा झुन्ड्याइएको फोटो निकाली बाहिर चौरमा बजारेका थिए । बाहिर फालेको फोटालाई समेत लात्तीले हान्दै उनीहरूले केही समय नाराबाजी गरे ।
त्यस क्रममा पुरानो र नयाँ माओवादीका कार्यकर्ताबीच सामान्य हात हालाहाल भएको थियो । दुवै पक्ष आक्रमणमा उत्रेपछि महेन्द्र पुलिस क्लबबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले स्थिति साम्य परेको थियो । विवाद बढ्दै गएपछि दुवै पक्षका नेताले घटनाबारे पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराउँदै निर्देशन मागिरहेको देखिन्थ्यो ।
‘कार्यालयको कुर्सीमा बसेर संगठनका विषयमा साथीहरूसँग सल्लाह गरिरहेका थियौँ,’ दाहाल पक्षधर महासंघकी उपाध्यक्ष पवित्र तिमिल्सिनाले सौर्यसँग भनिन्, ‘संगठनले कारबाही गरिसकेको मानिसले महासंघको अध्यक्ष हुँ भन्दै बाहिरबाट भाडाका गुन्डा ल्याएर मलगायत कार्यालयमा रहेका अन्य साथीलाई हातपात गर्दै बाहिर निकाले ।’ आफूहरू संयमित हुँदाहु‘ँदै पनि अराजक शैलीमा अपराधीलाई जस्तैगरी बाहिर निकाल्ने काम भएको उनले बताइन् । तिमिल्सिनाले थपिन्, ‘हेराँै, उनीहरू कति दिन त्यसरी बस्दा रहेछन् । हामी कुनै पनि हालतमा संगठनको कार्यालय छाड्ने छैनौँ । यस घटनाको नतिजा राम्रो हुँदैन ।’ पार्टीबाट चोइटिएर जानेलाई रगत–पसिनाले स्थापित गरेको कार्यालय कुनै पनि हालतमा नछाड्ने उनको भनाइ छ ।
‘संगठनमा हाम्रो बहुमत छ,’ कार्यालय सचिव मधुसूदन अधिकारीले भने, ‘तर उनीहरूले बाहिरका गुन्डा ल्याएर हामीलाई नै निकाले ।’ महासंघमा आबद्ध निजामती कर्मचारी संगठन, निजामती राष्ट्रिय समिति, प्राधिकरण राष्ट्रिय समिति, संस्थान राष्ट्रिय समितिलगायत ११ वटा संघमध्ये संस्थान राष्ट्रिय समितिबाहेक सबैमा एमाओवादीको बाहुल्यता रहेको उनको दाबी छ ।
यो साँच्चै र देशभक्त क्रान्तिकारीको कार्यालय हो, यहाँ भारतीय विस्तारवादी नेताहरूको इसारामा चल्ने दलालका मतियार बस्ने होइन भन्दै वैद्य पक्षधर आइलागेका थिए । कार्यालयमा बसिरहेकी उपाध्यक्ष तिमिल्सिना र महासचिव ठाकुर देवकोटालाई अपमानित ढंगबाट गलहत्याउँदै बाहिर निकालिएका सोही पक्षका सदस्य कृष्ण आचार्यले बताए । उनले थपे, ‘आज रात परेकाले केही हुन सकेन, टाढा रहेका हाम्रा साथी पनि आउन सकेनन्, यिनीहरूलाई भोलि देखाउँछौँ ।’
महासंघका अध्यक्ष वैद्य पक्षधर रुक्म लामिछानेले भने प्रचण्डको नाम लिँदै केही अराजक व्यक्तिले कार्यालयमा आएर उपद्रो मच्चाइरहेका बेला साँझ आफूहरू आएपछि लज्जित हुँदै बाहिर निस्केको बताए । ‘संगठनमा हाम्रो पक्षमा ९० प्रतिशतभन्दा बढी साथी छन् तर उनीहरूले संगठनबारे अनावश्यक हल्ला गर्दै हिँडेकाले केही साथीले त्यसो नगर्न भन्दै सम्झाएका मात्र हुन्, कुटिएको छैन,’ उनले भने ।
आफूलाई उपाध्यक्ष दाबी गर्ने तिमिल्सिनालगायतलाई संगठनबारे बोल्ने कुनै अधिकार नभएको लामिछानेले जिकिर गरे । उनले भने, ‘हामी कार्यालयमा होस् या बाहिर निकै संयमित हुन्छौँ तर निहुँ खोज्दै आएमा बाँकी राख्दैनौँ ।’ उनले सामान्य विषयलाई उत्तेजित पारे आफूहरूले पेरिसडाँडास्थित पार्टी कार्यालयसमेत कब्जा गर्ने चेतावनी दिए । ‘हामी शान्त हुन्छौँ,’ उनले भने, ‘तर यसरी नै उत्तेजित बनाए भने देशभरका पार्टी कार्यालय कब्जा गरिदिन्छौँ ।’
यसअघि दिउँसो एमाओवादी पक्षधर नेताहरू महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई संगठनबाट कारबाही गरी पदमुक्त गरेकाले उनीहरूलाई भित्र पस्न नदिने भन्दै कार्यालयमा अड्डा जमाएर बसेका थिए । उनीहरूले उपाध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई संगठनबाट कारबाही गरेको व्यहोराको पत्रसमेत कार्यालयमा रहेको सूचनापाटीमै टाँसेका थिए । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले संगठलाई मनपरी ढंगबाट चलाएको, दुई वर्षदेखि केन्द्रीय समितिको बैठक नबोलाएको, आर्थिक हिनामिना गरेको तथा संगठनको नीतिभन्दा बाहिर गएर काम गरेकाले कारबाही गरी पदबाट हटाएको जिकिर उनीहरूको थियो ।
वैद्य पक्षका कुनै पनि सदस्यलाई कार्यालयभित्र पस्न नदिने भन्दै आन्तरिक तयारी गरिरहेका बेला साँझ पौने पाँच बजेतिर केही सहयोगीसहित अध्यक्ष लामिछाने कार्यालय पुगेका थिए । उनीसँग संगठनका अन्य सदस्य पनि थिए । कार्यालय पसेलगत्तै ‘महासंघका अध्यक्षलाई कारबाही गर्ने प्रचण्डका चम्चेहरू कहाँ छन् ? बाहिर निक्ल’ भन्दै उनीहरूले गोप्य छलफलमा रहेका दाहाल पक्षधर सदस्यहरूलाई बाहिर निकालेका हुन् ।
समाजकल्याण परिषद्को स्वामित्वमा रहेको सेतो रंगको साढे दुईतले भवनमा माओवादीनिकट विभिन्न ११ वटा निजामती कर्मचारी संगठनका कार्यालय छन् । उनीहरूले गत ०६४ सालदेखि कुल भाडामा ७५ प्रतिशत मिनाह गरी मासिक १४ हजार तिरेर बस्दै आएका छन् । तर, उनीहरूले दुई वर्षदेखि त्यही भाडा पनि तिरेका छैनन् ।

प्रतिक्रिया