कांग्रेसको चितवन समिति विघटन

काठमाडौ, ७ असार । कांग्रेसले पार्टीको चितवन जिल्ला कार्यसमिति भंग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले ६ महिनाभित्र नयाँ कार्यसमिति चयनका लागि चुनाव गर्नेगरी जिल्ला समिति विघटनको निर्णय गरेको हो ।
नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा जिल्ला नेतृत्वको कमजोरी रहेको ठहर गर्दै बैठकले जिल्ला कार्यसमिति भंग गरेको हो । घटनाको छानबिन गर्न पार्टीका तर्फबाट गठित समितिले जिल्ला सभापति विकास कोइरालाले कार्यकर्ताको संरक्षण गर्न नसकेको ठहर गर्दै उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो । बैठकमा भने कोइरालालाई निलम्बन गर्ने कि जिल्ला कार्यसमिति नै भंग गर्ने भन्ने विवाद भएपछि ६ महिनाभित्र नयाँ नेतृत्वका लागि चुनाव गर्नेगरी जिल्ला समिति विघटन गरिएको हो । ‘महामन्त्री कृष्णा सिटौला संयोजक रहेको समितिको प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिले चितवन जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेको छ,’ केन्द्रीय सदस्य मानबहादुर विकले भने । हत्या अभियोगमा जिल्ला कारागारमा रहेका पौडेलमाथि २० मंसिरमा आक्रमण भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका पौडेलको २ पुसमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया