सरकार फेर्न एकीकृत माओवादी सकारात्मक

काठमाडौं, ७ असार । राष्ट्रपतिले राजनीतिक दलका नेताहरूलाई कामचलाउ सरकार नलम्ब्याउन र राजनीतिक निकासबारे सहमतिमा पुग्न आग्रह गरेपछि बसेको ठूला चार दलको बैठकमा सहमतिको सरकार गठनबारे छलफल भएको छ । संविधानसभा विघटनपछि पहिलोपटक बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संयुक्त बैठक बसी प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक संकटको समाधान र सरकार गठनबारे छलफल थालेका हुन् ।
सहमतिको नयाँ सरकार गठनप्रति नकारात्मक रहँदै आएको एमाओवादी वर्तमान गठबन्धन सरकार हटाउन र सहमतिको नयाँ सरकार बनाउन सकारात्मक देखिएको छ । एमाओवादी यो गठबन्धन टिकाइरहनुपर्ने पक्षमा रहेको भन्ने भ्रममा नपर्न बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले नेताहरूलाई आग्रह गरेका थिए । कांग्रेस र एमाले नेताहरूले भने विगतमा सहमति टुटेको ठाउँबाटै सहमति प्रक्रिया थाल्न र संकट समाधान खोज्न एमाओवादी र मधेसी मोर्चालाई आग्रह गरेका थिए । एमाओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मोर्चाका तर्फबाट विजय गच्छदारलगायत नेता बैठकमा सहभागी थिए ।
संविधानसभा विघटनपछि आरोप/प्रत्यारोपमा उत्रेका दलका नेताहरूलाई आइतबार राष्ट्रपति डा. रामवरण यादवले भेटेर सहमतिमा राजनीतिक र संवैधानिक संकटको निकास खोज्न र कामचलाउ सरकारलाई नलम्ब्याउन आग्रह गरेका थिए । राष्ट्रपति डा. यादवले दलहरूबीच सहमति नजुटे आफूले पनि भूमिका निर्वाह गर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराउँदै चाँडै सहमतिमा पुग्न सुझाएका थिए ।
संविधानसभा चुनावमार्फत अघि बढ्ने रणनीतिमा रहेको एमाओवादीका नेताले बुधबारको बैठकमा भने सरकार फेर्न आफूहरू सकारात्मक रहेको धारणा राखेका थिए । कांग्रेस–एमालेले भने सहमतिको सरकार गठनपछि त्यही सरकारमार्फत संवैधानिक र राजनीतिक संकट फुकाउन सहमति गर्दै जानुपर्ने बताएका थिए । ‘पहिल्यै भएको पाँचबुँदे सहमतिविपरीत संविधानसभा सिध्याउने काममा एमाओवादी र सरकार उद्यत रह्यो, अब जुन ठाउँबाट सहमति टुटेको हो त्यही बिन्दुबाट जोड्नुपर्छ,’ एमाले अध्यक्ष खनालले सौर्यसँग भने, ‘सहमतिको नयाँ सरकार बनाउने कुरामा एमाओवादी सकारात्मक देखिएको छ, प्रचण्डजीले हाम्रो प्राथमिकता सरकारमा रहिरहनुपर्छ भन्ने होइन, सहमति गरेर अघि बढौँ भन्ने हो भन्नुभएको छ ।’
बैठकमा कांग्रेस सभापति कोइरालाले १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक सहयात्रा टुट्न लागेकामा सचेत गराउँदै सहमति यात्रा पुन: जोड्न एमाओवादी लचिलो हुनुपर्ने बताएका थिए । जवाफमा दाहालले आफूहरू १२ बुँदे सहमतिबाट भएको राजनीतिक यात्रा तोड्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
‘वार्ता सुरु भएको छ, यसका लागि पहल गरेकामा मैले कांग्रेसलाई धन्यवाद दिएँ,’ बैठकपछि दाहालले पत्रकारसँग भने, ‘वार्ता सुरु हुनु सहमतिको प्रस्थानबिन्दु हो ।’
स्रोतका अनुसार बैठकमा दाहालले दलहरूबीचको तिक्ततालाई विदेशी शक्तिले संविधानसभा विघटन गराउनमा उपयोग गरेको धारणा राखेका थिए । ‘प्रचण्डजीले संविधानसभा विघटन गराउन विदेशीले चलखेल गरे भन्नुभया,े’ एक नेताले भने ।
१४ जेठअघि नै कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने पाँचबुँदे सहमतिबाट एमाओवादी पछि हटेको र संविधानसभा विघटन गराउने एकलौटी निर्णय लिएकामा कांग्रेस–एमालेले आपत्ति जनाएका थिए । दुई दलले सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मार्गप्रशस्त गरेर सहमति प्रक्रिया थाल्नुपर्ने बताएका थिए ।
‘सहमतिको प्रस्थानबिन्दु कहाँदेखि बनाउने भन्ने विषयमा विभिन्न प्रस्ताव आएका छन्, कुरा मिलेको छैन,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संवाददातासँग भने, ‘जहाँबाट सहमति टुटेको हो त्यहीँबाट अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’
एमाले अध्यक्ष खनालले भने एकलौटी रूपमा संविधानसभाको नयाँ चुनाव घोषणा गरेर सहमतिको यात्रा टुटाएको र कामचलाउ सरकारले एकलौटी सरुवा–बढुवालाई प्राथमिकता दिएर शंकास्पद बाटो अपनाएको बताएका थिए । मोर्चाले भने पाँचबुँदे सहमतिअनुरूप प्रधानमन्त्री पदबाट हट्नेभन्दा पनि संघीयताको विषयमा दलहरूबीच कुरा नमिलेकाले सहमति टुटेको तर्क गर्दै पहिले संघीयताको विषय टुंग्याउनुपर्ने धारणा राखेको थियो । ‘संघीयताको विषयमा सहमति जुटाएर बिथोलिएको सहमतिको यात्रा अघि बढाउनुपर्छ,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने ।

प्रतिक्रिया