शिक्षामा पाँच करोड बेरुजु

दोलखा : जिल्ला शिक्षा कार्यालय दोलखामा पाँच करोड रुपियाँ बेरुजु देखिएको छ । पाँच वर्षदेखि विभिन्न विद्यालयले लगेका रकम फस्र्योट हुन नसक्दा बेरुजु बढेको हो ।
पूर्व जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलका पालादेखिको रकम फस्र्योट हुन बाँकी रहेको कार्यालयले जनाएको छ । अधिकांश विद्यालयले भौतिक निर्माणका नाममा लगेको रकम फस्र्योट नभएपछि कार्यालयले केही विद्यालयलाई निकासासमेत रोकेको छ ।
समयमा फस्र्योट गर्न नआउने विद्यालयको तलब निकासासमेत रोक्का गर्ने तयारी भइरहेको शिक्षा अधिकारी शिवकुमार सापकोटाले बताए । विद्यालयहरूले नयाँ भवन निर्माण, मर्मतसम्भार, शौचालय तथा खानेपानीका नाममा विद्यालयहरूले लगेका रकम फस्र्योट नगरेपछि पछिल्लो समय निकासा रोक्का गरिएको सापकोटाले बताए ।
केही विद्यालयले एउटा प्रयोजनका लागि लगेको रकम अन्य शीर्षकमा खर्च गरेको पाइएपछि कारबाहीस्वरूप निकासामा रोक लगाइएको सापकोटाले बताए । ०६५/०६६ देखि हालसम्म जिशिकामा डिल्लीराम लुइँटेल, रामशरण सापकोटा, सुन्दरकुमार शाक्य, गेहनाथ गौतम, घनश्याम पौडेललगायत सातजना अधिकारी आए पनि फस्र्योट नगर्ने विद्यालयका नाममा धमाधम निकासा भइरहेको एक कर्मचारीले बताए ।
कार्यालयले ०६५/०६६ मा नयाँ कक्षाकोठा भवन निर्माण, कक्षाकोठा पुनर्निर्माण तथा खानेपानी तथा शौचालयका लागि रकम निकासा गरेको थियो । कार्यालयबाट भवन निर्माणका लागिरकम लैजाने पाँच विद्यालयले फस्र्योट गरेका छैनन् । त्यस्तै, पाँच लाख ५० हजार रुपियाँका दरले रकम लैजाने ३४, एक लाख पाँच हजार रुपियाँका दरले रकम लैजाने ३२, एक लाखका दरले रकम लैजाने ३४ र खानेपानीमा दस हजारका दरले रकम लैजाने २२ तथा ४० हजार रुपियाँका दरले रकम लैजाने नौ विद्यालयले फस्र्योट नगरेको कार्यालयले जनाएको छ । यस्तै, ०६६/६७ मा विभिन्न शीर्षकमा रकम लैजाने एक सय एक विद्यालयले पनि फस्र्योट नगरेको प्राविधिक चेतराज शिवाकोटीले बताए । (सौस)

प्रतिक्रिया