पूर्व सदस्य सचिव शाहको निधन


काठमाडौं, ६ असार । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव शरदचन्द्र शाहको आज सिङगापुरमा निधन भएको छ ।
उपचारका क्रममा सिंगापुरमा रहेका ६६ वर्षीय शाहको  निधन भएको उनका सहयोगी मनोज प्रधानले जानकारी दिए ।
पछिल्लो केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मृगौलाले काम गर्न छाडेका थिए ।
विक्रम संवत २०३४ सालमा राखेप सदस्य–सचिव नियुक्त भएका शाह १० वर्ष उक्त पदमा रहेका थिए । पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले परिषद नेतृत्वबाट हटाइएका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय मानिन्छ ।
देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सुरु भएको थियो ।
त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता साग, एसियाड र ओलम्पिकका विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि उनले सुरु गरेका थिए ।
विशेषगरी, उनकै पहलमा दक्षिण एसियाली खेलकुद सागको पहिलो संस्करण नेपालमा २०४१ सालमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया