एमाओवादीको विस्तारित बैठक प्रभावित

काठमाडौं, ६ असार । पार्टी विभाजनसँगै एकीकृत माओवादीले असार दोस्रो साताका लागि तय गरेको आफ्नो विस्तारित बैठक साउनसम्म स्थगित गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समिति बैठकले साउन–१५ गते बोलाईको विस्तारित बैठक तयारी नपुगेको भन्दै साउन पहिलो सात सारेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । विस्तारित बैठक अब साउनको १ देखि ५ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुने छ ।
एमाओवादीले मोहन वैद्य नेतृत्वको बार्ता टोलीलाई पनि पुनर्गठन गरेको छ । बैद्य नेकपा, माओवादी गठन गरेर गएपछि सो बार्ता टोलीलाई पुनर्गठन गरी एमाओवादीले संयोजकको जिम्मेवारी स्थायी समिति सदस्य अमिक शेरचनलाई दिएको हो । बामपन्थी दलहरुसँग बार्ता गर्न सो बार्ता टोली बनेको थियो ।
बार्ता टोलीका सदस्यहरुमा स्थायी समिति सदस्य बर्षमान पुन र प्रवक्ता दीनानाथ शर्मा छन् ।
एमाओवादीले महाधिवेशनसम्म सम्वाद जारी राख्न नेकपा, माओवादीले गरेको निर्णयलाई सकारात्मक रहेको टिप्पणी गरेको छ ।
यसैवीच, विस्तारित बैठकको तयारिका लागि एमाओवादीले असार २५, २६ र २७ गते स्थायी समिति, २८, २९ र ३० गते पोलिटब्युरो बैठक बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया