पार्टी विभाजनको पीडा

नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास उत्साहप्रद र सुखद छैन । यो आन्दोलनलाई टुटफुट र विभाजनले शिथिल र अकर्मण्य बनाएका कारण सुखद इतिहास निर्माण हुन नसकेको हो । २००६ सालमा पुष्पलालको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी अनेकौं चिरामा विभाजन भइसकेको छ, जसले गर्दा कम्युनिस्टहरूको लक्ष्य प्राप्तिमा बाधा व्यवधान खडा भएको हो भन्न सकिन्छ । संयुक्त मोर्चा र एकताको कुरा गरेर कहिल्यै नथाक्ने कम्युनिस्टहरूले जनतालाई सुखद नतिजा दिन सकेनन् । परिस्थितिको ठोस विश्लेषण गरेर वस्तुवादी ढंगले निर्णय गर्नुभन्दा अहं र तुष्टि पूर्तिका लागि विभिाजित भएर टुक्रे पार्टी गठन गर्नमा तल्लीन कम्युनिस्ट नेताहरूले जनतालाई निरास बनाएका छन् । नेपाली जनताले कम्युनिस्ट पार्टीकै नेतृत्वमा विभिन्न कालखण्डमा ठुल्ठूला आन्दोलनहरू गरे । तर, अक्षम नेतृत्व, स्वार्थी मनोकांक्षा र नेता हुने लालसाले जनआन्दोलनको भावना र सहिदको सपनालाई पूरा हुन दिइएन । यसको दूरगामी प्रभाव राष्ट्र र जनताले लामो समयसम्म भोग्नुपर्ने निश्चित छ । अलि ठूलो पार्टी बनेर निर्णायक शक्ति बनेपछि पार्टी टुक्रिने रोग कम्युनिस्टहरूमा लागेको छ । यो रोगको रोकथाम जनवादी केन्द्रीयता र पार्टीभित्र पूर्ण प्रजातान्त्रिक अभ्यासले मात्र गर्न सक्छ । यसतर्फ
कम्युनिस्ट नेताहरूले अब पनि नसोच्ने हो भने विभाजनको प्रक्रिया निरन्तर चलिरहन सक्छ ।
कम्युनिस्टहरू विभाजन हुने शृखंलामा निरन्तता दिँदै पछिल्लोपटक एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) फुटेर नेकपा माओवादी गठन भएको छ । ३० वर्ष लामो सहयात्रा तोडेर माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैधले अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध तोडेका छन् । विघटित संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित र १० वर्ष लामो सशस्त्र लडाइँ लडेको माओवादी अब कमजोर र खिनौटे हुने अवस्थामा पुगेको छ । यसले देश र जनतालाई निश्चित रूपमा घाटा पुर्‍याउनेछ । सर्वहारा वर्गको आन्दोलनलाई अलपत्र पारेर पार्टी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई नवसंशोधनवादी बनेको आरोप लगाउँदै विभाजन भएको नयाँ पार्टीले कस्तो नीति अख्तियार गर्ने हो त्यो हेर्न बाँकी नै छ । तर, अहिले भने नयाँ पार्टीले आफूलाई एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको दाबी गरेको छ । पार्टीले लिने लाइन जे भए पनि विभाजन आफैँमा राम्रो होइन । यसले जनतामा राम्रो सन्देश पनि पुर्‍याउने छैन । वर्तमान २१औं शताब्दीमा नेपाल विश्वको एउटा सदस्य राष्ट्र पनि हो । विश्वले यसलाई नजिकबाट हेरिरहेको छ । जहाँसम्म क्रान्तिकारी र नवसंशोधनवादीको सवाल छ त्यो आफैंमा स्पष्ट छैन । माक्र्स, लेनिन र माओका विचारलाई नेपालमा लागू गर्ने नीतिगत सवालभन्दा पनि अहिले माओवादीमा खट्किएको विषय त्यस पार्टीभित्र प्रजातान्त्रिक अभ्यास नहुनु नै हो । २०औँ वर्षसम्म एउटै व्यक्ति नेतृत्वमा रहँदा स्वाभाविक रूपमा उसमा तानाशाही प्रवृत्ति हाबी हुन्छ । तसर्थ, कम्युनिस्ट पार्टीका मठाधीशहरूले अब यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ ।
एउटा दह्रो र भरपर्दो पार्टी विभाजन हुँदा त्यसले मुलुक र जनतामा नकारात्मक प्रभाव पार्न स्वाभाविक हो । पार्टी विभाजनले समाजमा विभिन्नखाले समस्या उत्पन्न गराउन सक्छ । क्रान्तिकारी र प्रतिक्रान्तिकारी आरोपमा एकआपसमै भिडन्त हुने सम्भावना पनि रहन्छ । यसतर्फ सबैले बेलैमा सोच्न जरुरी छ । साथै कम्युनिस्ट पार्टीका नेताहरूले टुटफुट र विभाजनमा रंगिएको कम्युनिस्ट आन्दोलनको इतिहासलाई अब सच्याउने कोसिस गर्नुपर्छ । होइन भने कम्युनिस्टहरूप्रति नेपाली जनतामा निश्चित रूपले वितृष्णा बढ्ने देखिन्छ । यसर्थ, पार्टी विभाजनको पीडा भोग्नबाट मुलुक र जनतालई मुक्त गर्न कम्युनिस्ट नेताहरू लाग्नुपर्छ । र, नेपाली राजनीतिको परम्परागत यस रोगको उपचार बेलैमा गर्नैपर्छ ।

प्रतिक्रिया