प्रचण्ड र नौलो जनवादको अवसान

समाजवादी क्रान्ति, पुँजीवादको विकास हुँदै देश अर्थात् विकसित देशमा सर्वहारा वर्गको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व कायम गरी सम्पन्न गरिने क्रान्ति हो । यस प्रकारको क्रान्ति सन् १९१७ मा रूसमा सम्पन्न भएको थियो । यो क्रान्तिभन्दा भिन्न अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकहरूमा सर्वहारा वर्गको नेतृत्व र आमजनताको अधिनायकत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्धमा सम्पन्न गरिने क्रन्तिलाई नयाँ जनवादी क्रन्तिको नामाकरण  माओत्सेतुङले गरेका थिए । नेपालजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा सम्पन्न गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति सामन्तवाद, साम्राज्यवाद र नोकरशाही पुँजीवादविरुद्ध परिलक्षित रहनेछ, नयाँ जनवादी क्रान्तिसम्बन्धी अवधारणा माओद्वारा विकसित गरिएको थियो । नयाँ
जनवादी क्रान्ति नयाँ प्रकारको पुँजीवादी क्रान्ति हो, यो कम्युनिस्ट पार्टीले गर्छ । नेपालमा यस क्रान्तिको विशिष्टता छ ।
नेपाली नयाँ जनवादी क्रान्तिका विभिन्न पक्ष, आयाम र विशेषता रहेका छन् भन्दै २०५० सालदेखि पहाड, तराई र मधेसका सहरका गल्ली गल्ली, पत्रपत्रिका र सडकपेटीका भित्तामा लेखिएका थिए । बहुदलीय जनवाद भनेको उदार अर्थतन्त्र (खुला बजार अर्थतन्त्र) वा संसद्वाद नै हो भन्दै लेखिएका ती नाराहरू अहिले पनि कतै देखिन सक्छन् । यदि जीवित रहेछन् भने ती नाराले जनताको घरदैलोमा पुगेका नेता कार्यकर्तालाई के भनेर सम्बोधन गर्नेछन् ? नेपालको मौलिक परिवेशमा नौलो जनवादलाई क्रान्तिद्वारा व्यवस्थित गरिनेछ । क्रान्तिको अपरिहार्यता रहेको भन्दै अग्रभावमा आममाओवादी कार्यकर्ता प्रशिक्षण दिँदै भरुवा बन्दुक बोकाएर लड्न पठाइए । धोकाधडीको पराकाष्ठामा पुगेको एमाओवादीको राजनीतिक चरित्रलाई व्याख्या गर्न जोकोही विश्वका दार्शनिकहरूलाई ज्यादै नै कठिन पर्छ होला ? किनकि दार्शनिकहरूले विश्लेषण गर्ने बेलासम्म उनीहरूले नीति फेरबदल गरिसकेका हुनेछन् । आफूलाई परिवर्तनकारी र क्रान्तिकारी पार्टी भन्न रुचाउनेले सर्वप्रथम यो मुलुक र संसारलाई बदल्नका लागि आफूबाटै सुरु गरिनुपर्छ । अहिले नेताहरूको वाक्यवाणी सुन्दा माक्र्सवाद, लेनिनवाद र माओको विचारमाथि नै जबर्जस्ती प्रश्नचिन्ह खडा हुन पुगेको छ ।
फाँसीवादको जन्म कुनै लोकतान्त्रिक पार्टीको नाम र नेतृत्वबाटै हुन पुगेको थियो भने सर्वसत्तावादको जन्म पनि अमूक क्रान्तिकारी पार्टी र नेतृत्वको नाम र कामबाट नै जन्मन पुगेको थियो । पोलपोट क्रान्तिको नाममा नरसंहार गर्ने रातो झन्डाधारी नेतालाई अहिले विश्वका आमजनताबीच छि–छि र दूर–दूरको पात्र बन्नुपर्ने कारण पनि क्रान्तिको नाममा आफू सामन्त बन्ने लालसा नै हो । आफू र आºना आसेपासेको क्रियाकलाप जनताका कानमा पुग्न नपाओस् भन्दै आºना शत्रु निर्मूल गर्ने क्रममा दशौं लाख जनताको नरसंहार हुन पुग्यो । अन्त्यमा जनतादेखि तर्संदै भागेको पोलपोट अवसान अनकन्टार जंगलको बीचमा रेविजले ग्रस्त कुकुरझँै हुन पुग्यो । राजनीति जनताका लागि हुनुपर्छ भन्ने विश्वव्यापी राजनीतिक सिद्धान्तले के प्रमाणित गर्छ भने वर्तमान एउटा सत्ताले जनतालाई दमन र धरपकड गर्छ ।
जनताका तामाम समस्यालाई वास्तै नगरी केवल आºना आसेपासेको मोजमस्तीमा ठूलो धनराशिको खर्च गरिन्छ ।
वर्तमान राजनीतिक अवस्थालाई अन्त्य गर्ने नयाँ राजनीतिक अवधारणसाहितको राजनीतिक विचार र सिद्धान्त बोकेको नेतृत्वको जनताले माग गर्छन् । तिनै जनताको आवश्यकता परिपूर्ति गर्ने दृढ अठोट बोकेर परिवर्तनको आँधीबेरीमा होमिँदै नेतृत्वले वर्तमान अवस्थालाई बदल्ने नयाँखाले सोचविचार सिद्धान्त अंगीकार गर्न सक्नुपर्छ । नेपालको राजनीतिक परिवेशमा राजनीतिक नेतृत्वले हालसम्म पनि कुनै कुनै परिवर्तन दिलाउन नसक्दा मुलुकको अवस्था दयनीय बन्दै गएको छ । विश्वका तमाम मुलुकमा एकपछि अर्को हँुदै गइरहेको विद्रोहले नयाँ नयाँ समस्या समाधान गर्ने उपायको खोजी गरेको पाइन्छ । नेपालको विद्राहीले नयाँनयाँ तरिकाबाट उठेका समस्यालाई हल गर्नुको अलावा झन् थप समस्या बल्झाएको पाइन्छ । नेपालको राजनीतिक धरातलमा यति धेरै राजनीतिक प्रश्नहरू खडा भएका छन् कि वर्तमान राजनीतिक नेतृत्वले ती समस्यालाई उठाउने र एउटा निर्जन दोबाटोमा फालिदिने कार्य भएको छ । त्यसले नेपाल र नेपाली कसैलाई हित गर्न सक्दैन न त स्वयं नेता महोदयहरूलाई पनि हित गर्दैन ।
राजनीतिक निर्णयहरू केवल लहड र सनकमा कोही कसैले गर्छ भने त्यसको दुष्परिणामको जिम्मा पनि उसैले लिनुपर्छ । सजायँको भागीदार पनि जनताले उसैलाई बनाउनेछन् भन्ने कुराको ख्याल नगरी लापरबाही ढंगले सत्तामा बसेर गरिएका काम कारबाहीले जनताका समस्या र अर्थतन्त्रमा ठूलो संकट पैदा भएको छ । जुन संकटले गर्दा नेपालको अर्थतन्त्र फेरि ३० वर्षपछि धकेलिन पुगेको छ । नेपालको राजनीतिक वृत्तमा आशा र विश्वासको धरोहरको केन्द्रमा रहेको एमाओवादी र प्रचण्ड नेतृत्वलाई गरेका थिए । तर, उसले जे जति राजनीतिक योजना अगाडि सार्‍यो त्यो योजना, विचार र सिद्धान्तलाई पटकपटक फेरबदल गर्दै अगाडि बढ्न थाल्यो, जसको परिणाम वर्तमान राजनीतिक विचारमा रूपान्तरित हुन पुग्यो । यदि उसले उठाएका जनवादी कार्ययोजना ठीक थिए भने किन जनवादी राजनीतिक कार्यक्रमलाई अन्तैतिर अलपत्र पार्दै लोकतान्त्रिक व्यवस्थामा प्रवेश गर्न पुग्यो भन्ने प्रश्न उठिरहेको छ । वर्तमान लोकतान्त्रिक व्यवस्थामा आउनु थियो र सोही व्यवस्था ठीक थियो भने किन जनवादी व्यवस्थाका लागि भन्दै विद्रोह गर्न पुग्यो ? आमजनतासामु उठेका प्रश्नलाई थाती राख्दै प्रचण्डले शान्तिका लागि केही गर्छन् कि भन्ने विश्वासले जनता उनले अगाडि सारेको विचारको पछि लाग्न पुगे । के संविधानसभा नभएकै कारण नेपालको राजनीतिक विकास हुन नसकेको हो भन्ने हो भने त्यो संविधानसभाको राजनीतिक नारालाई जनताले स्विकारेका थिए ।
हाल आएर संविधानसभाद्वारा संविधान बनाउन नसकी जनताले दिएको मतलाई बेवास्ता गर्दै संविधानसभालाई भंग गर्ने पुगे । संविधानसभा भंग हुनुमा कसको के दोष र कमजोरी रह्यो भन्ने प्रधान नभई त्यो संविधानसभाको नारालाई व्यवस्थित रूपमा कसले उठाएको थिए र त्यो कुन पार्टीको राजनीतिक कार्यक्रम थियो भन्ने प्रधान बन्दो रहेछ । संविधानसभाको नारा केवल एमाओवादीको राजनीतिक बटमलाइन थियो । त्यसको नेतृत्व स्वयं प्रचण्डले गरेका थिए । उसले उठाएको तमाम राजनीतिक कार्यदिशालाई पटकपटक धोका दिँदै छाडिरहेका थिए । हाल आएर  संविधानसभाको विघटन गर्न पनि उनीहरू नै पुगे । त्यसबाट के प्रमाणित हुन पुग्यो भने एउटा राजनीतिक पार्टीले उठाएको कार्यक्रमलाई गन्तव्यमा नै नपुर्‍याई छाडिदिन्छन् भने त्यो पार्टी र त्यसको नेतृत्व कसरी बाँचिरहन सक्छन् ? हाल प्रचण्डको सबै राजनीतिक कार्ययोजना अन्तत्वगत्वा अवसान भएका छन् । उनले उठाएको नौलो जनवादी राजनीतिक योजना पनि उनकै करणले गर्दा अवसान हुन पुग्यो । संविधानसभाको विघटन पनि उनकै कारणले हुन पुग्यो जो विचार र सिद्धान्तको कारणले गर्दा प्रचण्ड बनेका थिए हाल आएर ती विचार र सिद्धान्तलाई अवसान गर्न उनी आफैँ अग्रपंक्तिमा सरिक भए भने अब प्रचण्डरूपी एउटा आत्मा पनि चिर हुन नसकेर अलपत्र हुन पुगेको छ । यो स्वंय प्रचण्डले र उसका मतियारले भने सोचेका थिएनन् होला ।

प्रतिक्रिया