२४ हजार सहकारीका ६ प्रशिक्षक

काठमाडौं, ६ असार । मुलुकभर झन्डै २४ हजार सहकारी संघका सञ्चालकलाई तालिम दिने प्रशिक्षक ६ जना मात्र छन् । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले सहकारी संघ/संस्थाका सञ्चालकलाई संस्था सञ्चालन गर्नुअघि या भइसकेपछि विभिन्न किसिमका तालिम दिने गर्छ । केन्द्रमा प्राचार्य र प्रशिक्षक गरी हालसम्म ६ जनाले प्रशिक्षण दिँदै आएका छन् ।

केन्द्रले वार्षिक नौ सय पचास जनालाई प्रशिक्षण दिंदै आएको केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले जानकारी दिए । देशभर दुई लाखका हाराहारीमा सञ्चालक, व्यवस्थापक र लेखासमिति क्रियाशील छन् । तिनलाई एक/एकपटक तालिम दिन दुई सय १० वर्ष लाग्छ । ‘एक संस्थाका एकजनालाई प्रशिक्षण दिन मात्र २६ वर्ष लाग्छ,’ प्राचार्य गणेश अर्यालले भने, ‘यो गतिले नेपालमा सहकारी व्यवसायले कसरी प्रगति गर्ला ।’ उनका अनुसार संस्था व्यवस्थापन, नेतृत्व विकास, क्षमता विकास, बजार प्रवद्र्धन, रणनीतिक योजना तर्जुमाजस्ता तालिम नलिई सञ्चालन भएको सहकारीको विकास कस्तो होला भन्न सकिंदैन ।
‘६ जना प्रशिक्षकद्वारा मात्र प्रशिक्षण सम्भव छैन,’ अर्यालले भने, ‘दक्ष जनशक्ति बढाई हालको प्रशिक्षणदर तेब्बर बनाउन आवश्यक छ ।’ हाल नौ सय ५० जनालाई प्रशिक्षण दिन लाग्ने खर्चको ६० प्रतिशत बजेट वृद्धि गर्नसके यो संख्यालाई दोब्बर बनाउन सकिने अर्यालले जानकारी दिए ।‘कतिपय संस्थाका सञ्चालकले तालिमबारे बुझेका पनि छैनन्,’ आर्चायले भने, कसैकसैले दुई–तीनपटकसम्म लिने गरेका छन् । सहकारीको वृद्धिसँगै यसको प्रशिक्षकको संख्या वृद्धि हुनुपर्ने भए पनि राज्यको बेवास्ताका कारण यस्तो भएको उनको भनाइ छ ।
केन्द्रलाई सवल, स्वायत्त र सुदृढ संस्थाका रूपमा विकसित गराउन संरचना, जनशक्ति र प्रणालीगत पक्षमा सुधार गर्न सकेमात्र सहकारीले प्रगति गर्न सक्ने उनको ठहर छ । गरिबी निवारणका लागि स्वरोजगारमूलक तालिम र सहकारी व्यवसायतर्फ व्यवस्थापन विषयक तालिम गरी पृथक किसिमको तालिम सञ्चालन गर्नु आवश्यक छ ।
१९ जनामात्र कर्मचारी रहेको केन्द्रमा लेखापाल एक, नायब सुब्बा दुई, कम्प्युटर अपरेटर एक, टाइपिस्ट दुई, सवारी चालक दुई र कार्यालय सहायक गरी पाँचजना रहेको केन्द्रले जनाएको छ । केन्द्रले १५ दिने प्रशिक्षक प्रशिक्षण, एक महिने सहकारी व्यवस्थापन तथा लेखापाल, १० दिने नेतृत्व विकास, सातदिने संस्थागत क्षमता विकास तालिम दिंदै आएको छ । त्यस्तै दशदिने रणनीतिक योजना तर्जुमा, १० दिने सहकारी व्यवसाय बजार प्रवद्र्धन र १५ दिने व्यवस्थापन तथा सीप विकास तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया