सजिलो छैन पुरानो पुस्ताको विरासत थाम्न

नेपाली संगीतको व्यावसायिक इतिहासले पुस्ता काटिसक्यो । मास्टर मित्रसेन हुँदै हरिप्रसाद रिमालहरूले कोरेको बाटोमा दौडिएर संगीतमा अब्बल कहलिएको पुस्ता पनि अब बूढो भइसक्यो । नारायणगोपाल, फत्तेमान, प्रेमध्व, भक्तराज, बच्चु कैलाशहरूले संगीतलाई व्यावसायिक सफलताको चुलीमै पुर्‍याए । उनीहरूलाई पछ्याउँदै नेपाली संगीतमा दोस्रो पुस्ताले प्रवेश गरेको पनि निकै भयो । यो पुस्तामा अघिल्लो पुस्ताका धुरन्धर गायकगायिकाका सन्तान पनि निकै छन् । तर, उनीहरूले आºना बाबुआमाले पाएजत्तिको सफलता पाउन सकेका छैनन् । समग्रमा संगीतको पछिल्ल्लो पुस्ताले अघिल्लो पुस्ताले कायम गरिराखेको क्वालिटीलाई भेट्न सकेको देखिँदैन । भजनशिरोमणि भक्तराजदेखि प्रेमध्वज प्रधान हुँदै उदय सोताङ र मनिला सोताङसम्मका छोराछोरी बाबुआमाको पथ पछ्याउँदै संगीतमा संघर्ष गरिरहेका छन् । तर, उनीहरूले अघिल्लो पुस्ताले छोडेको सांगीतिक क्वालिटी मेन्टेन गर्न सकिरहेका देखिँदैनन् । एक समय प्रेमध्वजका छोरा प्रसन्नध्वज पनि संगीतमा लागिपरेका थिए । तर, उनी टिक्न सकेनन् । अहिले सांगीतिक क्षेत्र चटक्कै छाडेर अरू नै पेसामा लागेका छन् ।
तुलनात्मक रूपमा भक्तराजका छोराहरू सत्यस्वरूप भने सफल नै देखिन्छन् । उनीहरूले अहिलेसम्म पाँच एल्बम निकालिसके । स्वरूपराज आफूले दुई हजारभन्दा बढी गीतमा स्वर दिइसकेको बताउँछन् । ‘म जतिसुकै अघि बढे पनि बुबाको  स्थानमा कहिल्यै पुग्न सक्ने छैन,’ उनले भने, ‘अहिलेको हाम्रो जेनेरेसनका कुनै गायकगायिकाले त्यत्तिको सफलता पाउन सक्दैनन् ।’ उनले थपे– ‘बुबाका गीतहरू छोरा, नाति पुस्तासम्मले सुनिरहने खालका छन्, हाम्राचाहिँ पाँच वर्षअगाडिका चर्चित गीत अहिल्यै श्रोताले सुन्न छाडिसके ।’ मेहनतको कमी रहेका पछिल्लो पुस्ता बढी कमर्सियल भएकाले पुराना गायकको क्वालिटीसँग ºलप खाएको उनी बताउँछन् । तर, आफूचाहिँ गीतहरू एकदम छानेर मात्रै गाउने भएकाले त्यसभित्र नपर्ने उनी दाबी गर्छन् । भन्छन्– ‘पछिल्लो पुस्तामा सत्य र मबाहेक सिंगरहरू महोत्सव डुल्न पाइयोस् र दुई–चारवटा प्रोगामको हावाखान पाइयोस् भन्ने हिसाबले गीत गाइरहेका छन् ।’
पिताको जत्तिको लेभलमा पुग्न नसक पनि अहिलेका पुस्तालाई आफूले लिड गरिरहेकामा गौरव मान्छन् स्वरूप । दाबी गर्छन्– ‘कम्पोजिसन, गायन, भर्सटाइल आवाज र संगीत बुझ्ने मामिलामा हामीजत्तिको नयाँ पुस्तामा अरू नभएको बाबाका समकालीन साथीहरूले पनि बताउनुहुन्छ ।’ त्यसो त बुबा गायक भएका कारण सांगीतिक क्षेत्रमा लाग्न सजिलो भएको कुरा उनी मान्दैनन् । आºनै किसिमले मेहनत र संघर्ष गरेर आएको सुनाउँछन् । भन्छन्– ‘बुबाकै पुस्ताका अरू गायकगायिकाले छोराछोरीलाई संगीतमा लाग्न फोर्स गरेको धेरै देखेको छु, तर हामीलाई बुबाले संगीतमै लाग भनेर कहिल्यै भन्नुभएन ।’ बुबाका कारण सांगीतिक क्षेत्रका केही व्यक्तिसँग परिचय भए पनि गीत गाएर हिट हुने र नहुने भन्ने कुरा आºनै क्षमतामा भर पर्ने उनले बताए ।
उनका दाजु सत्यराजले पनि अहिलेसम्म दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् । सांगीतिक फिल्डमा लागेर बुबाले जत्तिको सफलता नपाएको र अब पनि पाउन नसकिनेमा उनी सहमति जनाउँछन् । भन्छन्– ‘सांगीतिक फिल्डमा बाबाको नाम जति उच्च छ त्यो हामीले पाउँदैनौँ, उहाँहरूले जस्तो ५० वर्षपछाडि पनि दर्शकश्रोताले उत्तिकै रुचाउने गीत पछिल्लो पुस्तामा सायदै कसैले दिन सक्ला ।’
समग्रमा पछिल्लो पुस्ताले अघिल्लो पुस्ताको जस्तो क्वालिटी मेन्टेन गर्न नसक्नुको कारणमा उनी पनि यसप्रति लगाब र मेहनतको अभावलाई नै कारण देख्छन् । भन्छन्– ‘छोटो समयमा रेकर्डिङ गरेर चाँडै बजारमा ल्याई सफलता पाउने होडबाजी छ अहिले । गीतकारले एक दिनमा गीत लेख्छ, गायकले एकै दिनमा अभ्यास अनि रेकर्ड गर्छ, दुई दिनमा म्युजिक भिडियो अनि अर्को दिन गीत बजारमा । तीन दिन चल्छ, चौथो दिनदेखि सबैले बिर्सन्छन् । मेहनत नै छैन, अनि कहाँबाट क्वालिटी आओस् ।’ तर, पिताको पालाका गीतमा शब्द, गायनदेखि रेकर्डिङसम्ममा अधिकतम मेहनत हुने गरेको उनी अनुभूति गर्छन् । ‘त्यो मेहनतले गीतका शब्द नै मीठा हुन्थे, गायन त्यस्तै खारिएको हुन्थ्यो । त्यसैले ती गीतले कम्तीमा चार वर्षसम्म नयाँपनको अनुभूति गराइरहन्थे, हिट भएर बसिरहन्थे, बसिरहेकै छन् ।’  भक्तराजका छोराहरूलाई संगीत क्षेत्रमा आउन गाह्रो भएन होला भन्ने अनुमान अन्य संगीतकर्मीले गरे पनि आफूहरूले निकै दु:ख गर्नुपरेको उनी बताउँछन् । भन्छन्– ‘सांगीतिक क्षेत्रमा लागेका मान्छेले भक्तराजका छोराहरूलाई सांगीतिक फिल्डमा आउन गाह्रो भएन भन्छन् तर सबैभन्दा गाह्रो हामीलाई भयो ।’ राम्रो गायकका सन्तान भएकाले बुबाको नामकै लागि पनि आफूहरूमाथि सधैँ राम्रो गीतसंगीत दिनुपर्ने चुनौती रहेको उनी बताउँछन् । ‘संगीतमा आफूखुसी आउनेहरूले त जस्तो गीत गाए पनि भयो,’ उनले भने– ‘तर, हामीमाथि बुबाको नामलाई खस्कन दिन नहुने जिम्मेवारी पनि छ ।’ उनीचाहिँ पिताकै कारणले यहाँसम्म आइपुगेको बताउँछन्– ‘मेरो सफलतामा ५० प्रतिशत हात उहाँकै छ, हुन त उहाँले संगीतमै लाग भनेर कहिल्यै प्रेरित गर्नु भएन, जे इच्छा छ त्यही गर भन्नुहुन्थ्यो । तर, उहाँको साथ र उहाँका गीतहरूले सधैँ संगीततिर प्रेरित गरिरहे ।’
गायकगायिका दम्पति उदय र मनिला सोताङकी छोरी श्रेयाले सुरुआत नामको एल्बम बजारमा ल्याइसकेकी छन् भने ४० वटाभन्दा बढी गीतमा स्वर दिएको बताउँछिन् । आफू अहिले संगीत क्षेत्रमा चिनिनुमा बुबाआमाको देन रहेको उनी स्विकार्छिन् । ‘तर उहाँहरूको जत्तिको सफलता त कहाँ पाइएला र ? भर्खरै चार वर्ष त भयो म लागेको, उहाँहरूले त २५ वर्ष बिताइसक्नुभो,’  भन्छिन्– ‘उहाँहरूले जत्तिको समय संगीतमा खर्चन सकिन्छ कि सकिँदैन कुन्नि ?’ आºना बाबुआमाको जस्तो अहिले पनि दर्शकमा लोकप्रिय गीत गाउन सक्ने हुन उनीहरूको जस्तै समर्पण चाहिने उनले बताइन् । ‘त्यत्तिकै वर्षसम्म उहाँहरूकै जस्तो साधना गरे मात्र, नत्र त त्यो स्तरमा कहाँ पुग्न सकिएला र ?’ उनले भनिन्– ‘तैपनि मेहनत गरिरहेकै छु ।’  गायकगायिकाका सन्तानलाई  सांगीतिक क्षेत्रमा सफलता पाउन सजिलो छ भन्ने कुरामा भने उनी ५० प्रतिशत सहमत छिन् । ५० प्रतिशतचाहिँ यसको खण्डनै गर्छिन् । भन्छिन्– ‘बुबाआमाका कारण अन्य संगीतकर्मीसँग चिनजानचाहिँ हुन्छ । उहाँहरूले मेहनत गर्ने तरिका सिकाउनुहुन्छ । तर, मेहनत गर्ने/नगर्ने त आºनो कुरा हो । मेहनत नगरी बुबाआमा गायकगायिका भएको भरमा सफलता पाइँदैन । मुख्य कुरा राम्रो गाउन सक्ने हुनैपर्छ ।’

प्रतिक्रिया