लोकतन्त्र र संसदवाद अमान्य : वैद्य

काठमाडौं, ६ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी, माओवादीका अध्यक्ष मोहन वैद्यले ‘लोकतन्त्र र संसद्वाद’ आफूहरूलाई मान्य नहुने बताएका छन् । अहिलेको लोकतन्त्र काम नलाग्ने भइसकेको जिकिर गर्दै उनले आºनो पार्टीले संसद्वादविरुद्ध आन्दोलन गर्ने बताए ।

‘अहिलेको लोकतन्त्र काम नलाग्ने गरी मक्किएको छ, हाम्रो उद्देश्य नयाँ जनवादका लागि संसद्वादविरुद्ध संघर्ष गर्ने हो,’ नयाँ पार्टी गठनको औपचारिक जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने । अवस्था हेरेर संघर्षको कार्यक्रम जनविद्रोह वा जनयुद्धसम्म हुन सक्ने उनले बताए । नयाँ पार्टीको गठनसँगै नेपाली कम्युनिस्ट इतिहासमा नयाँ अध्याय थालनी भएको वैद्यको भनाइ छ ।
आºनो पार्टीले संघीयताका पक्षधर र वाम शक्तिको मोर्चा बनाएर जनताका पक्षमा आन्दोलन गर्ने अध्यक्ष वैद्यले जानकारी दिए । ‘संघीयताका पक्षधर र वाम शक्तिहरूको मोर्चा बनाएर स्थानीय रूपमा सत्ता बनाएर अगाडि बढिन्छ,’ उनले भने । कांग्रेस–एमालेलगायत दलको र एकीकृत माओवादी–मधेसवादी दलको गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने भएकाले आफूहरूले स्वतन्त्र धारका रूपमा मोर्चा बनाउने वैद्यले बताए ।
तत्कालै जनविद्रोहको सम्भावना नरहेको भन्दै उनले लामो तयारीपछि मात्रै जनविद्रोहमा जाने जानकारी दिए । ‘पटक–पटक हामीले जनविद्रोह भन्दै आएका हौँ तर अहिले नै जनविद्रोह हुने सम्भावना छैन,’ उनले भने, ‘लामो तयारीपछि जनविद्रोहमा जाने हो ।’
विचार, बहस, सिद्धान्तबाट आफूहरूलाई परास्त गर्न नसक्नेहरूले मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह र रिमले एमाओवादी फुटाएको आरोप लगाउने गरेको दाबी वैद्यले गरे । बरु, विगतमा पार्टीभित्र अध्यक्ष दाहाललाई ज्ञानेन्द्रसित साँठगाँठ गरेको र प्रधानमन्त्री बाबुराम भट्टराईलाई विस्तारवादको पक्षपोषक भएको आरोप लिखित रूपमै आएको उनले स्मरण गरे ।
‘पार्टीमा दुई लाइन संघर्ष हुँदा बाबुरामले प्रचण्डलाई ज्ञानेन्द्रपरस्त भनेका थिए भने प्रचण्डले बाबुरामलाई विस्तारवादको पक्षपाती भएको आरोप लगाएका थिए । दुवैको आरोप पार्टीमा लिखित रूपमा आएका हुन् । बरु ज्ञानेन्द्रपरस्त र विस्तारवादका पक्षपाती मिलेर अहिले हामीलाई आक्रमण गरे भन्नुस्,’ उनले भने ।
भट्टराई नेतृत्वको सरकार ढाल्न कांग्रेस–एमालेले गरिरहेको आन्दोलनलाई सत्तालिप्साको लडाइँ भन्दै अध्यक्ष वैद्यले आफूहरू त्यसमा नफस्ने बताए । ‘कांग्रेस–एमालेको एक मात्र एजेन्डा बाबुरामलाई हटाउनुपर्छ भन्ने हो, बाबुरामको एक मात्र एजेन्डा सत्ता छाड्दिनँ भन्ने हो । यो सब सत्ताको छिनाझम्टी हो । हामी सत्तालिप्साको खेलमा छैनौँ,’ उनले भने ।
नयाँ पार्टी दर्ता गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा वैद्यले अस्पष्ट जवाफ दिए । ‘आवश्यकताअनुसार दर्ता गर्न पनि सक्छौँ, आवश्यक भएन भने दर्ता नगर्न पनि सक्छौँ,’ उनले भने, ‘संसद्वादबाट जनताका समस्या समाधान हुन सक्दैन भन्नेमा प्रस्ट छौँ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई नवसंशोधनवादी भएको आरोप लगाउँदै अध्यक्ष वैद्यले अहिलेकै अवस्थामा उनीहरूसित एकता हुन नसक्ने बताए । दुवैजना रूपान्तरण भएर गम्भीर आत्मालोचना गरे मात्रै उनीहरूसित एकता हुन सक्ने उनको भनाइ छ । एमाओवादीभित्र धेरै राम्रा नेता–कार्यकर्ता पनि रहेको बताउँदै वैद्यले उनीहरूका लागि आºनो पार्टीको ढोका सधैँ खुला रहने बताए । तर, एकताका नाममा एमाओवादीमा धेरै ‘कुडाकर्कट’ पनि भित्रिएको वैद्यको आरोप छ ।
एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले दसवर्षे जनयुद्धलाई ध्वस्त बनाएको आरोप वैद्यले लगाए । ‘नेतृत्वलाई सच्याउन हामीले पटक–पटक गरेका प्रयासलाई लत्याइयो, उल्टै हामीलाई पनि अवसरवादको तालमा चोपल्ने प्रयास गरियो,’ उनले भने ।
एमाओवादीमा रहँदा संस्थापन पक्षसित विवाद चुलिँदै गएपछि वैद्य पक्षले गत शनिबारदेखि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । भेलाको सुझावअनुसार नयाँ पार्टी गठन गरिएको हो । आगामी फागुन पहिलो साता नवगठित पार्टीको महाधिवेशन गर्ने निर्णय भेलाले गरेको छ । पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापाले कार्यकर्ता भेलाले तयार पारेको निष्कर्ष पढेर सुनाएका थिए ।

प्रतिक्रिया