हटेनन् विद्यालयका विदेशी नाम

काठमाडौं, ६ असार । विदेशी नाम परिवर्तन गर्न निजी विद्यालयलाई दिइएको निर्देशनको अवज्ञा भएको छ । शिक्षा विभागले गत फागुनमा आकर्षणका नाममा विदेशी झलक दिने नाम राखेर विद्यालयले नियमविपरीत काम गरेको भन्दै देशभरका विद्यालयलाई नाम परिवर्तन गर्न निर्देशन दिए पनि त्यस्ता विद्यालयले नाम परिवर्तन गरेका छैनन् ।
काठमाडौंका शिक्षा अधिकारी बैकुण्ठ अर्यालले विदेशीपन झल्किने नाम राख्न खोज्नेलाई चाहिँ रोकेको बताए । जिशिअ अर्यालले भने, ‘नेपालीपन झल्कने नाम राख्न कोही पनि आएका छैनन् तर विदेशीपन झल्कने नाम राख्न आउनेलाई रोकेका छौँ ।’
काठमाडौंमा मात्र सयौँ विद्यालयले विदशी झल्को दिने गरी नाम राखेका छन् । विभागको विद्यालय व्यवस्थापन शाखा (माध्यमिक) ले विदेशी नाम परिवर्तन गरी नेपालीपन झल्किने नामकरण गर्न ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ । १५ फागुनमा गरिएको परिपत्रमा भनिएको थियो, ‘कतिपय विद्यालयले विदेशी झलक आउने गरी अथवा व्यापारिक आकर्षण प्रदान गर्ने आसयबाट विद्यालयको नामकरण गरेको पाइएबाट विद्यमान कानुनी व्यवस्थाको बर्खिलाप भएको पाइएकाले शिक्षा नियमावली–०५९ को नियम १५४ बमोजिम मात्र विद्यालयको नाम कायम गर्न आवश्यकताअनुसार विद्यालयको नाम परिवर्तन गर्न व्यवस्था मिलाउनू ।’
विभागका निर्देशक टेकनारायण पाण्डेले नयाँ खुल्ने र नाम परिवर्तन गर्न चाहने विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न बाध्य पारिएको बताए । निर्देशक पाण्डेले भने, ‘जुन नाममा चलिरहेका छन्, सबैलाई एकैचोटि परिवर्तन गर्न गाह्रो छ, विस्तारै बुझाएर नेपालीपन भएका नाम राख्न लगाउँछौँ ।’

नाम परिवर्तन गर्न नमान्ने विद्यालयलाई शिक्षा नियमावलीमा २५ हजार रुपियाँ जरिवाना तथा दर्ता खारेजसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।
शिक्षा नियमावलीको परिच्छेद २७ को १५ (४) मा विद्यालयको नामकरण सम्बन्धमा भनिएको छ, ‘समाज तथा राष्ट्रकै लागि उल्लेखित योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण
गर्न सकिन्छ ।’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)का अध्यक्ष डा. बाबुराम पोखरेलले नेपालीपन झल्कने नाम राख्न विभागले गरेको निर्णय सकारात्मक भएको बताए । उनले विदेशी नाम राख्दैमा राम्रो नहुने भएकाले नेपाली नाम राखेर पनि उत्कृष्ट बन्न सकिने बताए ।
विद्यालयहरूले इलिस्टर एकेडेमी, ग्राडफोर्ड, द सनसाइन, चेल्सी इन्टरनेसनल, लिभरपुलजस्ता नाम राखेर विद्यार्थी आकर्षण गर्ने प्रयास गरेका छन् । यी त उदाहरणमात्र हुन्, यस्ता नाम राख्ने सयौँ विद्यालय सञ्चालनमा छन् ।
चेल्सी इन्टरनेसनल एकेडेमीका संस्थापक प्रिन्सिपल सुधीरकुमार झाले नाम परिवर्तन सम्भव नभएको बताए । ‘लाखौँ, करोडौँ खर्च गरेर स्कुलको ब्रान्ड बनाइएको हुन्छ, नाम परिवर्तन गर्दा बालबालिकाको मनोविज्ञानमा पनि असर गर्छ,’ प्रिन्सिपल झाले नेपालीपन झल्कने नाम नयाँ खुल्ने विद्यालयका हकमा लागू गर्न सकिने बताए । उनले नाममा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया