ऊर्जा मन्त्रालय र प्राधिकरण बेखबर

काठमाडौं, ५ असार । त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मेगावाट बनाउनेबारे आफूहरू बेखबर रहेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीले बताएका छन् ।
अर्थमन्त्री र अर्थ मन्त्रालयका प्रतिनिधिले निर्माणाधीन सो आयोजनालाई उत्पादन क्षमता बढाउनका लागि गृहकार्य भइरहेको जनाए पनि उनीहरूले भने त्यसबारे जानकारी नभएको बताएका छन् । ‘पहिला आयोजनाको क्षमता बढाउने चर्चा सुनेको हुँ तर त्यसबारे थाहा छैन,’ ऊर्जासचिव हरिराम कोइरालाले भने । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कायममुकाम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले पनि क्षमता बढाउनेबारे आफूहरूलाई थाहा नभएको बताए ।
‘पछिल्लो समयमा त्यस्तो प्रस्ताव पठाएका छैनौँ, त्यसबारे थाहा छैन,’ उनले भने । त्रिशूली निर्माण गरिरहेको ठेकेदार कम्पनीले भने सरकारले क्षमता बढाउनका लागि प्रस्ताव गरिसकेको बताएको छ । तर, प्राधिकरण प्रवक्ता शेरसिंह भाट पनि क्षमता बढाउनेबारे कुनै निर्णय नभएको बताउँछन् ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतले त्रिशूली ‘३ ए’ लाई ६० बाट बढाएर ९० बढाउने चलखेल वर्तमान सरकारले गरेको र आयोजनाबाट एक अर्ब भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् । प्राधिकरणभित्रको उत्पादन निर्माण विभागले समेत यसबारे अनभिज्ञता प्रकट गरेको छ । ‘प्राविधिक रूपमा त सम्भव होला तर त्यसबारे पछिल्लो तीन महिना यता कुनै फाइल उठेको छैन, ठेकेदारले पनि निवेदन दिएको छैन,’ विभागका एक प्रतिनिधिले थपे, ‘आयोजना निर्माणको सम्झौता भएको दुई वर्ष भइसक्यो, निर्माणमा गएको एक वर्ष भइसक्यो, अब क्षमता बढाउने कुरा असम्भवजस्तै छ ।’ उनका अनुसार क्षमता बढाउनका लागि वैधानिक आधार सकिएको छ ।
पटकपटक ठेकेदार कम्पनी र प्राधिकरणभित्रका व्यक्तिले ६० मेगावाटलाई ९० मेगावाट बनाउनका लागि चलखेल गरे पनि पूर्वऊर्जामन्त्री गोकर्ण विष्ट, पोष्टबहादुर बोगटीलगायतका पालामा सम्भव भएको थिएन । सम्झौता भएका आयोजनाको क्षमता बढाउन धेरै कठिनाइ हुने भएकाले त्यो चलखेल रोकिएको थियो तर फेरि सुरु भएको छ । ‘कानुनी दृष्टिकोण, अन्तर्राष्ट्रिय ठेक्का सम्झौताको प्रावधानका कारणले अहिले आएर बढाउन समस्या छ ।’ प्राधिकरणका पूर्वसञ्चालक सदस्य मुृकेश काफ्ले थप्छन्, ‘ सबै प्रावधानलाई टेक्दा यो पूर्ण अनुपयुक्त छ तर प्रम आफंैले मन्त्रालय सम्हालेकाले पहिलेको निवेदनको आधारमा प्रक्रिया अघि बढाइएको हुन सक्छ ।’
पटकपटक ठेकेदार कम्पनी र केही व्यक्तिहरूले निर्माणाधीन आयोजनाको क्षमता बढाउनका लागि लबिङ गरेका थिए । उनीहरूले क्षमता बढाउन निवेदन दिएका पनि छन् । विज्ञहरूले भने प्रधानमन्त्रीको निर्देशनमा क्षमता बढाउन लागिएकाले अरू कर्मचारीले यसबारे बोल्न नचाहेको हुन सक्ने बताएका छन् । क्यु ५२ मा बनाइएकाले ६० मेगावाट मात्र भएको र क्यु २० मा बनाउँदा दुई सय मेगावाटसम्म निर्माण सकिने प्राविधिकले जानकारी दिएको तर आयोजना निर्माणको सम्झौता भएपछि त्यसलाई बढाउन मिल्दैन भनिएको छ । हिउँदे सिजनमा ४५ मेगावाट उत्पादन हुने उक्त आयोजनाको क्षमता जति बढाए पनि उक्त समयमा क्षमता बढ्दैन ।
क्षमता बढाएमा अहिले निर्माण भएका कतिपय संरचना नयाँ बनाउनुपर्ने भएकाले धेरै कठिनाइ रहेका छन् । चाइनाको एक्जिम बंैकको ऋण सहयोगमा निर्माण गरिरहेको त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको निर्माण १८ प्रतिशत पूरा भइसकेको छ । एक वर्षदेखि निर्माण सुरु भएको ६० मेगावाटको उक्त आयोजना मे ०१४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनामा सिभिल र इलेक्ट्रिोमेकानिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी र परामर्शदाताको काम पनि नर्थ वेष्ट हाइड्रो कन्सल्टेन्सीले गरेको छ ।

प्रतिक्रिया