पार्टीलाई एक बनाउनुको विकल्प छैन


राष्ट्रिय राजनीति र पार्टीभित्रको विवाद समधानका लागि सुझाब लिने उद्देश्यले नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सोमबारदेखि सुरु दुईदिने भेलामा पार्टीका पााच सय २५ अगुवा कार्यकर्ता सहभागी छन् । हामीले पूर्वी इलामदेखि पश्चिम दार्चुलासम्मका जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका नेतालाई सौर्य सहकर्मी राजेश राईले सोधेका थियौ, ‘राष्ट्रिय राजनीतिमा अब एमालेको भूमिका कस्तो हुनुपर्छ ?, पार्टीभित्रको विवाद मिलाउन के गर्नुपर्छ ? उनीहरूको प्रतिक्रिया :
राजेन्द्र राई, अध्यक्ष, धनकुटा
पहिलो, संविधानसभा विघटनपछि अहिले मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ । यो संकटलाई निकास दिन एमालेले आफ्नो स्पष्ट नीति अघि सार्नुपर्छ । दोस्रो, राज्य पुन:संरचनाका विषयमा जनजाति नेताहरू असन्तुष्ट छन् । उनीहरूका असन्तुष्टिप्रति गम्भीरतापूर्वक समीक्षा गर्दै उहाँहरूको जायज माग सम्बोधन गरेर भावी कार्यदिशा तय गर्नुपर्छ । असन्तुष्ट श्रद्धेय पार्टी उपाध्यक्ष अशोक राईलगायत नेताहरूले पनि आफ्ना माग र अडान कार्यकर्ताबीचमा राख्नुपर्छ । आजको भेलामा तपाईंहरू आउनुहोस्, कमरेडहरूको जायज माग पार्टीले अवश्य सम्बोधन गर्नेछ ।

बलवीर चौधरी, अध्यक्ष, बारा
एउटा जीवन्त पार्टीभित्र विवाद र बहस हुनु कुनै नयाँ विषय होइन तर अहिले जुन विवाद देखिएको छ अलि गम्भीर खालको छ । पार्टी नेतृत्वले गम्भीरताका साथ विवाद समाधानको पहल गर्नुपर्छ । असन्तुष्ट नेताहरूले आफ्ना जायज मागलाई बाहिर होइन, पार्टीभित्रै राख्नुपर्छ । म उहाँहरूलाई राष्ट्रिय कार्यकर्ता भेलामा आफ्ना मागहरू आएर राख्न अनुरोध पनि गर्न चहान्छु । उहाँहरूले बढी जातीय मुद्दा उठाइरहनुभएको छ । तर, यतिबेला पनि जातीयभन्दा वर्गीय मुद्दा प्रधान हो । वर्गीय मुद्दालाई प्रथामिकता दिएर आफ्ना मागअघि सार्न म नेताहरूलाई अनुरोध गर्छु ।
आङनिमा लामा, अध्यक्ष, सोलुखुम्बु
संविधानसभा विघटनपछि एमालेलाई पहिचानसहितको संघीयताविरोधी पार्टीका रूपमा चित्रण गरिएको छ । पार्टीबाहिर मात्रै होइन, पार्टीभित्रै नेताहरूबाट पार्टीमाथि यस्तो आरोप लगाइएको छ । भेलाले यो भ्रमलाई चिर्नका लागि ठोस कार्यक्रम ल्याउन सही सुझाब दिनेछ । एमालेले राज्यको पुन:संरचनाका बारेमा विभिन्न समयमा छलफल गरे पनि स्पष्ट दृष्टिकोण नल्याउँदा र पार्टी निर्णयअनुसार कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको हो । यसअघि पार्टीले राज्यको पुन:संरचनाको विषयमा गरेका निर्णय कार्यान्वयन गनुपर्छ । अशोक राईजस्ता आदरणीय नेताहरू असन्तुष्ट हुनुहुन्छ, उहाँहरूको जायज मागलाई सम्बोधन गरेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प छैन ।

तेजमान कन्दङवा, अध्यक्ष, तेह्रथुम
भेलामा असन्तुष्टहरूले पनि आएर आफ्ना विचार राख्नुपथ्र्यो तर उहाँहरू आउनुभएन । आफ्ना असन्तुष्टि पार्टीको भेलामा नराखेर कहाँ राख्ने ? पार्टी नेतृत्वले पनि असन्तुष्ट कमरेडहरूको सही मागलाई सम्बोधन गरेर सम्मानजनक तरिकाले पार्टीमा फर्काउनुपर्छ । अहिले पार्टीभित्र र बाहिर दुईटा अतिवादी धार देखिएको छ । राज्यको पुन:संरचना जातीय आधारमा हुँनुहुँदैन र अर्को एकल पहिचानकै आधारमा हुनुपर्छ भन्नेछन् । यो दुवै सोचले पार्टीको हित गर्दैन । अहिलेको समाधान भनेको बहुपहिचानको आधारमा राज्यको पुन:संरचना हो । असन्तुष्ट नेताका मागलाई पनि पार्टीले बेवास्ता गरेर जानुहँदैन, जुनसुकै मूल्यमा पनि पार्टीलाई मिलाएर जानुपर्छ ।

रवीन कोइराला, अध्यक्ष, झापा
यो भेलाले अबको राष्ट्रिय राजनीतिलाई दिशाबोध गनुपर्छ । यसमा एमालेको भूमिका के हुने भन्नेबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्छ । अर्को राज्य पुन:संरचना र जातीय सवालका विषयमा वस्तुगत समाधान गरिनुपर्छ । राज्यको पुन:संरचना, नामांकन र सीमांकन के कसरी गर्ने ? यस विषयमा सबैलाई मान्य हुने ठोस दृष्टिकोण अघि सारिनुपर्छ । अहिले पार्टीभित्र उत्पन्न विवादलाई पार्टीले गम्भीरताका साथ लिई असन्तुष्ट नेताहरूको औचित्यपूर्ण माग सम्बोधन गर्नुपर्छ । लामो इतिहास बोकेका पार्टीका नेताहरूले एकल जातीय पहिचानको मुद्दालाई अघि सारेर पार्टी छाड्ने दुर्भाग्यपूर्ण काम गर्नुहुन्छ जस्तो लाग्दैन ।
हस्त पण्डित, अध्यक्ष, सिन्धुपाल्चोक
अहिले जबरजस्ती दुईवटै भ्रम फैलाइएका छन् । पहिलो, संविधानसभा विघटन हुनुमा एमालेको पनि भूमिका छ भन्ने प्रचार गरिएको छ । दोस्रो, एमालेलाई जनजाति, मधेसीलगायत अन्य उत्पीडित समुदायको अधिकारविरोधी पार्टीको रूपमा परिचय गराउन खोजिँदै छ । यो भेलामा यी दुवै भ्रम निवारण हुने गरी एमालेले उत्तर दिनुपर्छ । हामीले दृढता र बढो स्पष्टताका साथ भन्नुपर्छ, ‘संविधानसभा माओवादीले विघटन गर्‍यो, एमालेले उत्पीडितविरोधी पार्टी होइन ।’ यी दुईको उत्तरको खोजी गरिए भेला सार्थक हुनेछ । अन्तुष्ट जनजाति नेताहरूको सही मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ । र, जनजाति नेताहरूले पनि आफ्ना मागहरूलाई पार्टीभित्रै राखेर समधानको खोजी गर्नुपर्छ । माओवादीको बहकाउमा लागेर पार्टीलाई कमजोर बनाउने काम गर्नुहँुदैन ।

मानबहादुर जिसी, अध्यक्ष, कास्की
राष्ट्रिय कार्यकर्ता भेला मूलत: सुझाब संकलनका लागि बोलाइएको हो । भेलाले पार्टीभित्रका समस्या समधानका लागि मार्गनिर्देश गर्नुपर्छ । पार्टीका जनजाति नेताहरू राज्य पुन:संरचनाको सवालमा असन्तुष्ट हुनुहुन्छ । उहाँहरूले पार्टीभित्र बसेर आफ्ना माग राख्नुपर्छ । बाहिर बसेर माग राख्नुको कुनै अर्थ हुँदैन । एमाले आजसम्म वर्गीय पक्षधरताको पक्षमा उभिएको छ । जनजातिको सही मागलाई सम्बोधन गरिनु त पर्छ तर जातीय पक्षधरतालाई महत्त्व दिनुहुँदैन ।

नरेन्द्र विष्ट, अध्यक्ष, बैतडी
पार्टीले एकदमै सही समयमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । पार्टीको आठौँ महाधिवेशनले दिएको म्यान्डेट कति कार्यान्वयन भयो ? यस विषयमा प्रतिनिधि बैठकमा समीक्षा भएको थियो । तर, संविधानसभाको विघटनपछि राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति उत्पन्न भएको छ । पार्टीभित्रका जनजाति नेताहरू असन्तुष्ट हुनुहुन्छ । यी विषयमा गम्भीरता साथ भेलामा छलफल हुनुपर्छ । पार्टीका श्रद्धेय नेता अशोक राईलगायतले भेला बहिष्कार गर्नुभएको छ । एउटा कार्यकर्ताको हैसियतले म अशोक कमरेडलाई आफ्ना कुरा भेलामा आएर राख्न अनुरोध गर्छु । पार्टीले जनजाति, दलित, मधेसी सबैका मागलाई सम्बोधन गर्नुपर्छ । तर, अहिले एकल जातीय पहिचानको मुद्दा उठिरहेको छ, यो सम्भव छैन ।

गुरुप्रसाद बुर्लाकोटी, अध्यक्ष, धादिङ
माओवादीको सत्तालिप्सा र स्वार्थका कारण संविधानसभा विघटनलगत्तै हाम्रो पार्टीमा पनि विवाद उत्पन्न भएको छ । खासगरी राज्य पुन:संरचनका विषयलाई लिएर एमालेभित्रका जनजाति नेताहरू असन्तुष्ट हुनुहुन्छ । अब पार्टीले राज्य पुन:संरचनका विषयमा ठोस नीति तय गर्नुपर्छ । तर, एकल जातीय राज्य कुनै पनि हालतमा स्विकार्नु हँदैन । यो माओवादीको ऐजेन्डा हो । हाम्रा नेताहरू माओवादीको ऐजेन्डामा लागिरहनुभएको छ । हामी वर्गीय लडाइँमा लागेका हौँ । अन्तर्राष्ट्रिय जाति बनाउन हिँडेकाले जातीय कुरा गर्नु बेठीक हो ।

ईश्वरप्रसाद खरेल, अध्यक्ष, कञ्चनपुर
अहिले एमालेभित्र राज्य पुन:संरचनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । यसअघि एमालेले सामथ्र्य र पहिचानका आधारमा राज्यको पुन:संरचना गर्ने निर्णय गरिसकेको छ । अहिले आएर एकल पहिचानको आधारमा राज्यको पुन:संरचना गरिनुपर्छ भनेर नेताहरूले गरेको माग गलत हो । माओवादीको भुलभुलैयामा लागेर यस्तो मागको पछि नलाग्न नेताहरूलाई मेरो सुझाब छ । आदरणीय नेता अशोक राईले हिजो हामीलाई वर्गीय आधारमा सबै कुरा हुन्छ भनेर सिकाउनुभएको थियो । म आज उहाँलाई सोध्न चहान्छु, ‘हामी तपाईंले देखाउनुभएको बाटोमा छौँ, तपाईंले किन छोड्नुभएको ? पार्टीले पनि उहाँहरूको अन्य जायज माग तत्काल सम्बोधन गर्नुपर्छ ।

कुर्मराज शाही, अध्यक्ष, कालीकोट
पार्टीभित्र देखिएका समस्या यो भेलाले समाधान गर्नुपर्छ । पार्टीले स्पष्ट अडान नलिँदा समस्या उत्पन्न भएको हो । अब पार्टीले पनि स्पष्ट नीति तय गर्नुपर्छ र जनजाति नेताहरूले पनि पार्टीको नीतिको आधारमा आफ्ना माग अघि सार्नुपर्छ । विवाद हुँदा विरोधीले खेल्ने अवसर पाउँछ, त्यो अवसर दिनुहँुदैन । जनजाति नेताहरूले अधिकार खोज्नु जायज हो तर हरेक माग जातीय हिसाबले होइन, वर्गीय आधारमा राख्नुपर्छ । हिजो क. अशोक राईले हामीलाई त्यसरी नै सिकाउनुभएको थियो । हिजो हामीलाई वर्गीय राजनीतिमा लागाउने नेताहरूले आज जातीय कुरा गर्दा हाम्रो पनि मन दुखेको छ ।

लक्ष्मण आचार्य, अध्यक्ष, दाङ
पार्टीभित्र अहिलेको समस्या किन आयो ? यस विषयमा बढो गम्भीरताका साथ छलफल गरिनुपर्छ । राज्य पुन:संरचनाको विषयमा स्पष्ट दृष्टिकोण अघि सारिनुपर्छ । तर, एकल पहिचानका आधारमा भने राज्यको पुन:संरचना गरिनु हँदैन । यसले मुलुकलाई मुठभेडतिर लैजान्छ । जातीय सद्भाव कायम रहने गरी सबैलाई मान्य हुने राज्यको पुन:संरचना गरिनुपर्छ । अहिले जनजाति नेताहरूले जे माग राख्नुभएको छ, ती मागलाई पार्टीभित्र राख्नुपर्छ । अन्य पार्टीलाई हित र पार्टीलाई अहित हुने गरी बाहिर प्रचार गर्दै हिँड्नु हुन्न ।

हरिनारायण मण्डल, अध्यक्ष, धनुषा
अहिलेसम्म हरेक मुद्दामा एमालेको दृष्टिकोण अस्पष्ट छ । अब एमालेले स्पष्ट दृष्टिकोण बनाएर जनताका बीचमा जानुपर्छ । गरेका निर्णय दृढताका साथ कार्यान्वयन गर्नुपर्छ । अहिले एकल पहिचानका आधारमा संघीयता सम्भव छैन, बहुपहिचानका आधार नै उपयुक्त निकास हो । अहिले एमालेभित्रका जनजाति नेताहरू तथा असन्तुष्ट नेताहरूको पनि सही मागलाई सम्बोधन गर्नुपर्छ । तर, नेता प्रधान होइन, नीति प्रधान हो । पार्टीको नीति सबैले पालना गरेर जानुपर्छ, त्यो जनजाति होस् वा मधेसी ।

अंगदकुमार बुढा, अध्यक्ष, डोल्पा
भेलाले पार्टीभित्र उत्पन्न विवाद र मुलुकलाई निकास दिन ठोस आधार तय गर्नुपर्छ । आदरणीय उपाध्यक्ष क. अशोक राईसहित नेताहरूले अहिले जे माग राखिरहनुभएको छ, त्यो पार्टीभित्रै राख्नुपर्छ । आफ्ना माग राष्ट्रिय भेलामा आएर हामीलाई पनि सुनाउन म अनुरोध गर्दछु । पार्टीभित्र जातीय आधारमा विभेद हुँनुहुँदैन तर अहिले जातीय राज्य माग्नुचाहिँ गलत हुन्छ । एमालेका शीर्ष नेताले पनि अन्तुष्टलाई मिलाएर लानुपर्छ ।

गणेशसिंह ठगुन्ना, अध्यक्ष, दार्चुला
पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि सबै विवादको समधानका लागि आधार तयार गर्नुपर्छ । पार्टीले जनजातिका सही मागलाई सम्बोधन गर्नुपर्छ । तर, जनजाति नेताहरूले पनि पार्टीभित्रै बसेर आफ्ना माग राख्नुपर्छ । आफ्ना माग कार्यकर्ताबीच राख्न किन डराउने ?

खगेन्द्र राई
महासचिव, अखिल नेपाल जनसांस्कृतिक महासंघ
यो भेलाले पार्टीभित्र देखिएका समस्या समाधान गर्न मार्गनिर्देश गर्छ भन्ने विश्वास गरेका छौँ । पार्टीभित्र अहिले देखिएका समस्यालाई पार्टी नीति, सिद्धान्तअनुसार नै सम्बोधन र समाधान गरिनुपर्छ । असन्तुष्ट कामरेडले पनि पार्टीको नीतिभित्र रहेर आफ्ना विचार राख्नुपर्छ । दुवै पक्ष गम्भीर भएर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । पार्टीभित्रै अन्तरसंघर्ष गरेर उचित समाधानको खोजी गरिनुपर्छ ।

प्रतिक्रिया