दु:खको साथी बन्दै तामाकोसी


लामाबगर (दोलखा), ४  असार । यातायात, सञ्चार, विद्युत्का अधिकांश विकास नपुगेको दोलखाको लामाबगर, गौरीशंकर, ओराङ, खारेलगायतका क्षेत्रका बासिन्दाको जीवनमा अहिले केही सुधार आएको छ ।
सदरमुकाम चरिकोटबाट तीनदिन लगाएर आइपुग्ने गाउँमा खेतीपाती हुने जमिनको कमी छ । तामाकोशी बन्नुअघि अन्य सम्भावना नभएकाले अधिकांशको आय मजदुरीमै निर्भर थियो । मजदुरीले कमाएको पैसाबाट पनि उनीहरूले सजिलै खानेकुरा किन्न पाउँदैनथे । नुन, तेल र खानेकुरा जोहो गर्न सदरमुकाम पुगेर फर्कन झन्डै ६ दिन लाग्थ्यो । १० वर्षअघि सम्मको त्यो पीडादायी जीवनबाट अहिले भने उनीहरूले केही छुटकारा पाएका छन् ।
सन् १९८५ र त्यसपछि पटकपटक जलविद्युत् बनाउँछु भन्दै गाउँ आउने स्वदेशी र विदेशीको भनाइ उनीहरूलाई पत्यार लाग्दैनथ्यो तर अहिले तिब्बतको फलाकसँग सीमा जोडिएको यो अत्यन्त विकट गाउँमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना दु:खी जीवन भगाइदिने मल्हम बनेको छ ।
‘के थियो र यहाँ, भिर मात्रै, अर्काको मजदुरी गरेर जीवन पाल्नुपर्ने, पैसा भएर खानेकुरा लिन पनि ५/६ दिन लाग्थ्यो,’ लामाबगर गाविसका पूर्वअध्यक्ष पेम्बा नोर्बुले विगत सम्झिए, ‘ठूलो पीडा भोगिरहेको बेला जलविद्युत् आयोजना निर्माण सुरु भएपछि त विकासको ढोका खुल्यो ।’ उनका अनुसार पहिला तीन दिन हिँडेर पुग्नुपर्ने सदरमुकाम जलविद्युत् आयोजनाकै कारणले मोटरबाटो बनेपछि तीन घण्टामै पुग्न सकिन्छ ।
‘सबैभन्दा ठूलो फाइदा त हामीजस्ता गरिबलाई भयो, अब नुन, तेल लिनका लागि ठूलो दु:ख गर्नुपर्ने अवस्थाको अन्त्य भयो ।’ लामाबगर गाविस–२ की किरमाया तामाङले भनिन्, ‘अझै गाउँका अलि जान्नेबुझ्नेले मात्र रोजगारी पाएका छन्, सबैलाई रोजगारी दिएदेखि बाँच्नका लागि धेरै सजिलो पर्दथ्यो ।’
०६३ सालमा ६ सय ५० मेगावाटको नेपालकै सबैभन्दा ठूलो र स्वदेशी लगानीमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सुरु भएसँगै विकासको पहिलो ढोका मानिने मोटरबाटो पुग्यो । मोटरबाटोले विस्तारै व्यासवायिक तरकारी उत्पादन मात्र सुरु भएको छैन । शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारीलगायतको सुविधा पनि पुग्न थालेको छ । पहिला यातायात असुविधाकै कारण थोरै मात्र टिपिने यार्सा गुम्बा टिपेर मोटरमा बेच्न लानेको भिड लाग्न थालेको छ । ‘जलविद्युतले त विकासको ढोकानै खुल्यो, मोटरबाटो आयो, अब बत्ती आउँछ, धेरैले रोजगार पाएका छन्, दुध, आलुलगायत बिक्री हुन थालेको छ ।’ गौरीशंकर गाविसका अर्जुनप्रसाद आचार्यले थपे, ‘पहिला त कति दु:ख थिए, कोही दु:ख हेर्न पनि आउँदैनथे तर हेलिकोप्टरमा भए पनि देशका प्रधानमन्त्री, नेताहरू आउन थालेका छन् ।’
आयोजनाले चरिकोटदेखि सिंगटीसम्मको ३५ किलोमिटर बाटो स्तरोन्नति गरेको छ भने त्यहाँदेखि लामाबगरसम्मको २८.५ किलोमिटर मोटरबाटो भने निर्माण गरेको थियो । ‘ढुंगा नै ढुंगा भएकाले धेरैले भिरबाट मोटरबाटो आउँछ भन्ने पत्याएका थिएनन्,’ आयोजनाका सहायक इन्जिनियर गोपी शिवाकोटीले थपे, ‘मोटरबाटो बनेपछि त अहिले उनीहरू जीवनस्तर नै परिवर्तन भएको छ ।’ उनका अनुसार मोटरबाटोको स्तरोन्नति र नयाँ निर्माणले भीमेश्वर नगरपालिका साथै शुष्मा क्षमतावती, सुन्द्रवाती, सुनखानी, लामीडाँडा, लादुक, वुलुङ, खारे ओराङ, लामाबगर र गौरीशंकर गाविसका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ ।
आयोजनाले स्थानीय विद्यालयको मर्मत, सामुदायिक भवन निर्माण, बिग्रिएको अवस्थामा रहेको घट्टेखोला जलविद्युत्को प्याल्न्ट पुन: निर्माण गरेर विद्युत् सुविधा प्रदान, झोलुंगे पुल निर्माण, ताजा तरकारी खेती र नर्सरीको स्थापना गरिसकेको छ भने भविष्यमा व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गर्नका लागि विभिन्न व्यावसायिक तालिमको आयोजना पनि गर्न लागेको छ । ‘हामीले आयोजना निर्माणसँगै स्थानीयबासीको जीवनस्तर उकास्नका लागि आयआर्जनका कार्यक्रम पनि अघि बढाएका छौँ,’ निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने ।
स्थानीयवासीलाई रोजगारमा पनि प्राथमिकता दिइएको र विशेष योजना अघि बढाइएको माथिल्लो तामाकोसी सञ्चालक समितिका अध्यक्ष एवं प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले बताए । राष्ट्रिय गौरवको आयोजना दोलखामा बनिरहेकामा सबै खुसी छन् । यसले जिल्लाकै आर्थिक आयआर्जनमा सहयोग पुग्ने सरकारी निकायको दाबी छ । राजधानी काठमाडौंबाट झन्डै २०६ किलोमिटर टाढा रहेको तामाकोसीमा सुरु गरेपछि यसले स्थानीय गाउँदेखि पूरै दोलखाबासीको आर्थिक उन्नतिका लागि सहयोग गरेको ऊर्जा सचिव हरिराम कोइराला बताउँछन् ।
पहिला जलविद्युत् आयोजना आएपछि गाउँका लागि हात्ती आयो, हात्ती आयो फुस्सा भन्ने कतिपय स्थानीयवासीसमेत जलविद्युत्मार्फत गाउँमा धेरै विकास भएपछि र आएपछि खुसी हुन थालेका छन् । ‘पहिला हिंडेरै आउन गाह्रो थियो, अहिले स्थानीयवासीले जलविद्युत्को महत्त्व राम्ररी बुझ्न थालेका छन्,’ आयोजनाका सहायक प्रबन्धक विमल गुरुङ भन्छन् ।

प्रतिक्रिया