‘गुणात्मक सहकारी आवश्यक’

सौर्य समाचार

काठमाडौं, ४  असार । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केशव भट्टराईले सहकारी संघ/संस्थाको संख्यात्मकभन्दा पनि गुणात्मक विकास गर्नु आजको अवश्यकता रहेको बताएका छन् ।
अन्य देशका तुलनामा नेपालमा स्थापना भएका संघ/संस्था धेरै भएको र यसलाई गुणात्मक विकास गर्न सहकारीकर्मीलाई अनुरोध गरे ।  आइतबार धुलीखेलमा केन्द्रीय सहकारी प्रशिक्षेण केन्द्रद्वारा आयोजित केन्द्रबाट भएको तालिम र भावी कार्यक्रम विषयक एक दिवसीय गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।
‘सहकारीलाई व्यवस्थित बनाउन आवश्यक छ,’ भट्टराईले भने, ‘नवगठित मन्त्रालय भएकाले सहकारी संघसँग छलफल गरी भावी कार्यक्रम अघि बढाउने छौँ ।’ भट्टराईका अनुसार सहकारी नीति, ऐनलगायतका विषयमा पनि सरोकारवाला निकायसँग छलफल भइरहेको छ ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी शिक्षालाई जोड दिनुपर्ने बताए । ‘सहकारीले देशको विकास गर्न सक्छ,’ रजिस्ट्रार न्यौपानेले भने, ‘यसकालाई राज्यले वातावरण निमार्ण गरिदिनु आवश्यक छ ।’
देशको ग्रामीण इलाकासम्म सहकारीको पहुँच पुर्‍याउनमा उनको जोड थियो । सहकारी क्षेत्रले राज्यलाई पुर्‍याएको योगदानबारे मूल्यांकन हुनुपर्नेमा पनि उनले जोड दिए ।
‘रेमिट्यान्सले देश धानेको छ,’ राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले भने, ‘सहकारी क्षेत्रलाई सशक्त बनाउन राज्यको भूमिका छ ।’ सहकारी प्रशिक्षण केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा बडालको जोड थियो । सहकारी शिक्षा, तालिममा राज्यले सहयोग गरे सहकारीद्वारा अन्य देशमा जस्तो ठूलो फड्को मार्न सकिने उनले बताए ।
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले केन्द्रबाट सञ्चालित कार्यक्रम र भावी योजना प्रस्तुत गरेका थिए । ‘प्रशिक्षण केन्द्रमा जनशक्ति कम छ,’ प्राचार्य अर्यालले भने, ‘यसले गर्दा सम्पूर्ण सहकारीकर्मीले शिक्षा तथा तालिम पाउन सकेका छैनन् ।’
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रबाट नाम परिवर्तन गरी राष्ट्रिय सहकारी प्रशिक्षण अनुसन्धान तथा विकास प्रतिष्ठान बनाउन सरोकारवाला निकायसमक्ष उनको आग्रह थियो । वैज्ञानिक पाठ्यक्रमको तर्जुमा गरी समयसापेक्ष शिक्षा तथा तालिम दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया