मनसुन ६ दिन ढिलो सुरु

काठमाडौं, ४ असार । साविक समयभन्दा ६ दिन ढिलो शनिबार रातिदेखि नेपालमा मनसुन सुरु भएको छ । बंगालको खाडीबाट आएको मनसुनी वायु बंगलादेश र भारतको बाटो पूर्वबाट नेपाल भित्रिएपछि देशको आधाजसो भूभागमा मेघ गर्जनसहित वर्षा भएको छ ।

बंगालको खाडीमा मनसुनी प्रक्रिया समयमै सुरु भए पनि मनसुनी वायु कमजोर भएकाले साविक समयभन्दा ६ दिन ढिला नेपाल भित्रिएको मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मनसुन कमजोर भएकाले साविक समयभन्दा ढिला नेपाल भित्रिएको हो,’ महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सौर्यसँग भने, ‘भारत ६ दिन ढिलो भित्रिएको मनसुन नेपाल भित्रिँदा पनि ६ दिन ढिलो भयो ।’ नेपालमा मनसुन सुरु हुने दिन अंग्रेजी मितिको १० जुन हो ।
महाशाखाले आइतबार बेलुका वेब–बुलेटिन निकालेर शनिबार रातिदेखि नेपाल भित्रिएको मनसुनको पहिलो २४ घन्टामा ताप्लेजुङमा ३०.४४, धनकुटामा १५, विराटनगरमा छिटफुट र काठमाडौंमा ७.४ मिलिमिटर वर्षा भएको जनाएको छ । पूर्वाञ्चल र मध्यमाञ्चलमा कहीँ मौसम फेरबदल र कहीँ वर्षा भइरहेको भए पनि पश्चिममा पोखराबाहेक अन्यत्र वर्षा भइसकेको छैन । केरला हुँदै १ जुनमा भारत भित्रिनुपर्ने मनसुन यो वर्ष ६ जुनमा मात्रै सुरु भएको थियो । त्यसैले नेपालमा पनि ६/७ दिन ढिलो मनसुन सुरु हुनसक्ने अनुमान महाशाखाले एक साताअघि नै गरेको थियो । भारत छिरेको मनसुन नेपाल आइपुग्न १० दिन लाग्छ । पूर्वी नाकाबाट छिरेको मनसुन सुदूर पश्चिमसम्म पुग्न एक साता लाग्छ । अझै पनि मनसुन कमजोर रहेकाले एक साता देशभर फैलिए पनि भारी वर्षा हुन केही समय लाग्ने महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो ४२ वर्षको तथ्यांकअनुसार यो वर्षको मनसुन २८औं ढिला मनसुन हो । गत वर्ष पश्चिमी वायुले मनसुनी वायु छेक्दा पाँच दिन ढिलो नेपाल भित्रिएको मनसुन सन् २०१० मा एक साता ढिलो र सन् २००९ मा १३ दिन ढिलो सुरु भएको थियो ।
सामान्यतया सुख्खायाममा जति बढी सुख्खा भएर जमिन तात्यो, मनसुन त्यत्ति नै छिटो भित्रिने र सक्रिय हुने गर्छ । मौसम विज्ञानका अनुसार जमिन तात्दा तलको हावा तातेर हलुका हुन्छ र माथि जान्छ । त्यसपछि तल्लो तहमा हावा कम भएर न्यूनचापीय क्षेत्र बन्छ । यसरी बनेको न्यूनचापीय क्षेत्रमा हावाको परिपूर्ति गर्न उच्चचापीय क्षेत्र बंगालको खाडी र इन्डियन ओसनदेखि मनसुनी वायु तेजले आउँदा नेपालमा वर्षा हुन्छ ।
महाशाखाका अनुसार नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मलाई मनसुन अवधि मानिन्छ । मनसुन अवधिभर नेपालमा औसत एक हजार एक सय २५ मिलिमिटर पानी पर्छ । मौसमको ४२ वर्षको इतिहासमा सबैभन्दा ढिलो मनसुन सन् १९८२ मा १७ दिन ढिलो गरी २७ जुनमा सुरु भएको र सबैभन्दा छिटो सन् १९९६ मा ३१ मेमा ११ दिनअघि नै सुरु भएको रेकर्ड छ । गत वर्ष औसतभन्दा बढी वर्षा भए पनि त्यसअघि सन् २००९ र २०१० मा दुवै मनसुनमा पर्याप्त पानी परेको थिएन ।

प्रतिक्रिया