जनजाति नेताहरूले बहिष्कार गर्ने

काठमाडौं, ४ असार । सोमबार सुरु हुने एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका असन्तुष्ट आदिवासी जनजाति नेता सहभागी नहुने भएका छन् । उपाध्यक्ष अशोक राईसहित केन्द्रीय कमिटीका झन्डै १२ जना सदस्य आºनो मुद्दाको सुनुवाइ पार्टीले नगरेको भन्दै भेला बहिष्कार गर्न लागेका हुन् ।
संविधानसभा विघटनपछिको नयाँ राजनीतिक परिस्थितिबारे कार्यकर्ताको सुझाव लिई धारणा तय गर्न सोमबारदेखि दुई दिन एमालेले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो । मुलुकको राजनीतिक तथा संवैधानिक संकटबारे राजनीतिक दृष्टिकोण तय गर्दै भेलाले प्रस्ताव पारित गर्ने कार्यक्रम छ । भेलामा संविधानसभा विघटनका कारण र त्यसपछि उत्पन्न परिस्थितिबारे अध्यक्ष झलनाथ खनालले प्रतिवेदन प्रस्तुत गर्ने पार्टीले जनाएको छ । केन्द्रीय कमिटीले दिएको सुझावसमेत समेटेर खनालले तयार गरेको राजनीतिक प्रतिवेदनलाई केन्द्रीय सचिवालयले अन्तिम रूप दिएको छ ।
एकल जातीय पहिचानका प्रदेश बनाउने मागसहित पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष राई, पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, अजम्बर राई काङमाङ, किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामा भने भेलामा सहभागी नहुने भएका छन् । एक सय १५ सदस्यीय केन्द्रीय कमिटीमा २६ सदस्य जनजाति र १५ मधेसी समुदायबाट छन् ।
‘हामीले पार्टी नेतृत्वलाई आºनो पत्र बुझाउँदा नै यसको सम्बोधन नभए पार्टीका गतिविधिमा सामेल हुँदैनौँ भनेका थियौँ,’ केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले सौर्यसँग भने, ‘पत्रमाथि कुनै सम्बोधन नभएकाले अन्तरपार्टी संघर्षको उच्चतम् रूपमा केन्द्रीय कमिटी बैठकमा नगएका हामी केन्द्रीय सदस्यहरू भेलालाई बहिष्कार गर्छा ।’
उनले भेला पार्टीको दृष्टिकोणबारे कार्यकर्ताको सुझाव लिने थलो भएकाले आफूहरूको उपस्थिति नभए पनि केही फरक नपर्ने बताए । ‘त्यहाँ केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक विचार प्रस्तुत हुन्छ र कार्यकर्ताले सुझाव दिन्छन्, हामीले बोल्ने भूमिका पनि हुँदैन,’ उनले भने, ‘सामूहिक निर्णयले भन्दा पनि स्वविवेकीय निर्णयले नै हामी केही साथी भेलामा नजाने भनेका हौँ ।’
एकल जातीय पहिचानसहितको प्रेदश बनाउन पार्टी नेतृत्व बाधक भएको र संविधानसभा विघटनमा दोषी रहेको आरोप लगाउँदै असन्तुष्ट नेताहरू केन्द्रीय कमिटी बैठकमा पनि अनुपस्थित रहँदै आएका थिए । केही नेताले यसअघि केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाए पनि उपाध्यक्ष राई, पोलिटब्युरो सदस्य गुरुङ, केन्द्रीय सदस्य श्रेष्ठ, चेम्जोङ, गुरुङ, राना, लामा र राई बैठकमा सहभागी भएका थिएनन् । भेलाको सूचनाका लागि पार्टी केन्द्रीय कार्यालयका तर्फबाट कार्यालय सचिव परशुराम मेघी गुरुङले गरेको टेलिफोन पनि उनीहरूले नउठाएको एमाले कार्यालय स्रोतले जनाएको छ । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका मधेसी नेताहरू रामचन्द्र झा र रघुवीर महासेठ भने केन्द्रीय कमिटीको पछिल्लो बैठकमा सहभागी थिए ।
उपाध्यक्ष राईले जनजाति नेताका तर्फबाट राज्य पुन:संरचना र नयाँ राजनीतिक निकासका लागि फरक मतसहितको नौबुँदे ज्ञापनपत्र पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए । स्थायी समिति बैठकले भने फरक मतलाई विधिअनुरूप छलफल चलाउन सकिने भन्दै असन्तुष्ट नेताहरूलाई काममा फर्कन आग्रह गरेको थियो ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन, लेखा, निर्वाचन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरू, केन्द्रीय विभाग र अञ्चल समन्वय कमिटी सचिवहरू, जिल्ला कमिटीका अध्यक्षहरू जनवर्गीय संगठनका अध्यक्ष, उपाध्यक्ष र महासचिव गरी ५ सय २६ जना सहभागी हुनेछन् । यसअघि केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाएका आदिवासी जनजाति पृष्ठभूमिका पोलिटब्युरो र केन्द्रीय सदस्य तथा तल्लो तहको जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता भने भेलामा सहभागी हुने भएका छन् ।

शेर्पालाई हटाएकामा विरोध

उपाध्यक्ष अशोक राईले नेपाल आदिवासी जनजाति महासंघका महासचिवसमेत रहेका पार्टीको सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टीबाट निष्कासन गर्ने निर्णय पूर्वाग्रही भएको भन्दै कारबाही फिर्ता लिन आग्रह गरेका छन् ।
उपाध्यक्ष राईले आइतबार विज्ञप्तिमार्फत स्पष्टीकरणको मौका नदिई पार्टीबाट निष्कासन गरिनु आदिवासी जनजातिका अधिकार प्राप्तिको आन्दोलनमाथिको पूर्वाग्रह रहेको जनाएका छन् । ‘स्पष्टीकरणको मौकासमेत नदिई आदिवासी जनजाति महासंघको महासचिवका हैसियतले दिएको अभिव्यक्तिप्रति लक्षित भई कारबाही गर्नु आदिवासी जनजाति र उत्पीडित समुदायको अधिकार प्राप्तिको गतिविधिमाथिको पूर्वाग्रह हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको यो निर्णय तुरुन्त सच्याउन म आग्रह गर्दछु ।’
राईले शेर्पामाथि गरिएको कारबाही फिर्ता लिन पनि पार्टीसँग आग्रह गरेका छन् । उपाध्यक्ष राई स्थायी समिति सदस्य रहे पनि ९ जेठदेखि पार्टीका कुनै पनि बैठकमा सहभागी छैनन् । शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले माओवादीले राजधानीमा आयोजना गरेको सभामा पार्टी नीति र पद्धतिविपरीत भाषण गरेको भन्दै साधारण सदस्यबाट समेत शेर्पालाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया