माओवादी सत्ताकब्जाकै रणनीतिमा : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी अझै सत्ताकब्जाको मानसिकताबाट मुक्त नभएको आरोप लगाएका छन् ।
पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले माओवादी सत्ताकब्जाको मानसिकताबाट पछि नहटेका कारण मुलुक अहिले राजनीतिक र संवैधानिक संकटमा फसेको आरोप लगाए । कोइरालाले माओवादी पार्टी फुट्ने कुरा रणनीतिक मात्र भएको दाबी गर्दै अरूलाई दबाब सिर्जना गर्ने र अल्मल्याउने चाल मात्र भएको दाबी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अझै विश्वास गर्ने आधार नभएको उल्लेख गर्दै भने, ‘माओवादी अब इमानदार र जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।’
वरिष्ठ नेता शेरबहादुर देउवाले कुरा एउटा, काम अर्को गर्ने माओवादी प्रवृत्तिका कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको आरोप लगाए । माओवादीका कारण मुलुकमा संकट आएको दाबी गर्दै देउवाले भने, ‘अहिले चुनाव हुने अवस्था छैन, माओवादीले जबर्जस्ती चुनाव गर्न खोजेका छन् ।’ देउवाले अहिले चुनाव हुन नसक्ने दाबी गर्दै संविधानका बाँकी रहेका विषयमा सहमति हुन सके निश्चित अवधिका लागि संविधानसभा ब्यँुताउनुपर्ने बताए ।
छलफलमा केन्द्रीय सदस्य गगन थापाले राज्य पुन:संरचनाका सन्दर्भमा संविधानसभामा कांग्रेसले लिएको अडान तथा निवर्तमान सभासद् रमेश लेखकले संविधानसभाभित्र कांग्रेसको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथिको छलफलमा कांग्रेस नेताहरूले आदिवासी जनजातिका साथै मधेसीको मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । केही मधेसी र जनजाति नेताहरूले पहिला कांग्रेस भएर मात्र आदिवासी जनजाति र मधेसी बन्नुपर्ने धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया