जनआन्दोलनको स्मारिका

हेटौंडा : जनआन्दोलन स्मारिका प्रकाशन समिति मकवानपुरले पाँच वर्षपछि जनआन्दोलन–०६२/०६३ मा मकवानपुरमा भएका आन्दोलनका घटनाक्रम समेटेर स्मारिका प्रकाशन गरेको छ ।
जनआन्दोलन २०६२–०६३ र मकवानपुरे आन्दोलन नाम दिइएको पुस्तकमा आन्दोलनमा मकवानपुरका गाउँगाउँमा भएका घटनाक्रम समेटिएका छन् । तत्कालीन समयमा मकवानपुरमा जनआन्दोलनको नेतृत्व गर्ने नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कांग्रेस (प्रजातान्त्रिक), जनमोर्चा नेपाल र नेकपा (एकीकृत)लाई संरक्षक बनाइएको स्मारिकामा जनआन्दोलनलाई माओवादीका तर्फबाट भएको सहयोगको विषय पनि समेटिएको छ ।
स्मारिकामा प्रदीप ज्ञवाली, टीकाराम भट्टराई, प्रताप बिष्ट, तेजबहादुर गोदार, इन्द्र नेपाल, रामकुमार एलन, युग पाठक, होम कार्की, कुशल प्रधान, मुनु सिग्देल, जनआन्दोलनका घाइते गोकर्ण तिवारी, केशवप्रसाद काफ्ले, खेम बोलखे, जीवन शर्मा,
महेशकुमार बर्तौला, एकराज उप्रेती, अशोक सारु मगर, शिवकुमार काशीलगायत सबै क्षेत्रका लेखकहरूका लेखरचना समेटिएको छ । मकवानपुरका सबै  ठाउँमा भएका आन्दोलनका झलक समेटेर पुस्तक तयार पारिएको सम्पादक वीरेन्द्रप्रसाद शाहले बताए । पुस्तक प्रकाशनका लागि आर्थिक स्रोत समयमा नजुटेका कारण प्रकाशनमा ढिलाइ भए पनि जनआन्दोलन– ०६२/०६३ मा मकवानपुरका सम्पूर्ण घटनाक्रम समेटिएको शाहले बताए । पुस्तक प्रकाशनमा तीन लाख ७७ हजार रुपियाँ खर्च भएको समितिले जनाएको छ । (सौस)

प्रतिक्रिया