‘प्रचण्ड र बाबुरामले क्रान्तिलाई धोका दिए’

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षबीचको विवाद चुलिँदै गएपछि प्रमुख सत्ताधारी दल एकीकृत माओवादी फुटको अन्तिम चरणमा पुगेको छ । संस्थापन पक्षले शुक्रबार काठमाडौंमा जनप्रदर्शन गर्‍यो भने वैद्य पक्षले डाकेको राष्ट्रिय कार्यकर्ता भेला शनिबारदेखि सुरु भएको छ । यही भेलाबाट वैद्य पक्षले नयाँ पार्टी गठनबारे अन्तिम निर्णय लिनेछ । माओवादीभित्रको यही विवादबारे भेलाका सहभागीसित रामशरण बजगाईले गरेको कुराकानी :

लेखनाथ न्यौपाने
पूर्वअध्यक्ष
अखिल क्रान्तिकारी

पार्टी आफ्नो वर्ग चरित्रबाट च्युत भयो । माओवादीको आफ्नो राजनीतिक अन्तरवस्तु सर्वहारा वर्गको प्रतिनिधि हुनुपर्ने हो । राज्यको चरित्र फेर्ने हाम्रो उद्देश्य हो, त्यो प्रचण्ड र बाबुरामहमले छोडे । हिजो खुलामञ्चको भाषण पनि मैले सुनेँ, पहिचानसहितको संघीयता नै हाम्रो उद्देश्य हो भनियो । तर, त्यो त एउटा अंश मात्र हो । आधारभूत तहका जनताको पहुँच राज्यमा कायम गर्ने उद्देश्यले नै कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले जनयुद्ध लडेका हौँ । यो भेलाबाट यही विषयलाई संश्लेषण गरेर पार्टीलाई सर्वहारा वर्गको पार्टी बनाउने काम हुन्छ ।
फुट अप्रिय हुन्छ, त्यो शक्तिको क्षयीकरण हो । तैपनि के हुन्छ भने विचार र कार्यदिशाको आधारमा को कता हुने भन्ने हुन्छ । पार्टीको कार्यदिशा के हुने, कुन वर्गको प्रतिनिधि हुने भन्ने महत्त्वपूर्ण कुरा हो । पार्टीमा फुट हुन्छ कि हुँदैन भन्ने महत्त्वपूर्ण कुरा होइन । एउटा कुन वर्गको प्रतिनिधि संस्था हो भन्ने थाहा नहुने अर्का सर्वहारा वर्गको प्रतिनिधि संस्था बनाउनुपर्छ भनेर लागिसकेपछि पार्टी एउटै त कसरी हुन सक्छ र ? एउटै हुन सक्दैन । कहिले हुन्छ बेग्लै कुरा हो तर फरक कार्यदिशा भएपछि एउटै पार्टी हुन सक्दैन । माओवादीले वर्ग संघर्षको लाइन छाडेको हुनाले पछिल्लोपटक जातीय मुद्दा प्रबल बनेर आयो । जातीय मुक्तिको कुरा सतहमा ल्याएर वर्गीय मुक्तिको कुरालाई ओझेल पार्ने काम भएको छ । विपरीत वर्गका प्रतिनिधिहरूबीच अनन्तकालसम्म सहमति हुँदैन । पार्टी नेतृत्व वर्ग संघर्षबाट च्युत भएर वर्ग समन्वयको बाटो हिँडेको प्रस्टै छ । त्यसैले भेलाले आफ्नो बाटो निर्धारण गर्छ ।

तारा थापा
सदस्य
लिम्बुवान (ताप्लेजुङ) राज्य समिति

पार्टीभित्रका समस्या हल गरेर कमजोरीहरू केके भइरहेका छन् त्यसलाई सच्याउन दबाब दिन यो भेला भएको हो । खरिपाटीदेखि पालुङटारसम्म आइपुग्दा कार्यदिशा कार्यान्वयन गर्नमा जुन समस्या आए त्यसको समीक्षा गर्ने हो । अनि नयाँ कार्यदिशा बनाउने काम यो भेलाले गर्छ । अब यही भेलाबाट पार्टीलाई कसरी क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढाउने भन्ने निक्र्याल गरिन्छ । यति ठूलो इतिहास पार गरेर हजारौँ सहिदको बलिदानी र बेपत्ता परिवारको पीडाले हुर्केको यो पार्टीको क्रान्तिकारी कार्यदिशामा प्रचण्ड र बाबुरामहरू पनि आउनुपर्छ । हजारौँ सहिद परिवार छन्, हजारौँ बेपत्ता परिवार छन्, लाखौँ सुकुम्बासी छन् । उनीहरूका समस्यासँग भागेर समाधानमा पुग्न सकिँदैन । भेलाले क्रान्तिकारी कार्यदिशा बनाइसकेपछि त्यसमा सहमत नभईकन धरै छैन । सहमत नभए कस्तो परिणाम आउँछ भन्ने त भविष्यले नै देखाउँछ ।

 

नन्दबहादुर बुढा
सदस्य
राज्य समिति

पार्टीको संस्थापन पक्ष भनाउँदो जुन पक्ष छ त्यो पार्टीको नीति र ट्रयाकभन्दा बाहिर गएको छ । हामीले बारम्बार सचेत गराउँदा पनि ऊ नियन्त्रणबाहिर गएको हुँदा मूल संस्थापन पक्ष हामी हो र हामी नै क्रान्तिका बाँकी काम पूरा गर्छाैं भन्ने संकेत यो भेलाले गर्नेछ । कार्यदिशा अलग भएपछि पार्टी एउटै हुन सक्दैन । त्यस्तो अवस्थामा मुलुक र जनताको सही प्रतिनिधित्व गर्ने क्रान्तिकारी नयाँ शक्तिको उदय हुन्छ । अहिले त्यसैको सम्भावना बढेर गएको छ । पहिले गरिब, सुकुम्बासीलाई घरजग्गा कब्जा गर भन्ने अनि पछि आफू सरकारमा पुगेपछि तिनै सुकुम्बासीलाई घरजग्गा छोडिदे भन्ने व्यवहारले पार्टी नेतृत्व सर्वहारा वर्गको पक्षमा छैन, यो अवसरवादी वाटोमा छ भन्ने पुष्टि भयो । त्यस्तै सरकारमा पुगेपछि जनमुक्ति सेनालाई पनि विसर्जन गरियो । उहाँहरूले भनेको के कुरा पूरा भएको छ र ? यो त जनजनले साधारण मान्छेले पनि बुझेको कुरा हो कि प्रचण्ड बाबुरामहरू पार्टीको लाइन छाडेर कांग्रेस एमालेभन्दा पनि दायाँतिर पुगिसक्नुभयो ।

महादीप पोखरेल
सदस्य
नेवा: राज्य समिति

प्रचण्ड र बाबुरामले जसरी नेपाली क्रान्तिलाई धोका दिए यो भेलाले प्रथमत: उनीहरूले गरेको त्यो गद्दारीको भण्डाफोर गर्नेछ । त्यसपछि नयाँ क्रान्तिकारी पार्टीको निर्माण, नयाँ कार्यदिशा र कार्यक्रमसहित अगाडि जाने बाटो तय गर्छ । सञ्चारमाध्यमले यसलाई पार्टीमा विभाजन आएको वा अरू के भनेर बुझ्छन् बुझुन् तर हामी यसलाई नयाँ क्रान्तिकारी पार्टी निर्माणको क्रम भनेर बुझिरहेका छौँ । प्रचण्डको पार्टी एमालेभन्दा पनि धेरै दक्षिणपन्थी भइसक्यो । हिजो हामीले दक्षिणपन्थी संशोधनवादमा गयो भन्यौँ, प्रचण्ड बाबुरामहरू त्योभन्दा पनि पर विदेशी प्रभु, विस्तारवादीको दलाली र चाकरी गरेर सरकारमा टाँस्सिइराख्ने र त्यो सरकारलाई पनि कब्जाको ढंग रचेर क्रान्तिकारी जनसमुदायलाई पनि भ्रममा राख्ने अत्यन्त पाखण्डपूर्ण बाटोमा ओर्लिएका छन् । भेलाले क्रान्तिकारी पार्टी निर्माण गर्ने पक्का हो र त्यसका लागि महाधिवेशन आयोजना गर्छ वा अरू नै केही बाटो तय गर्छ त्यो भने भेलाले निर्णय लिएपछि मात्र भन्न सकिन्छ ।

लालबहादुर सुसेली मगर
सदस्य
मगरात राज्य समिति

भेलाले पार्टीको कार्यदिशासम्बन्धी विवादलाई निकास दिनेछ । कागजमा एउटा कार्यदिशा तय गर्ने र व्यवहारमा त्योभन्दा बेग्लै गर्ने गरेकाले यो अन्तरसंघर्ष चुलिएको हो । अन्तिम चरणसम्म आइपुग्दा पनि कार्यदिशा अनुसरण गरेर ठोस ढंगले लागू गर्ने सम्भावना देखिँदैन । भेलाले संस्थापन पक्षलाई पनि क्रान्तिकारी कार्यदिशा ग्रहण गर्न दबाब सिर्जना गर्छ । प्रचण्ड, बाबुरामहरू दक्षिणपन्थी, संशोधनवाद हुँदै सुधारवादको बाटोमा हिँड्नुभएको छ । त्यसबाट उहाँहरूलाई फर्काउने र सकेसम्म क्रान्तिकारी पार्टीमै हिँडाउने प्रयास हुनेछ ।

 

केदार चौधरी
सदस्य
थरुवान राज्य समिति

शान्ति र जनसंविधानको कार्यदिशाकै निरन्तरतास्वरूप हामी अघि बढेका थियौँ । हामी शान्तिकै पक्षमा छौँ । तर, यसलाई पूरा हुन दिइएन । पार्टीभित्रै प्रचण्ड र बाबुरामहरू सुधारवादी बाटोमा हिँडे र विस्तारवादीको एजेन्ट बनेर देखापरे । हामी क्रान्तिकारी कार्यदिशा बनाएर माओवादीलाई जोगाउन चाहन्छौँ तर प्रचण्डहरू सुधारवादतिर लागिसकेका छन् । यी दुई कार्यदिशा सँगसँगै अब अगाडि जान सक्दैन । यस्तो अवस्थामा पार्टी विभाजन हुन्छ त नभनौँ तर प्रचण्ड र बाबुरामहरूसँग सम्बन्ध विच्छेद हुन्छ । हिजो जनतालाई जे सपना बाँडियो आज त्योभन्दा ठीक उल्टो बाटो हिँड्ने कुरा हामीलाई स्विकार्य छैन । आज प्रचण्डहरू महलमा बसेका छन् र उनीहरूले त्यो महल प्राप्त गरिसकेपछि क्रान्ति पूरा भयो भन्ने जुन कुरा गरिरहेका छन् त्यो नै जनताप्रतिको गद्दारी हो ।
जनताको पसिनाले बनेका महलमा प्रचण्डहरू बस्ने र क्रान्ति पूरा भयो भन्ने जनताचाहिँ भोकभोकै मर्ने जुन अवस्था छ त्यसबाट हामी पार्टीलाई बचाउँछौँ ।

प्रेम किराँत
सदस्य
लिम्बुवान राज्य समिति

भेलाले दक्षिणपन्थी संशोधनवादविरुद्ध क्रान्तिकारी कार्यदिशा निर्माण गर्छ । त्यो कार्यदिशा बोक्न प्रचण्ड र बाबुरामहरू तयार नभए नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्छ । प्रचण्ड र बाबुरामहरूले राष्ट्रिय भेलाले दिएको म्यान्डेट पूरा गर्न सक्नु भएको छैन । पार्टीको क्रान्तिकारी कार्यदिशालाई कार्यान्वयन नगर्ने मात्रै होइन, कार्यान्वयन गर्नै नचाहने प्रवृत्ति पनि हाबी भएको देखियो । उहाँहरू सुधारवादको बाटोतिर गइसक्नुभयो । यो भेलाले क्रान्तिकारी कार्यदिशा तय गर्छ, त्यसमा उहाँहरू आए ठीकै छ नभए क्रान्तिकारी पार्टी निर्माण हुन्छ ।

दीपक देवकोटा ‘अनुप’
सदस्य
ताम्सालिङ राज्य समिति

क्रान्तिकारी आन्दोलनका लागि निर्माण भएको पार्टी नेतृत्व अवसरवाद र गैरक्रान्तिकारी विजातीय प्रवृत्तिमा रहेकाले त्यसलाई पराजित गर्नु छ । र, क्रान्तिकारी आन्दोलनलाई संगठित गर्नु छ । अहिलेसम्म आउँदा प्रचण्ड बाबुराम दार्शनिक हिसाबले वर्ग समन्वयवादी, राजनीतिक रूपले राष्ट्रिय आत्मसमर्पणवादको बाटामा हिँडेका छन् । त्यसका विरुद्ध हामीले संघर्ष गरिरहेका छौँ । हामी संघर्षको उत्कर्षमा छौँ, अब यसलाई धेरै लम्ब्याउन पनि सकिँदैन । अन्तरसंघर्ष लम्ब्याउँदै जाँदा हामी आफैँ पुच्छरवादमा विलय हुन सक्ने र क्रान्तिकारी विचार समूह विघटन हुन सक्ने खतरा रहन्छ । त्यसैले हामी रूपान्तरणका लागि अन्तिम कोसिस गरिरहेका छौँ कि उहाँहरू रूपान्तरित हुनुहुन्छ । होइन भने हामी विद्रोह गर्छाैं र क्रान्तिकारी पार्टी निर्माण गर्छा । तर, अब अन्तरसंघर्ष लम्ब्याएर पुच्छरवादमा फस्ने अवस्थामा हामी रहन सक्दैनौँ ।

पार्वती थापा
सदस्य
तमुवान राज्य समिति

क्रान्ति बीचैमा टुंग्याउने खतरा उत्पन्न भएकाले हामीले भेला आयोजना गरेका हौँ । यो भेलाले क्रान्ति पूरा गर्ने रणनीतिक दस्ताबेज ल्याउँछ भन्ने मैले अपेक्षा गरेको छु । सिद्धान्त, कार्यदिशा र विचारमा फरकपना आएरै हामीले पार्टीभित्र संघर्ष चलाउँदै आएका थियौँ । किरण कमरेडले राख्नु भएको ६ बुँदे प्रस्तावमा सहमत भएर आउनुभयो भने पार्टी एकता हुन पनि सक्छ नभए एउटै पार्टी रहन्छ कि रहँदैन अहिले नै भन्न सकिँदैन । प्रचण्ड बाबुरामहरूले अहिले हाम्रो क्रान्ति यत्ति नै हो भनेर बुझ्नुभयो त्यो बुझाइ रहेसम्म पार्टी एउटै हुने सम्भावना हुँदैन । सरकारमा गएपछि उहाँहरूले क्रान्ति भयो भन्ने ठान्नुभयो । हामी त्यसलाई मान्न सक्दैनौँ ।

किसानसिंह गुरुङ
सदस्य
तमुवान राज्य समिति

पार्टीको कार्यदिशा स्पष्ट गरेर संगठन सुदृढ गर्ने काम यो भेलाले गर्छ । माओवादीलाई आफ्नो सिद्धान्तबाट विचलित हुन नदिने नयाँ कार्यदिशा तय गरेर पार्टीलाई अघि बढाउछौँ । पार्टीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई क्रान्तिको बाटोबाट विचलित भएको देखिएको छ । यस्तो विचलनको उपचार छिटै गर्नुपर्छ वा उपचार हुन नसके सही नीति र सिद्धान्तका आधारमा पार्टी निर्माण गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ र भेलाले पनि त्यही गर्छ । माक्र्सवादी सिद्धान्तलाई मान्ने हो भने र क्रान्तिलाई धोका नदिने हो भने यो भेलाले बनाउने कार्यदिशामा प्रचण्ड र बाबुरामहरू पनि आउनुपर्छ । उहाँहरू आउनुभएन भने क्रान्तिकारी पार्टी निर्माणको धार अघि बढ्छ र अधुरो नेपाली क्रान्तिलाई
यसले पूरा गर्छ ।

प्रतिक्रिया