मापदण्डविपरीत पुन:स्थापना केन्द्र

सुर्खेत, ३ असार । सुर्खेतका पुन:स्थापना केन्द्र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । लागुऔषध दुव्र्यसनीलाई पुन:स्थापना गर्ने उद्देश्यले सञ्चालित सास नेपाल पुन:स्थापना केन्द्र र भैरव युवा सशक्तीकरण एवं पुन:स्थापना केन्द्र मापदण्डविपरीत रहेको पाइएको हो ।

सरकारले लागुऔषधसम्बन्धी राष्ट्रिय नीति–०६३, लागुऔषध नियन्त्रणसम्बन्धी रणनीति–०६६ तथा लागुऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका–०६६ जारी गरेको छ । तर, पुन:स्थापना केन्द्रले कुनै पनि नीति तथा निर्देशिका पालना गरेका छैनन् ।
निर्देशिकाअनुसार पुन:स्थापना केन्द्रमा हेरचाह, उपचार र परामर्शका लागि चिकित्सक, मनोवैज्ञानिक, उपचार तथा परामर्श सहयोगी, स्वास्थ्य सहायक, मनोविज्ञ, अक्युपंचरिस्ट, ध्यान प्रशिक्षक, योग प्रशिक्षक, आयुर्वेद विज्ञ र नर्सको व्यवस्था हुनुपर्छ । सुर्खेतमा सञ्चालित केन्द्रहरूमा यी कुनै पनि व्यवस्था छैनन् ।
त्यसैगरी, पुस्तकालय, कम्प्युटर, खेलकुद, शारीरिक व्यायाम, योगाभ्यास, जिम, ध्यानका क्रियाकलाप सञ्चालन गर्न पर्याप्त ठाउँ भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा निर्माण गरिएका सबै मादपण्ड पूरा गर्न नसकिएको केन्द्र सञ्चालक स्विकार्छन् ।
स्थानीयस्तरमा सञ्चालित केन्द्रहरू आर्थिक रूपमा कमजोर भएकाले सरकारले निर्माण गरेको मापदण्ड पूरा गर्न नसकिएको सास नेपाल पुन:स्थापना केन्द्रका अध्यक्ष कुमार ढकालले बताए । सुर्खेतका एसपी गोविन्दराम परियारले जिल्लामा सञ्चालित पुन:स्थापना केन्द्रहरूले सरकारले निर्माण गरेको निर्देशिकाको न्यूनमात्रामा मापदण्ड पूरा गरेको बताए । उनले यसअघि प्रशासन र प्रहरीले अनुगमन गरी मादपण्डअनुसार निर्माण गर्न निर्देशन दिएको र केन्द्र सञ्चालकले पनि मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।
निर्देशिका पालना गर्न नसक्दा बन्द
यस्तै, सरकारले निर्माण गरेको लागुऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन सम्बन्धी निर्देशिका पालना गर्न नसक्दा वीरेन्द्रनगरमा सञ्चालित परिवर्तनशील पुन:स्थापना केन्द्र ६ महिनादेखि बन्द भएको छ ।

प्रतिक्रिया