जनविरोधीसँग सम्बन्धविच्छेद हुन्छः बैद्य

काठमाडौं, २ असार । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले पहिचान हराएको पार्टीमा बस्नुभन्दा नयाँ पहिचानसहितको पार्टी निर्माण अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन् ।
बौद्धस्थित शेर्पा सेवा केन्द्रमा देशभरीबाट २५ सय राज्य समितिको सहभागितामा शुरु भएको भेलाको उद्घाटनकार्यक्रममा उनले पार्टीहरु देश र जनताका निम्ती हुनुपर्नेमा हाम्रै नेताहरुले एमाओवादीलाई देश र जनताका विरुद्ध प्रयोग गरेकाले त्यो पार्टीमा रहिरहनुको कुनै औचित्य नहुने बताए ।
‘हाम्रो पार्टी नेतृत्व देश र जनताका विरुद्ध जानुभयो,’ उपाध्यक्ष बैद्यले भने, ‘हामी नयाँ पार्टी निर्माण गरेर आम जनतालाई एकतावद्ध गरेर जान्छौं ।’
प्रचण्ड, भट्टराईजीले पहिचानसहितको संघीयताविरुद्ध सम्झौता गरिसकेको बैद्यको आरोप छ । ८ प्रदेश र नाम सीमाङकनबिनाको ११ प्रदेशमा सहमति गर्नेले अहिले संघीयताका मसिया बनेको देख्दा आफूलाई अचम्म लागेको उहाँको भनाई थियो ।
शीर्ष नेताहरुले यो मुलुकलाई हाँक्न नसक्ने ठोकुवा गर्दै उनले भने, ‘यिनीहरु सत्तालिप्सामा डुबे, कांग्रेस, एमाले सत्ता छोड भन्ने हाम्रा नेता चाँही सत्ता नछोड्ने भन्ने यो सत्ता लिप्सा नभएर के हो त ?’
उपाध्यक्ष बैद्यले शान्ति प्रक्रियाका नाममा जनसेनालाई सिध्याउने काम एमाओवादीकै शीर्ष नेताहरुबाट भएको बताए । ‘त्यसपछि जनसेना पनि हरायो संविधान पनि हरायो’ उनको प्रष्टोक्ति थियो ।
कांग्रेस, एमालेसँग सम्झौता गरेर पार्टी नेतृत्वले क्रान्तिकारी पार्टीलाई सुधारवादी पार्टीमा बदल्ने काम गरेको समेत बैद्यले आरोप लगाए ।
भेलास्थल र करिव २ सय मिटर वरिपरि बैद्य समूहले स्वयंसेवक ब्युरो सुरक्षा व्यवस्थाका लागि खट्टाएको छ ।

प्रतिक्रिया