तपाईं, म र उपन्यास

उपन्यास लेख्ने रहर सानैदेखिको थियो । जब सञ्जीव उप्रेती र मैले कक्षा ६ मा हुँदा राक्षस राज्य, रत्न भवन, आतंक भन्ने तिलस्मी कथाका पुस्तकहरू पढ्यौँ त्यसले ठूला पुस्तक पढ्ने रुचि जगायो र आफैँलाई पनि लेखूँ लेखूँ लाग्न थाल्यो । सुरुमा हामीले कथाहरू लेख्न थाल्यौँ, एकअर्कालाई देखाउँथ्यौ र रमाउँथ्यौँ । विद्यालयमा हुने साहित्यिक कार्यक्रम नै हाम्रा साहित्यिक कृतिका अभिव्यक्तिका माध्यम थिए । कक्षा पाँचमा हुँदा हस्त परियार सरले सुरु गराएको लेखन अभ्यासले नै हामी यतातिर लागेका थियौँ ।
पहिला पहिला त्यस्तै तिलस्मी कथाहरू लेख्न खोजियो । त्यसका लागि ‘तोता मैनाका कथा’ ‘गुलवकावलीको कथा’ हरू पनि पढियो । पाठ्यपुस्तकभन्दा यस्तै बाहिरी पुस्तकहरूले हामीलाई तान्न थाल्यो । पुस्तक खोजी–खोजी र छानी–छानी पढ्ने बानी लाग्यो । पुस्तक पढेको कुरा भने नकारात्मक मानिन्थ्यो । उपन्यास पढ्नु भनेको फटाइँ काम गर्नुसरह थियो । उपन्यास पढेको चाल पाए सरहरूले चुरोट, खैनी खाने वा तास खेल्ने विद्यार्थीसरह व्यवहार गर्थे । हामीलाई पनि मनमनमा प्राय: डर भइरहन्थ्यो तर संजीवको घरमा प्रशस्त पुस्तक थिए, अंग्रेजी भाषाका बालउपन्यासका किताब संजीवकै लागि भनी मगाइएको हुन्थ्यो । त्यसैले हामीलाई घरमा उपन्यास पढ्न बन्देज थिएन । बाल उपन्यास पढ्दा पढ्दै अरू–अरू उपन्यास पनि हामी पढ्थ्यौँ । कत्ति किताब त डा. बा र आमाले नै हामीलाई पढ्न लगाउनुहुन्थ्यो ।
उपन्यास पढ्ने बानीले बिस्तारै लेख्ने रहर जगाउँदै गयो । संजीवले त सानैदेखि धेरैजसो अंग्रेजी उपन्यासहरू नै पढे । उनको अंग्रेजी भाषाको ज्ञान राम्रो थियो । मैले भने दार्जेलिङतिरबाट निस्किने प्रकाश कोविद, सुवास, आदिहरूले लेखेका नेपाली र गुल्सन नन्द, वेदप्रकाश काम्बोज, ओमप्रकाश शर्मा, रब्ने सफी, बिए, आदिहरूका सामाजिक तथा जासुसी उपन्यासहरू पढ्ने गर्थंे । ती उपन्यासहरूका प्रभावले प्रेमकथा तथा जासुसी कथाहरू लेख्न खोज्थेँ । जे होस् म बिस्तारै लेख्नतिर ढल्किँदै गएँ । कथा, कविता सँगसँगै उपन्यास लेख्ने क्रममा मैले प्रायश्चित, कर्मको फल, शीला, आदि विभिन्न शीर्षकको पन्ध्रवटा जति उपन्यास लेखिसकेको थिएँ २०४२ सालसम्ममा तर लेखे पनि तिनलाई छपाउने आँट थिएन ।
०५० देखि एउटा नयाँ पाराको उपन्यास लेख्न थालेँ । पछि त्यसको शीर्षक शरणार्थी भयो । त्यो ०५६ मा छापियो । त्यही नै मेरो पहिलो प्रकाशित उपन्यास हो । उपन्यास लेख्ने सिलसिलामा तयार भएका प्रकाशन हुन बाँकी पन्ध्र उपन्यास त्यत्तिकै बाकसमा थन्किएका थिए । जनयुद्धको लहर चल्न लाग्यो र त्यसका अनेकौँ प्रभावहरू आउन थाले, त्यसलाई उपन्यास बनाउने विषयको खोज गर्न थालेँ, यस्तै बेलामा मेरा एकजना साहित्यिक मित्र माधवसँग वीरगन्जको एउटा साहित्यिक कार्यक्रममा लामो एकान्त वार्ता भयो, त्यसबेला उहाँले आºनो अनुभव बताउने क्रममा स्कुलको प्र.अ. भएको नाताले माओवादीहरूको अपहरणमा परेको साह्रै मार्मिक संस्मरण सुनाउनुभयो । त्यो यति कारुणिक थियो कि त्यसलाई लेख्नुपर्छ जस्तो लाग्यो । तत्कालै मैले उहाँलाई भने, ‘तपाईं लेख्नोस् न यस बारेमा ।’
उहाँले त्यो तात्तातो परिस्थितिमा लेख्ने आँट गर्नुभएन । मैले भनेँ– त्यसो भा मलाई लेख्ने अनुमति दिनु हुन्छ त ? उहाँले अनुमति दिनु भो । त्यसपछि त्यस कथालाई उपन्यास बनाउने क्रममा मलाई अरू कुराहरूको पनि आवश्यकता भयो । कथावस्तुलाई गति दिने विषयको खोज गर्ने क्रममा ०४० सालमै लेखेर थन्काएको ‘तपाईं’ उपन्यासको पाण्डुलिपि झिकेँ र पढेँ । त्यसमा सडकछाप पात्रहरूका असंख्य कथाहरू थिए । सोचेँ माओवादी आन्दोलनले उठाएका आवाजहरूसँग ती पात्रहरूको पीडा मिल्न खोज्दथ्यो । माओवादी आन्दोलनको पक्ष–विपक्षसँग भन्दा पनि सीमान्तीकृत अवस्थामा पुगेका मानिसभित्र उठ्ने विद्रोहबारे अध्ययन गर्दै पुनर्लेखन गर्न लागेँ । उपन्यासको आधासम्ममा पनि कथाले राम्ररी प्रवेश पाउन सकेन । विभिन्नखाले छलफल र पात्र, पाठक र लेखकबीचका द्वन्द्वहरू प्रस्तुत हुँदै गए । ७२ पृष्ठदेखि उता लागेपछि मात्र कथाले एउटा स्वरूप लिन सकेको छ ।
‘तपाईं’ उपन्यासमा उल्लेखित सबै सडक छाप पात्रहरू झापाको शनिश्चरे बजारमा भेटिएका हुन् । ती प्राय: सबै अब त बितिसकेका छन् । कालीकी आमाको फोटो त शरणार्थी उपन्यासको कभर पृष्ठमै राखिएको थियो । लम्फरे, मंगल हजाम, सिन्डरे बूढा, नीरे, काली, भगी सबै त्यस बजारका गहनाजस्ता थिए । रामे बोकाको त कथै बेग्लै थियो । यी कतिपयको चर्चा मैले आधाबाटोमा गरेकै छु ।
दोस्रो पुरुष नायक रहेको ‘तपाईं’ंमा समाजको त्यो वर्गको चित्रण गरिएको छ, जुन यथार्थमा वर्ग नै होइन, किनभने त्यो तहका मानिसहरूको कुनै संगठन नै हुँदैन । संगठनले मात्र हक अधिकारको माग गर्न सक्छ र प्राप्त पनि गर्छ, असंगठित समाज सधैँ असमाजकै अवस्थामा रहन्छ । ‘तपार्इं’ उपन्यासमा उल्लेखित असमाजबारे कुरा उठाएर मैले सोचेको थिएँ, यसबारेमा कुनै चर्चा होला तर तिनकाबारे पाठक, समालोचक, समाजशास्त्री खासै कसैको ध्यान तानिएजस्तो लागेन । पागल, अर्ध पागल, भिखारी, बेवारिसे गर्भवती, खाते बालकहरूको स्थितिको चित्रण गरिएको छ भने मान, इज्जत र सम्मानका सीमाले नदेखेको समाजसँग भेट गराउन खोजिएको छ । माओवादी जनयुद्धको क्रममा छापामारहरूका तर्फबाट हुने गरेका लापरबाही र त्यसको कारणबाट दु:ख पाउनेहरूको विम्बका रूपमा अपहरित प्रअको जीवन्त कथा पनि छ । मानिसभित्र लुकेर रहेका आतंक, त्रास, भावुकता, प्रेम र मानवताको संयोजन पनि छ यसमा ।
यो मेरो प्रकाशित ६ उपन्यासमध्ये सबभन्दा कम चर्चा पाएको कृति हो । तर, मैले उत्तिकै मेहनत गरेर, मन पराएर लेखेको पुस्तक हो यो । ‘तपाईं’लाई आजको सीमान्तीकृत, सबाल्र्टनको चर्चाले धुरी छोएको बेला यो उपन्यासभन्दा केहीअघिको ‘राधा’ उपन्यासको बाक्लो छाया परेको र त्यसपछिको ‘टुँडाल’ ले छोपेको हो कि भन्ने लागेको छ । आºनै किताबले आºनै किताबमाथि पारेको छायामा ठिंग्रिएको देखिन्छ ‘तपाईं’ । मलाई भने आफूले लेखेमध्येका प्रयोगका हिसाबमा विशेष र विषयवस्तुको हिसाबमा सामान्य रहेको सुन्दर कृति लाग्छ । छोटोमा भन्नु पर्दा ‘तपार्इं’ उपन्यास आजको नेपालको सबभन्दा पछिल्लो तस्बिर हो । आगे पाठकको आँखामा…।

प्रतिक्रिया