आगलागीमा वृद्धको मृत्यु

नेपालगन्ज, २ असार । बाँकेको इन्द्रपुर–८ रम्भापुरमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घर ध्वस्त भएका छन् ।

बिजुली सर्ट भई सुरु भएको आगलागीबाट शुक्रबार ७० वर्षीय भल्लर कहारको मृत्यु भएको हो । आगलागीका कारण ३० वटा पक्कीसहित ८० भन्दा बढी घर जलेर ध्वस्त भएका छन् । दिउँसो २ बजे सुरु भएको आगलागी बेलुका ७ बजेपछि मात्र नियन्त्रणमा आएको । पानी र दमकल अभावका कारण आगो नियन्त्रण गर्न समस्या परेको निमित्त सिडिओ चक्रपाणि पाण्डेले बताए । पाण्डेका अनुसार आगलागीबाट अन्य तीन महिला घाइते भएका छन् । आगो नियन्त्रण गर्न भारतको बहराइचबाट दमकल बोलाइए पनि पानी अभावमा उसले आगो निभाउन सकेको थिएन ।
बाँकेकै राप्तीपारि मटैयामा पनि आगलागी भएपछि नेपालगन्जमा भएको दुइटा दमकलमध्ये काम लाग्नेचाहिँ बिहानै त्यसतर्फ पठाइएको थियो । नेपालगन्जमा भएको अर्को दमकल काम नलाग्ने भएपछि भारतको बहराइचस्थित पुलिस फायर सर्भिस बहराइचको दमकल बोलाई आगो नियन्त्रण गर्ने कार्य भएको थियो ।
‘राम्रो दमकल बिहानै मटैया पठाइयो । उता पनि आगलागी भएको रहेछ,’ बाँकेका प्रहरी नायब उपरीक्षक उदय तामाङले भने, ‘बिग्रिएको दमकलचाहिँ यहाँ थियो, त्यसले कामै गरेन ।’
स्थानीय बासिन्दा र प्रहरीको टोलीले बाल्टिनबाट पानी ओसारेर आगो निभाएका थिए । आगलागीबाट तीनवटा बाख्रा लगायत घरपालुवा जनावर पनि मरेका छन् ।

प्रतिक्रिया