‘पुजारी र धर्मभीरुहरू अर्चना लेखिरहेका छन्’

हिजोआज के लेख्दै हुनुहुन्छ ?
गीत, कविता र लेखहरू लेखिरहेको
छु । यसबाहेक भूमिका लेखनमा पनि समय बितिरहेको छ ।
तपाईं त ‘होलटाइमर कवि’ होइन ?
जागिर खाएको छैन, समय लेखनमै लगानी भइरहेको छ । खै, अब के भन्ने ? ‘होलटाइमर कवि’ नै त होला नि फेरि कविता नै लेखेर बाँच्न त गाह्रो छ । बाँच्नका लागि सानातिना खात्र्याक–खुत्रुक कामहरू गर्छु ।
ठ्याक्कै भन्नुहोस् न, कवि श्रवण मुकारुङ कसरी बाँचिरहेको छ ?
संजोगले पनि बाँचिदोरहेछ । अरू काम गरेको छैन, अरू नगरेपछि लेखेरै बाँचिरहेको छु भन्नुपर्छ । केही न केही लेख्ने अवसर जुटिरहन्छ । कहिले पुरस्कार पाइन्छ त, कहिले एकल कविता वाचनका अवसर त्यताबाट पनि आम्दानी भइरहेको छ । यसरी नै पो बाँचिरहेको छु हौ ।
लेखेरैचाहिँ कति कमाइ हुन्छ त ?
कविता छापेर वा कविताका पुस्तक छापेरभन्दा बढी एकल वाचन र पुरस्कारबाट बढी कमाइ भएको छ । कमाइकै कुरा गर्दा कविताभन्दा बढी गीतबाट हुन्छ, एउटा गीतको पाँच हजारभन्दा बढी नै पाइरहेको छु ।
‘होलटाइमर कवि’को दु:ख के हो ?
मलाई समाजले कसरी हेर्छन् ? भन्ने एउटा शंका सधैँ रहिरहन्छ । अरू सबै जागिर वा अरू व्यवसायमा हुन्छन् । कविता लेखन व्यवसाय नभनिरहेको अवस्थामा कहिलेकाहीँ ‘कन्फिडेन्ट लुज’ हुन्छ । आफैँप्रति अविश्वास पनि हुन्छ । अर्कोचाहिँ नियमित आम्दानी नभएपछि व्यावहारिक कठिनाइ हुन्छ । तर, योचाहिँ ‘सेकेन्डरी दु:ख’हरू हुन् ।
सुख पनि त हुन्छ होला नि ?
सधैँ बिन्दास भएर पनि हिँडिन्छ । कवि भएर हिँड्नु ‘जोक’ कुरा होइन नि । कवि मात्रै भएर हिँड्न जोकोहीले चाहेर पनि सक्दैन । कवि मात्रै भएर बाँच्ने अवसर जोकोहीले पाउँदैन । यो त एउटा ठूलो अवसर पनि हो । मजा पनि छ यसमा ।
अभाव कतिको खप्दै र खेप्दै हुनुहुन्छ ?
जीवन बाँच्नेचाहिँ कला पनि हो । मेरो कुन स्तरको आम्दानी छ, मैले त्यसलाई कसरी समायोजन गरेर बाँच्नुपर्छ ? यसप्रति हामी सबै जानकार हुन्छौँ । त्यसलाई बाँच्ने कलासँग जोडेर हेर्नुपर्छ । दिनमा दुई सय कमाउने श्रमिकले पनि चारजनाको परिवार पालेर यही काठमाडौंमा बसिरहेका छन् । भयनाक दु:ख र बिपत्तिहरूसँग जुधेर बाँच्ने कला करिब दुई करोड बढी नेपालीहरूसँग छ । म पनि त्यही देशको नागरिक हुँ, उसैगरी बाँचेको छु । आमनेपालीको दु:ख र मेरो दु:ख उस्तै हो ।
कविताबाटै सबैभन्दा बढी आम्दानी कहिले गर्नुभएको थियो ?
हङकङमा भएको मेरो एकल कविता वाचनबाट । हङकङ खाली हात गएको थिएँ, कविता पढेर नेपाल फर्किंदा करिब तीन लाख रुपियाँ थियो मेरो हातमा ।
तपाईंलाई बढी मोह ‘कवि श्रवण मुकारुङ’ प्रति छ कि ‘गीतकार श्रवण मुकारुङ’ प्रति ?
कविताबाट पाउने उचाइ पनि पाइसकेँ, गीतबाट पाउने लोकप्रियता पनि पाएँ । दुईमा एक रोज्न अलि अप्ठ्यारै हुन्छ । आत्मसन्तुष्टिको हिसाबले चाहिँ कवितामै अलि अगाडि छु । हुन त गीत पनि कविताकै एउटा पाटो । तर, गीतमा भन्दा अलि बढी कवितामै सफल भएँ कि भन्ने भ्रम छ मलाई ।
‘बिसे नगर्चीको बयान’ कविता खुबै चर्चामा आयो, तर त्यसले तपाईंका अरू राम्रा कविता ओझेलमा पार्‍यो भन्ने लाग्दैन ?
अरू धेरै पाठक र कविहरूले मलाई यसो भने । पाठकले भनेको त ठीकै होला । तर, कविहरूको भनाइमा चाहिँ मैले शंका गरेको छु । त्यो कविता बढी नै लोकप्रिय भएकाले पूर्वाग्रहबस पनि भनिएको हुन सक्छ । किनभने, उनीहरूको कुनै पनि कविता त्यतिधेरै लोकप्रिय भएनन् । तर, मेरो दृष्टिकोणमा चाहिँ कुनै पनि चिज त्यसै लोकप्रिय हँुदैन, त्यो मेरो कविता उत्कृष्ट थियो र न चर्चा भयो ।
यतिबेला श्रवण मुकारुङ चर्चित भइरहेको हो कि, उसको सिर्जना ?
सिर्जनामा लागेको करिब तीस वर्ष भएछ । हिजो सिर्जनामा लाग्दा मेरो केही पनि र केही पनि थिएनन् । अरूहरूको जस्तो न मेरो माथिबाट तान्ने थियो, न त तलबाट ठेल्ने नै । ठूला–ठूला होडिङ बोर्ड झुन्डाउने पैसा पनि थिएन, न त विज्ञापन छाप्ने पैसा नै थियो मसँग । मेरा बाउबाजे ठूला साहित्यकार वा शक्तिमा भएका नामुद मान्छे पनि होइनन् । भोजपुरको सुदूर गाउँबाट एकदमै सामान्य मान्छे हुँ । यसकारण मलाई बनाएको मेरो रचनाले नै हो भन्ने लाग्छ । यदि मेरो नाम चर्चामा रहेछ भने त्यो मेरो रचनाको शक्तिले नै हो ।
‘श्रवण मुकारुङ अलमलमा छ, कहिले प्रस्ट बाटो देखाउँदैन’ भन्ने आरोप लगाउनेहरू पनि छन् नि, उनीहरूलाई के भन्नुहुन्छ ?
यस्तो आरोपचाहिँ अर्चना लेख्नेहरूले लगाउने हो । नेपाली साहित्यको परम्परा पनि अर्चना लेखनको छ । नेपालको पहिलो कवि सुवानन्द दासले कविता लेखन अर्चनबाट सुरु गरे । उनले पहिलो कविता पृथ्वीनाराण शाहमाथि लेखे । राणाकालमा लेखनाथहरूले राणाहरूलाई महान् बनाएर लेखे, पञ्चायतकालमा पञ्चायत र राजा महेन्द्रलाई महान् बनाएर लेखे । प्रजातन्त्र आएपछि बिपीमाथि लेखे । त्यसपछि मदन भण्डारीमाथि लेखे । अहिले प्रचण्डमाथि लेखिरहेका छन् । उनीहरू असल कवि होइन पुजारीहरू हुन् । उनीहरूले कविता होइन केवल अर्चना लेखे । त्यो पूजापाठ हो उनीहरूको । म उनीहरूलाई धर्मभिरु भन्छु । पुजारी र धर्मभिरुहरू अर्चना लेखिरहेका छन् । पुजारी मानसिकता भएकाहरूले नै श्रवण मुकारुङसँग दर्शन र विचार छैन भन्ने हो ।
समाज र जीवनप्रति जति तटस्थ भएर लेख्न सक्यो, त्यति राम्रो कविता बन्छ, ऊ त्यति सफल कवि हुन्छ । एकातिरबाट प्रभावित भएर लेख्न थालेपछि ऊ झोले कार्यकर्ता बन्छ, कवि बन्दैन । तर, हाम्रो नेपालको कविता परम्परा यस्तै छ । यही परम्पराबाट आएकाहरूले भन्ने हो । मान्छेको जिन्दगी जति बहुआयमिक छ, उसका चिन्तनका प्रक्रियाहरू पनि बहुआयामिक हुनुपर्छ । सधैँ एउटै मान्यतामा रहेर लेखिरहनु त जडता हो ।
लेखकहरूको आ–आफ्नै गुट र समूह छन्, तपाईंको गुटचाहिँ कुन हो ?
बुद्धको कुनै गुट थिएन र बुद्ध भए । फेरि बुद्धलाई पछ्याउनेहरूको ठूलो गुट । फेरि उनीहरू बुद्ध हो त ? होइन नि । गुटमा लाग्नेहरू असलमा पहिलो कवि होइन । जो गुटमा लाग्छन् उनीहरू कमजोर हुन्छन् । मेरो गुट छैन तर मलाई मन पराउनेहरू छन् । मलाई यसमा सन्तोष छ ।
कवितामा बढी कुतर्क हुन्छन् भनिन्छ नि, तपाईंचाहिँ कत्तिको कुतर्क गर्नुहुन्छ ?
कविता शास्त्रीय तर्कहरूको विपक्षमा हुन्छ । नयाँ सम्भावना र शक्तिहरूको खोजी गर्छ । संसारको सबैभन्दा उत्कृष्ट तर्क नै कविता हो । कवितामा तर्कहरूको पनि निचोड हुन्छ । हजारौँ तर्कहरूको संश्लेषणबाट आएको सबैभन्दा
उत्कृष्ट तर्क नै कविता हो । त्यस्तै कविताहरू महावाणी भएका होइनन् । कविता अन्तिम र उत्कृष्ट तर्क हो ।
कविता आवेगले लेख्नुहुन्छ कि विवेकले ?
दुवैको उचित समायोजनपछि कविता जन्मिन्छ । तर, हृदय र मस्तिष्क भन्ने चिज फरक–फरक कुरा होइन । तपाईंलाई हृदयले विचारशील बनाउँछ, हृदयलाई हृदय छ भन्ने भावुकता विचारले उत्पन्न गराउँछ । लेखनमा हृदय र दिमाग दुवैको उत्तिकै भूमिका र सहभागिता हुन्छ ।
तपाईंको लेखन आकस्मिक हुन्छ कि, योजनाबद्ध ?
विषय फुर्‍यो भनेर एकैचोटि कापीमा लेख्दिनँ । दिमागभित्र पूर्णरूपमा सेट भइसकेपछि मात्रै उतार्छु । लेखिसकेपछि आवश्यकताअनुसार एक–दुईपल्ट पुनर्लेखन गर्ने चलन छ मेरो ।
उपन्यासले बजार पिटिरहेको छ तपाईंलाई चाहिँ उपन्यास लेख्ने झोँक चलेको छैन ?
आखिर विधा मात्रै फरक हो, भन्ने कुरा उही हो । अझ काव्य भनेको त सबैभन्दा उत्कृष्ट विधा हो । सबै दार्शनिकहरूले काव्यलाई सबैभन्दा सर्वोत्तम विधा भनेका छन् । उपन्यासबाट भन्ने कुरा र दिने सन्देश कविताबाट पनि दिन सकिन्छ । एउटा सुन्दर कवितामा एउटा सुन्दर कथा पनि हुन्छ । समाज र जीवनलाई हेर्ने निष्कर्ष कवितामा पनि पाइन्छ । उपन्यासबाट पनि भन्ने त्यत्ति हो । भन्ने कुरा कविताबाटै भन्न पाएपछि उपन्यास किन लेख्नु ?
कविको जिन्दगीमा मदिरा र महिलाले खुबै
प्रभाव रहन्छ रे, तपाईंलाई कति प्रभावित गरेको छ ?
पहिलेका कविहरूका त्यस्ता किस्सा मैले पनि सुनेको छु । तर, तपाईंले भनेजस्तो गरी मेरो हकमा चाहिँ महिलाको हस्तक्षेप छैन । जहाँसम्म मदिराको कुरा छ मदिराले एउटा किरातीको छोरालाई प्रभाव नपार्ने कुरै भएन ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया