भत्कीएकै स्थानबाट सहमति खोजौः दाहाल

काठमाडौं, १ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको निकासका लागि सहमतिको विकल्प नरहेको जनाउदै भत्कीएकै स्थानबाट सहमतिको निकास खोज्नुपर्ने बताएका छन् ।
उनले सहमतिका लागि कांग्रेस, एमालेका शीर्ष नेताहरुलाई सहमतिका लागि अपील पनि गरेका छन् । ‘सुशील कोइराला, झलनाथ खनाल, माधवकुमार नेपाललगायत जी आउनुस सहमति गरौं,’ उनले भने, ‘म तपाईहरुलाई सहमतिका लागि अपील गर्छु ।’ उनले त्यसका लागि आफूले पहल शुरु गरेको बताए ।
काठमाडौंको खुल्ला मञ्चमा आज सभालाई सम्बोधन गर्दै उनले नयाँ संविधान संविधानसभाबाटै जारी हुनुपर्ने बताए । अध्यक्ष दाहालले नयाँ संविधान जारी गर्ने विधि र प्रक्रियाका बारेमा छलफल गर्न तयार रहेको उल्लेख गरे ।
‘दलहरुका वीच सहमति जिरोबाट नगरौं,’ उनले भने, ‘जेठ–१४ गते जहाँबाट सहमति भत्कीएको थियो, त्यहीबाट निकास खोजौं ।’
सभा बहिष्कार गरेको बैद्य समूहलाई पार्टी एकताका लागि आउन आह्वान गरेका दाहालले बैद्य समूहका मुद्धामा छलफल गर्न तयार रहेको बताए । उनले भने, ‘नेतृत्व परिवर्तन गर्न पनि तयार छौं ।’
ठूलो पार्टीको हैसीयतमा आफू सहमतिमा मुलुकलाई निकास दिन लागेको बताएका दाहालले मुलुकमा हुन लागेको महाभारत रोक्ने प्रयास गरिरहेको बताए । उनले भने, ‘म महाभारत रोक्न लागेको छ, यदि कसैले सहमति गर्न मानेन भने यो महाभारतको तयारी नबनोस ।’
आफूले बोलेक कुरालाई मिडियाले बङगाएर लेख्ने गरेको आरोप लगाएका अध्यक्ष दाहालले नेपाली सेनाका बारेमा पत्रपत्रिकाले भने जस्तो केही नबोलेको स्पष्ट पारे । उनले भने, ‘केही व्यक्ति र समूहका कारण आएका समाचारले नेपाली सेनालाई विज्ञप्ती जारी गरेर खण्डन गर्न बाध्य बनाईयो ।’
कांग्रेस, एमाले तथा राप्रपा नेपालले खुल्ला मञ्चमा गरेका सभालाई ब्याङग गरेका अध्यक्ष दाहालले आफूहरु अझैपनि ठूलो शक्तिका रुपमा रहेको दाबी गरे ।

प्रतिक्रिया