एमाओवादीद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं, १ असार । संविधानसभा विघटन र संघीयता लगायतका विषयमा जानकारी गराउन सत्तारुढ एमाओवादीले आज राजधानीमा प्रदर्शन गरेको छ ।
काठमाडौंको खुल्ला मञ्चमा भएको सभामा उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । विभिन्न स्थानबाट आएका कार्यकर्ताले खुल्लामञ्च खचाखच भरिएको एमाओवादीले जनाएको छ ।
यद्यपी एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह भने सभामा सहभागी भएन । खुल्ला मञ्चमा सभा जारी रहदा बैद्य समूहको बैठक कुपण्डोलमा जारी थियो । शनिबार बैद्य समूहको भेला काठमाडौंमा हुँदैछ ।
सभामा धारणा राख्दै उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले २०४७ सालको संविधान ब्युताउन कांग्रेस र एमालेलगायतका दलहरु लागेको आरोप लगाए । पुरानो संविधान व्युताउनकै लागि राष्ट्रपतिलाई उचाल्ने गरेको भट्टराईको आरोप थियो ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाको विघटन गरेर जातीय पहिचान सहितको संघीयतमा कांग्रेस र एमालेले अबरोध गरेको आरोप लगाए । ‘कांग्रेस र एमालेका कारण मुलुकमा संविधान बन्न नसकेको हो,’ उनले भने, ‘संविधान जारी नहुने भएपछि नयाँ निर्वाचनमा जान कांग्रेस र एमालेले सहमति जनाएका छन् ।’
सभामा धारणा राख्ने एमाओवादी र जनजाति नेताहरुले कांग्रेस र एमालेको चर्को आलोचना गरेका थिए । उनीहरुले कांग्रेस र एमालेकै कारण एकल जातीय पहिचना सहितको संघीयता र संविधान बनाउन नदिएको दाबी गरे ।

प्रतिक्रिया