कांग्रेस एकता बैठक चार गते

काठमाडौं, १ असार । बरिष्ठ नेता शेरबहादुर देउवाका माग पुरा भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको एकता बैठक बस्ने भएको छ ।
देउवा समूहको माग पुरा भएपछि विगत चार महिनादेखिको विवाद अन्त्य भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको बैठकले देउवा समूहले भातृसंगठन पुनःगठन गर्न गरेको प्रस्तावलाई सामान्य छलफल गरेर स्वीकृत प्रदान गरेको हो ।
‘वरिष्ठ नेता शेरबहादुर देउवाजीका माग पुरा भएका छन्,’ केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘अब चार गते एकता बैठक बस्छ ।’
औपचारिकतामा मात्रै सीमित भएको आजको केन्द्रीय समितिमा आन्तरिक विवाद समाधानका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सामान्य छलफल भएको केन्द्रीय सदस्य गिरीले बताए ।
असार ४ गते दिउँसो १ बजे वरिष्ठ नेता देउवा समूह सहितको संयुक्त एकता बैठक बस्ने छ ।
नेपाल विद्यार्थी संगठन, नेपाल तरुण दल र महिल संघ लगायतका भातृसंगठनहरु सभापति सुशील कोइरालाले विघटन गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाएपछि देउवा समूह असन्तुष्ट भएको थियो ।
सभापति कोइरालाले आज तीन भातृसंगठनहरुमा देउवा समूहका सदस्य थप गरेर पुनःगठन गरेपछि विवाद अन्त्य भएको कांग्रेस नेता गिरीको भनाई छ ।

प्रतिक्रिया