सरकारले निर्वाचन आचारसंहिता पालना नगरेकोमा आयोग रुष्ट

काठमाडौं, १ असार । संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरिसकेको एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ । सरकारले निर्वाचन आचारसंहिता पालना नगरेपछि असन्तुष्ट बनेको निर्वाचन आयोगले पुन: सरकारलाई पत्र पठाई आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले बुधबार मुख्यसचिव माधवप्रसाद घिमिरेलाई पत्र पठाई आचारसंहिता पालनाका लागि सरकारको ध्यानाकर्षण गराएको हो । २४ जेठमा नै आयोगले आचारसंहिता जारी गरिसकेको स्मरण गराउँदै सरकारले त्यसविपरीतका गतिविधि जारी राखेको पाइएको पत्रमा उल्लेख गरेको छ ।
आयोगले आचारसंहिता पालना भए/नभएको अनुगमन गर्न आयोगका आयुक्त डा. अयोधीप्रसाद यादवको संयोजकत्वमा पाँचसदस्यीय समितिसमेत गठन गरिसकेको जनाएको छ । अनुगमन समितिमा आयोगका सचिव शंकरप्रसाद कोइराला, कानुनसचिव भेषराज शर्मा, नायव महान्यायाधिवक्ता पुष्पराज कोइराला सदस्य र मधुप्रसाद रेग्मी सदस्य–सचिव छन् । समितिको सुझावका आधारमा आयोगले सरकारलाई पत्र पठाएको हो ।
आयोगले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा, बढुवा, नियुक्ति जारी राखेको पाइएको उल्लेख गर्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देश गरेको छ । आचारसंहिताविपरीतका सबै निर्णय बदर गर्न पनि सरकारलाई आयोगले निर्देशन दिएको छ ।
आयोगले आचारसंहिताविपरीत सरकारले विभिन्न पदपूर्तिका लागि सूचना प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । आयोगले पदपूर्तिका लागि प्रकाशित सबै सूचना रद्द गर्न सरकारसँग आग्रह गरेको छ ।
‘निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा, बढुवा र नियुक्ति रोकेको पाइएन,’ आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले भने, ‘आयोगले सरकारलाई पत्र लेखी आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ ।’
आयोगले संविधानसभाको नयाँ निर्वाचन सम्पन्न नभएसम्म नयाँ नीति, योजना, कार्यक्रम घोषणा र स्वीकृत नगर्न सरकारका साथै सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका सबै निकायलाई निर्देश गरेको थियो । त्यस्तै नयाँ योजना, कार्यक्रम स्वीकृत नगर्ने, राजनीतिक नियुक्ति, सरुवा, बढुवा, रिक्त पदपूर्ति नगर्न, सरकारको स्वामित्वमा रहेका भवन, अतिथिगृह, सभागृहका साथै साधन र सुविधालाई कुनै राजनीतिक दल र उम्मेदवारको प्रचारमा प्रयोग हुन नदिन आचारसंहिता जारी गरेको थियो ।

प्रतिक्रिया