सिडिओले व्यापारीसँग रकम असुले

वीरगन्ज, १ असार । पर्साका सिडिओ शम्भु कोइरालाले बिहीबार एक व्यापारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर रकम असुलीपछि छाडेका छन् ।
सिडिओ कोइरालाले वीरगन्ज आदर्शनगरका सिडी व्यापारी मुरारी बजाजलाई अपहरणपछि रकम असुलेर छाडेका हुन् । व्यापारी बजाजसँग सिडिओ कोइरालाले चार लाख रुपियाँ असुलेको वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले जानकारी दिए ।
बजाजले नक्कली र अश्लील चलचित्रका सिडी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएर डेढ घन्टासम्म सिडिओ कोइरालाले सरकारी निवासमा बन्धक बनाएर राखेको उद्योग वाणिज्य संघका पदाधिकारीले बताए । बजाजको आदर्शनगरस्थित रुँगटा मार्केटमा मुरारी स्टोर रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका एक कर्मचारी र सिडिओ कोइरालाका सवारीचालक तुलसी भण्डारीले सिडिओ कार्यालयकै ना २ च ७६७१ नम्बरको गाडीमा व्यापारी बजाजलाई पसलबाटै सोधपुछका लागि भनेर नियन्त्रणमा लिएर सिडिओ क्वार्टरमा पुर्‍याएका थिए ।
सिडिओ कोइरालाले व्यापारी बजाजलाई दस लाख रुपियाँ नदिए जेल हाल्ने भन्दै धम्क्याएको बजाजनिकटले बताए । सिडिओ कोइरालाको धम्कीपछि बजाजले आफ्ना साथी कम्प्युटर व्यापारी रमेश चौधरीलाई फोनबाट खबर गरेका थिए । सिडिओ निवास पुगेका व्यापारी चौधरीले सुटकेसमा रहेको रकम दिएपछि बजाज मुक्त भएका थिए ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीद्वारा व्यापारीलाई अपहरण गरेर ल्याइएको खबर थाहा पाएर जिल्ला प्रशासन कार्यालयमा पुगेका सञ्चारकर्मीको भीडभाड बढेपछि सिडिओ कोइरालाले हतारमा चौधरीको जिम्मा लगाएर बजाजलाई फिर्ता पठाएका थिए ।
चौधरी र बजाज कार चढेर सिडिओ क्वार्टरबाट बाहिरिएपछि आफ्नो कार्यकक्षमा प्रवेश गरेका सिडिओ कोइरालाले आफूले बाहिरका कुनै पनि मान्छेसँग क्वार्टरमा नभेटेको दाबी गरे । उनले अपहरणशैलीमा कसैलाई नियन्त्रणमा लिएर रकम असुलेको व्यापारीको भनाइ खण्डन गर्दै क्वार्टरमा कसैसँग भेटघाट नभएको र कार्यालयमा पनि कोही व्यापारी भेट्न नआएको दाबी गरे ।
तर, बजाज र चौधरीले आफूहरूले सिडिओ कोइरालासँग भेटघाट गरेको बताएका थिए । कुुनै पनि व्यापारीविरुद्ध उजुरी परेमा सम्बन्धित वडा प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमार्फत व्यापारीलाई जानकारी गराएर बयानका लागि बोलाउने र कार्यालयमै सोधपुछ गर्नुपर्नेमा सिडिओको क्वार्टरमा लगेर थुन्ने र धम्की दिएर रकम असुल्ने कार्य सुरु भएको भन्दै वीरगन्जका व्यापारीले चिन्ता गरेका छन् ।

प्रतिक्रिया