स्टिभ जब्सको फ्यान हुं

मलाई अहिले बधाईको ओइरो लागेको छ । एसएलसी निकै राम्रो भएको थियो । मैले ९२ प्रतिशत आउने अनुमान गरेको थिएँ । सोचेभन्दा बढी आयो ।
बुधबार रिजल्ट प्रकाशन भएपछि मोबाइलबाट डिस्टिङ्सन भएको थाहा पाइसकेको थिएँ जुन स्वाभाविक नै थियो । बेलुकी आठ बजेतिर स्कुलका एकाउन्टेन्ट रामहरि देवकोटाले फोन गरेर मेरो ९४.८८ प्रतिशत आएको सुनाउँदा पत्याउनै गाह्रो भो । खुसीले फुरुङ्ग भएँ । घरमा मामु मात्रै हुनुहुन्थ्यो । उहाँले पनि गद्गद् भएर बधाई दिनुभयो । त्यसपछि ताप्लेजुङमा बस्नुहुने बाबालाई फोन गरेँ ।
तत्कालै वरिपरिका आफन्त र शुभचिन्तक भेला भएर घाँटीभरि माला लगाइदिए । त्यसपछि स्कुल गइयो । स्कुलका शिक्षक र स्टाफले बधाई दिनुभयो । केही साथी पनि जम्मा भए । खुब बधाई खाइयो । मिठाई पनि बाँडियो ।

मैले इलामको ग्रिन भ्याली स्कुलबाट पढाइ सुुरु गरेको हुँ । युकेजीसम्म त्यहाँ पढेर एक कक्षा नपढी बिकेबिएममा दुई कक्षामा भर्ना भएँ । कक्षा ७ देखि मात्रै फस्र्ट, सेकेन्ड हुन थालेको हुँ । कक्षा ७, ९ र १० मा फस्र्ट भएको थिएँ । मैलै सफलता हासिल गर्नुमा मेरो मेहनत नै प्रमुख कारण हो । स्कुलका साथै घरमा पनि रुटिन बनाएर पढ्ने गर्थें । मैले दैनिक दस घन्टा पढ्ने रुटिन बनाएको थिएँ तर व्यवहारमा सम्भव भएन । दैनिक औसत ६/७ घन्टा पढ्ने गर्थेँ । मैले सफलता हासिल गर्नुको श्रेय स्कुलका शिक्षकदेखि परिवारसम्मलाई दिन चाहन्छु ।
अब साइन्स पढ्ने योजना बनाएको छु । सेन्ट जेभियर कलेजमा पढ्छु होला । मैले धेरै नम्बर ल्याएको थाहा पाएर तीन/चार कलेजबाट पढ्न अफर आइसकेको छ । अन्तबाट अफर आए पनि म पैसाको पछि लाग्दिन । आफूले चाहेको कलेजमा पढ्छु । म स्टिभ जब्सको फ्यान हुँ । जे बने पनि सबल र सक्षम व्यक्ति बन्नुपर्छ भन्ने मान्यता राख्छु । अहिले नै यही बन्छु भन्ने सोचेको छैन । मेरो अनुभवमा सफलता प्राप्त गर्ने ‘सर्ट कट’ उपाय भनेको मेहनत नै हो ।
(भवानीश्वर गौतमसँगको टेलिफोन कुराकानीमा आधारित)

 

 

९४.८८ %

०६८ सालको एसएलसी परीक्षामा विराटनगरको बिकेडिएम बोर्डिङ स्कुलका अरुण कालीकोटेले ९४ दशमलव ८८ प्रतिशत अंक ल्याएका छन् । कालीकोटेले आठ सय पूर्णांकमा सम्भवत: सबैभन्दा बढी सात सय ५९ अंक प्राप्त गरेका छन् । उनको सिम्बोल नम्बर ००९७०५३ ‘यु’ हो । विद्यालयका प्रिन्सिपल रवीन दाहालले कालीकोटेको नतिजा नै यसवर्षको उत्कृष्ट भएको दाबी गरे ।

प्रतिक्रिया