कमिटीमा छलफल चलाउन एमालेको सुझाव

काठमाडौं, ३१ जेठ । एमाले स्थायी समितिले असन्तुष्ट नेताहरुलाई आफ्नो फरकमतवारे सम्बन्धित कमिटीमै आएर छलफल चलाउन र भएका निर्णय कायान्वयन गर्न आग्रह गरेको छ ।
एकल जातीय पहिचानसहितको संघीयताप्रति पार्टी नकारत्मक देखिएको उल्लेख गर्दै उपाध्यक्ष अशोक राईले पार्टीलाई बुझाएको लिखित प्रस्तावलाई सकारत्मक रुपमा लिंदै स्थायी समितिको आज पार्टी मुख्यालय बल्खमा बसेको बैठकले त्यसलाई पार्टी भित्रै छलफल चलाएर टुंगोमा पुराउन आग्रह गरेको हो ।
एकल जातीय पहिचानको प्रदेश निर्माणमा पार्टी नकारत्मक बनेको र संविधानसभा विघटन हुनुमा एमाले पनि दोषी रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि संविधानसभाको पुनस्र्थापनाको पहलकदमी गर्न मंगलवार असन्तुष्ट नेताहरुले लिखित पत्र मार्फत पार्टी नेतृत्वसँग आग्रह गरेका थिए ।
तर, पार्टी स्थायी समिति बैठकले राज्य पुनर्संरचनामा पार्टी एकल जातीय पहिचानको पक्षमा जान नसक्ने निश्कर्ष निकाल्दै असन्तुष्ट नेताहरुका फरक विचारलाई पार्टीमा छलफल चलाएर टुंगोमा पुराउने वताएको छ ।
एकल जातीय पहिचानका प्रदेशप्रति भने एमालेले अस्वीकृति जनाएको छ । ‘एकल जातीय पहिचान हुँदैन भन्नेमा पार्टी दृढ छ,’ सचिव युवराज ज्ञवालीले सौर्यसँग भने, ‘बहुधार्मिक, बहुजातीय बसोवास रहेको मुलुकमा एकल जातीय पहिचान प्रत्युत्पादक हुन्छ भन्ने पार्टीको ठहर छ ।’
आफ्नो विचारलाई बहुमतमा पुराउने अकुण्ठित अधिकार जनजाति नेताहरुलाई रहेको स्मरण गराउँदै उनीहरुले ल्याएका फरक विचारहरुलाई उन्नत लोकतान्त्रिक विधिद्वारा छलफलमा लैजान र पार्टीले गरेका निर्णयलाई मान्न आग्रह गरिएको छ ।
‘नेकपा (एमाले) अन्तरपार्टी लोकतन्त्रका दृष्टिले उन्नतस्तरको अभ्यासमा अभ्यस्त पार्टी हो, पार्टीका हरेक नेता–कार्यकर्तालाई कुनैपनि बिषयमा स्वतन्त्रतापूर्वक विचार निर्माण गर्ने, बहस–छलफल चलाउने र सम्बद्ध कमिटी एवं सिङ्गो पार्टीलाई आफ्नो विचारको पक्षमा सहमत तुल्याउने अकुण्ठित अधिकार छ’ बैठकपछि सचिवालयका सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थायी समितिले पार्टीका सम्बद्ध बैठकहरुमा उपस्थित हुन, आफ्ना मत वा फरक मतलाई अन्तरपार्टी छलफलको बिषय बनाउन, लोकतान्त्रिक विधिका आधारमा निर्णयमा पुग्न र निर्णयहरुलाई निष्ठापूर्वक कार्यान्वयन गर्न आव्हान गरेको छ ।’
असन्तुष्ट रहेर पार्टी काममा निश्क्रिय रहेका नेताहरुलाई फरक विचार राखेकै आधारमा कारवाही वा अन्यथा ब्यवहार नगरिने पनि एमालेले जनाएको छ ।
‘पार्टी काममा फर्किनुहुने नेताहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा ब्यवहार नहुने पनि बैठकले स्पष्ट गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
बैठकले असन्तुष्ट नेताहरुले स्थायी समितिले आमन्त्रण गरेको बैठकमा आएर आफ्ना विचारहरु राख्नुलाई सकारात्मक रुपमा लिएको छ ।

प्रतिक्रिया