दश महिनामा एक अर्ब ठगी

काठमाडौं, ३१ जेठ । वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको १० महिना अवधिमा करिब एक अर्ब रुपियाँ ठगी भएको छ । रोजगारीका लागि विभिन्न मुलुक पठाउँदा झुटो विवरण उल्लेख गर्ने, बढी रकम असुल गर्ने तथा नक्कली कागजातमा विदेश पठाएर अलपत्र बनाई चालु आवको वैशाख मसान्तसम्म ९४ करोड ३८ लाख ३३ हजार नौ सय ८५ रुपियाँ ठगी भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका नाममा ठगी भएको भन्दै चालु आवको सो अवधिमा विभिन्न प्रकृतिका एक हजार ६ सय ५३ उजुरी विभागमा परेका छन् । ती उजुरीमा ठगिएका पीडित पक्षबाट ९४ करोड ३८ लाख ३३ हजार नौ सय ८५ रुपियाँ बिगो दाबी गरेका छन् । विभागमा परेका उजुरीमध्ये बढीजसो व्यक्तिगत ठगीका छन् ।
चालु आवको १० महिने यो अवधिमा ७५ करोड ६६ लाख ९५ हजार पाँच सय ५३ रुपियाँ रोजगारीमा पठाउने नाममा व्यक्तिगत ठगी भएको छ । यो रकम दाबी गर्दै विभागमा एक हजार ३७ वटा उजुरी परेका छन् । विभागका अनुसार झुटो विवरण बनाई विभिन्न मुलुकमा रोजगारीमा पठाएको, अलपत्र पारेको तथा रकम लिएर भागेको भनी ती उजुरी परेका छन् । यस्तै, यो अवधिमा संस्थागत रूपमा रोजगारीमा पठाउने भनी ठगी भएको भन्दै ६ सय १६ वटा उजुरी परेको विभागका अधिकारीले बताए । १० महिने अवधिमा संस्थागत रूपमा १८ करोड ७१ लाख ३८ हजार चार सय ३२ रुपियाँ ठगी भएको विभागले जनाएको छ ।
चालु आवको वैशाख महिनामा मात्र व्यक्तिगत रूपमा ६ करोड ३० लाख रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित एक सय तीनवटा उजुरी विभागमा परेका छन् । सो महिना संस्थागत रूपमा १४ लाख ३२ हजार पाँच सय ९० रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित ७५ वटा उजुरी विभागमा परेका छन् । यस्तै, चालु आवको वैशाख मसान्तसम्म एक सय ३३ ठगी मुद्दा दायर भएको र तीन सय १४ उजुरी फिर्ता भएको विभागको तथ्यांंक छ ।
विभागका अनुसार चालु आवको वैशाखसम्म अदालतमा मात्र ४० करोड ३३ लाख १४ हजारभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर भएको छ । यसमा २८ करोड ७७ लाख ६१ हजार दुई सय १७ रुपियाँ बिगो दाबीसहित व्यक्तिगत ठगीका एक सय ३२ मुद्दा अदालतमा दायर छन् भने ११ करोड ५५ लाख ५३ हजार एक सय ४४ रुपियाँ बिगो दाबीसहित संस्थागत ठगीका चारवटा मुद्दा अदालतमा दयर भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न खोजिरहेको भए पनि व्यक्तिगत ठगीका घटनामा भने कमी नआएको बताउँछन् । उनले १० महिनामा तीन लाख १३ हजार ९३ जना रोजगारीका लागि बिदेसिएको तर ठगीका घटना भने बढ्दै गएको बताए ।
संस्थगतभन्दा व्यक्तिगत ठगी मौलाएको भन्दै भट्टराईले सरकारले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाए । तर, व्यवसायीले समेत गम्भीर भएर ठगी नियन्त्रणमा सहयोग नगरे विभागको मात्र एक्लो प्रयास प्रभावकारी नहुने उनको तर्क छ । विभागको कडाइपछि विगतभन्दा व्यक्तिगत रूपमा बिदेसिनेको संख्या भने कमी आएको उनको दाबी छ । चालु आवको १० महिनामा एक लाख ११ हजार २३ जना व्यक्तिगत रूपमा रोजगारीका लागि विदेश गएको उनले बताए ।

प्रतिक्रिया