नेपालको राजनीतिक घटनाक्रमप्रति कूटनीतिक चासो

शान्ति र स्थिरता छिमेकी चाहना
डा. लोकराज बराल
राजनीतिशास्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बोलावटमा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसँग भेटघाट भएको हो । भेटघाटकै अवसरमा उनीहरूले प्रधानमन्त्रीसँग नेपालको शान्तिप्रक्रिया, संविधान निर्माणको कुरा र पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिएका हुन् । सबै छिमेकी राष्ट्रले नेपालमा शान्ति, राजनीतिक स्थिरता र नयाँ संविधान चाहेका छन् । यो भेटघाटलाई अन्य अर्थमा लिनु पनि हुँदैन । यो नितान्त प्रधानमन्त्रीको चाहनामा बोलाइएको भेटवार्ता हो । हुन त भारत, चीनलगायत मुलुकका आ–आफ्नै चाहना पनि होलान् । तर, प्रधानमन्त्रीको बोलावटमा भएको यो भेटघाटलाई अन्यथा लिइनु हुँदैन । कुनै पनि मुलुुकको बिग्रँदो राजनीतिक अवस्थाप्रति छिमेकी भएको नाताले चासो र चिन्त प्रकट गर्नु स्वाभाविक पनि हो ।

जानकारी लिनु स्वाभाविक

हिरण्यलाल श्रेष्ठ
परराष्ट्रविद्

नेपालका मित्र राष्ट्रले विगतदेखि नै यहाँ शान्ति, राजनीतिक स्थिरता र संविधान निर्माणका बारेमा चासो प्रकट गर्दै आएका छन् । उनीहरूले राजनीतिक दल र सरकारलाई पनि यसबारेमा वार्ता र संवादको प्रक्रियाबाट सहमतिमा आउन आग्रह गर्दै पनि आइरहेका छन् । हिजोको प्रधानमन्त्री–कूटनीतिज्ञको भेटघाट प्रमकै अगुवाइमा भएको हो । आफ्नो कायक्षेत्र रहेको मुलुकमा रहँदा त्यहाँको राजनीतिक घटनाक्रमका बारेमा सूचना र जानकारी लिनु स्वाभाविक हो । भेटघाटकै क्रममा उनीहरूले घोषित निर्वाचनका बारेमा पनि जानकारी लिएका थिए भने उनीहरूले कामचलाउ सरकारको स्पष्ट दृष्टिकोण पन बुझ्न खोजेको पाइन्छ ।

प्रतिक्रिया