एमाओवादीको ‘एकता वार्ता’ निष्कर्षविहीन

काठमाडौं, ३१ जेठ । पार्टी विभाजन रोक्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षबीच मंगलबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । गंगबुस्थित वैद्य निवासमा तीन घन्टा लामो छलफल भए पनि दुवै पक्ष आआफ्ना अडानमा रहेपछि ‘एकता वार्ता’ निष्कर्षमा पुग्न नसकेको हो ।
संस्थापन पक्षले पार्टीलाई एकजुट बनाउन ठोस प्रस्ताव नल्याएका कारण वार्ता विनानिष्कर्ष टुंगिएको वैद्य समूहले जनाएको छ । वार्तामा वैद्य समूहले पार्टी कार्यदिशामा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो । उनीहरुले पार्टी नीति असफल भइसकेकाले अध्यक्ष दाहालले राजीनामा दिनुपर्ने बताएका थिए । संस्थापन पक्षले भने आगामी १ असारमा बोलाइएको राष्ट्रिय भेला स्थगन गर्न वैद्य समूहलाई आग्रह गरेको थियो । दुवै पक्षले एकअर्काका आग्रहलाई अस्वीकार गरेका छन् ।
बैठकपछि दुवै पक्षका नेताले छलफल जारी रहने बताएका छन् । अध्यक्ष दाहालले वार्तामा कुनै ठोस सहमति हुन नसकेको प्रतिक्रिया दिए । वार्ता र छलफल जारी रहने र निकास निस्कनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । ‘छलफल सकारात्मक भएको छ, तर कुनै ठोस सहमति भने हुन सकेको छैन । छलफल जारी रहन्छ र निकास आउँछ,’ उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए ।
उपाध्यक्ष वैद्यले पनि छलफलबाट कुनै निकास नआएको बताए । आफ्नो विचार समूहले आह्वान गरेको राष्ट्रिय भेला कुनै पनि हालतमा नरोकिने उनले बताए । छलफलमा सहभागी वैद्य समूहका स्थायी समिति सदस्य देव गुरुङका अनुसार ‘फुट्नु हँदैन, एकताबद्ध भएर जानुपर्छ’ भन्ने प्रस्ताव दाहालले गरेका थिए । तर, एकताको आधार के हो भन्ने प्रश्नमा भने उनी अक्मकाएका थिए । ‘एकता गर्नुपर्छ भन्ने कुरा गर्नुभयो, त्यसमा त कसैको विमति हुने कुरा भएन । तर, केका अधारमा एकता हुने भन्ने कुनै ठोस कुरा उहाँ(संस्थापन पक्ष)हरुले भन्न सक्नुभएन,’ गुरुङले सौर्यसित भने । विवादको प्रमुख विषय नीतिगत र सैद्धान्तिक भएकाले त्यसमा संस्थापन पक्ष स्पष्ट हुनुपर्ने उनले बताए ।
छलफलमा वैद्य समूहले दाहाललाई ‘तपार्इंले त पार्टी एकता गर्न अध्यक्षबाट राजीनामा दिन्छु भनेर प्रचार पनि गर्नुभएछ’ भनेर व्यंग्य गरेका थिए । जवाफमा दाहालले ‘केन्द्रीय समितिमा आफ्ना कुरा राख्ने क्रममा बोलेका विषयलाई साथीहरुले बाहिर लगेको,’ भन्दै हाँसेका थिए ।
छलफलमा अध्यक्ष दाहालसहित उनी पक्षधर सचिव पोष्टबहादुर बोगटी र स्थायी समिति सदस्य कृष्णबहादुर महरा सहभागी थिए । त्यस्तै, वैद्यसँग महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल, स्थायी समिति सदस्य गुरुङलगायतको सहभागिता थियो ।

प्रतिक्रिया