तलब नदिएपछि एक रुपियाँ पठाएर कटाक्ष

कैलाली : पाँच महिनादेखि तलबभत्ता नपाएपछि बझाङको स्थानीय निकायका कर्मचारीले एक रुपियाँ उठाएर स्थानीय विकास मन्त्रालयलाई पठाएका छन् । स्थानीय निकायमा कार्यरत एक सय तीन कर्मचारीले बझाङका एलडिओ युवराज कट्टेलमार्फत मन्त्रालयलाई एक सय तीन रुपियाँ पठाएका हुन् ।
तलबभत्ता नदिएको विरोधमा स्थानीय निकायअन्तर्गतका सबै कर्मचारीबाट एक रुपियाँ उठाएर एक सय तीन रुपैयाँ मन्त्रालयमा पठाइएको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष जनकराज जोशीले बताए । उनले असार महिनासम्म पनि तलबभत्ता नदिए स्थानीय निकायका कर्मचारीले सामूहिक राजीनामा दिने बताए । यस्तै, एकसाताअघि स्थानीय निकायमा गरिएको तालाबन्दी पनि कर्मचारीले खोलेका छन् । सेवाग्राही मर्कामा परेको भन्दै ताला खोलिएको हो ।
सात सरकारी कार्यालयलाई एक रुपियाँ
बझाङका सात सरकारी कार्यालयलाई कार्यालयको सरसफाइमा ध्यान नदिएको भन्दै व्यंग्यस्वरूप एक रुपियाँ पुरस्कार दिइएको छ । मंगलबार राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम समापन कार्यक्रममा पुरस्कार दिइएको हो । एक रुपैयाँ पुरस्कार पाउने कार्यालयमा सुदूरपश्चिमाञ्चल सिँचाइ विकास सब डिभिजन नम्बर १, जिल्ला निर्वाचन कार्यालय, जिल्ला अस्पताल, जिल्ला पशु सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, चैनपुर स्वास्थ्य चौकी, बझाङ जिल्ला अदालत र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय छन् ।
कार्यालयको शौचालय, खानेपानीको अवस्था, कार्यालय परिसर र कार्यालयका कर्मचारीको घरमा शौचालय भए/नभएको तथा कार्यालयका कोठाको मूल्यांकन गरी नतिजा प्रकाशित गरिएको थियो । (सौस)

प्रतिक्रिया