बमजनका अनुयायीद्वारा राजमार्ग बन्द

वीरगन्ज, ३१ जेठ । बारा हलखोरिया जंगलबीच तपस्यामा रहेका भनिएका रामबहादुर बमजनका अनुयायीको अराजकता बढेर गएको छ । बमजनलाई धार्मिक नाममा नागरिकता र रातो पासपोर्ट माग गर्दै गरिएको राजमार्ग बन्दका क्रममा मंगलबार अनुयायीको आक्रमणमा परेर १५ प्रहरी घाइते भएका छन् ।

सई रविभूषण यादव, असई वैद्यनाथ दास, हवल्दार रामनारायण यादव, किशोर थापा र नागेन्द्र हजरा घाइते भएका हुन् । यस्तै, प्रहरी जवान नागेन्द्र यादव, विनोद पासवान, होसनारायण यादव, मानबहादुर बस्नेत, प्रदीप यादव, तुलसीराम चौधरी, गोपाल कुमार, मोतीलाल यादव, ऋषिराम अर्याल र करण श्रेष्ठ पनि घाइते भएका छन् ।
नागरिकता र रातो पासपोर्ट दिनुपर्ने माग गर्दै पिलुवामा राजमार्ग बन्द गर्न गएका अनुयायी र स्थानीयबीच भएको झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा बमजनका अनुयायीले प्रहरीमाथि आक्रमण गरेका हुन् । प्रदर्शनस्थलमा इलाका प्रहरी कार्यालय सिमरा, निजगढ, जितपुर र प्रहरी चौकी पथलैयाबाट प्रहरीको संयुक्त टोली पुगेको थियो । घाइते प्रहरीको निजगढ र सिमरामा उपचार गरिएको इन्स्पेक्टर केपी शर्माले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरिङ गरेको इन्स्पेक्टर शर्माले जानकारी दिए ।
बमजनको संरक्षणमा खोलिएको बोधीश्रवण धर्म संघको अगुवाइमा रहेका उनका अनुयायीले मंगलबार बिहान ७ बजेदेखि राजमार्ग अवरुद्ध गरेपछि पिलुवाका बासिन्दा प्रतिकारमा उत्रिएका थिए । गाउँलेले बन्दको प्रतिकार गरेपछि दुवै पक्षबीच पटकपटक गरी करिब एक घन्टा झडप भएको थियो । इन्स्पेक्टर शर्माका अनुसार झडपमा बमजनका अनुयायीतर्फ संघका सचिव रामकुमार थिङ, बालहरि राईलगायत १२ र स्थानीयतर्फ ६ घाइते भएका छन् । बमजनका अनुयायीले अनावश्यक माग राख्दै राजमार्ग अवरुद्ध गरेर यात्रुलाई सास्ती दिएको भन्दै स्थानीय प्रतिकारमा उत्रिएका थिए । अवरुद्ध राजमार्ग प्रहरीको हस्तक्षेपपछि बिहान १० बजेदेखि सुचारु भएको थियो ।
प्रहरीले प्रदर्शनस्थलबाट बमजनका अनुयायीले प्रयोग गरेको ना २ त ९४९१ नम्बरको ट्रयाक्टर, सातवटा मोटरसाइकल र ३२ वटा साइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन इलाका प्रहरी कार्यालय सिमरामा राखिएको इन्स्पेक्टर शर्माले बताए । बन्दका क्रममा बमजनका अनुयायीले निजगढका सुमन लामाको ना १३ प ४२७२ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ।
बमजनका अनुयायीले शनिबार पनि पिलुवामै चार घन्टा राजमार्ग अवरुद्ध गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख विनय श्रीवास्तवले बमजनका अनुयायीका मागबारे आइतबार स्थानीय प्रशासनसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगन भएको थियो । तर, आइतबार वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका बमजनका अनुयायीलाई सिडिओ वीरेन्द्रकुमार यादव बिदामा रहेको भन्दै स्थानीय प्रशासनले टारेपछि पिलुवामा राजमार्ग बन्द गरेका थिए ।
बमजनलाई धार्मिक नागरिकता र रातो पासपोर्ट दिन नसकिने सिडिओ यादवले बताए । उनले भने, ‘संघले राखेका माग पूरा हुन सक्दैन ।’ बमजनका आफन्तले पनि धार्मिक नामबाट नागरिकता नदिन प्रशासनमा उजुरी दिएका छन् । क्यानडा, जर्मनी, स्विट्जरल्यान्डलगायत एक दर्जनभन्दा बढी मुलुकबाट भ्रमण र प्रवचनका लागि बमजनलाई निम्तो आएपछि संघले धार्मिक नामबाट नागरिकता र रातो पासपोर्ट बनाएर विदेश लैजानका लागि चलखेल सुरु गरिएको हो ।
संघका केही व्यक्तिले १३ वैशाख ०६९ मा रतनपुरी गाविस कार्यालयबाट बमजनको नक्कली जन्मदर्ताको प्रमाणपत्र बनाएका थिए । चतुर्मान बमजनका नाति वीरबहादुर बमजन तथा मायादेवी तामाङ्नीका छोरा धर्मसंघ बमजनका नाममा बनाइएको जन्मदर्तामा २७ चैत ०४६ जन्ममिति कायम गरिएको प्रमणपत्र बनाइएको परिवारजनले बताए । बमजनका माइला दाजु दिलबहादुरका अनुसार भाइको नाममा रतनपुरी गाविस कार्यालयबाट ८ वैशाख ०५२ मा जन्मदर्ता प्रमाणपत्र बनिसकेको छ ।

प्रतिक्रिया