राष्ट्रपतिको शरणमा विपक्षी दलहरु

काठमाडौं, ३० जेठ । कांग्रेस, एमाले सहित साना दुई दर्जन विपक्षी दलहरुले कामचलाउ सरकारले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै राष्ट्रपति डा.रामवरण यादवसँग अध्यादेशलाई स्वीकृति प्रदान नगर्न आग्रह गरेका छन् ।
शीतल निवासमा आज बेलुका कांग्रेस, एमाले सहितका दलले ज्ञापन पत्र बुझाएर सो माग गरेका हुन् । उनीहरुले कामचलाउ सरकारले अध्यादेश मार्फत निरंकुशता लाद्न लागेको आरोप लगाएका छन् ।
राष्ट्रपति डा.यादवसँगको भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले अध्यादेशबाट मुलुक चलाउने कामचलाउ सरकारका असंवैधानिक गतिविधि रोक्न आग्रह गरेको बताए । उनले भने, ‘अध्यादेशबाट मुलुक चलाउने कार्य रोक्न राष्ट्रपतिसँग आग्रह गरेका छौं ।’
ज्ञापन पत्र बुझेपछि राष्ट्रपति डा.यादवले आफू संवैधानिक दायरामा रहेर अगाडि बढ्ने आश्वासन दिएका छन् । अध्यक्ष खनालका अनुसार राष्ट्रपति डा.यादवले मुलुकलाई राष्ट्रिय सहमतिमा लैजान पनि दलहरुलाई सुझाव दिएका छन् ।
अध्यक्ष खनालले अध्यादेश ल्याउनै परेपनि राष्ट्रिय सहमतिका साथ ल्याउनुपर्ने आफूहरुको मान्यता रहेको बताए ।
राष्ट्रपति डा.यादवसँग भेटगर्नु अघि कांग्रेस पार्टी कार्यालय सानेपामा २७ दलको बैठक बसेको थियो । सो बैठकले नेपाली सेनालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको भईसकेको भनेर दिएको अभिब्यक्तिको पनि बिरोध गरेका थिए ।

प्रतिक्रिया