असारभित्रै सहमतिको सरकार बन्छ


काठमाडौं, ३० जेठ । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले असार भित्रमै सहमतिको राष्ट्रिय सरकार गठन हुने दावी गरेका छन् ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले असंबैधानिक रुपमा अध्यादेशमार्फत ल्याउन लागेको बजेट राष्ट्रपति डा.रामवरण यादवले रोक्नु पर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा महतले काम चलाउ सरकारले अध्यादेशबाट बजेट ल्याउन नसक्ने बताए । उनले भने, ‘सहमतिको सरकार बनेपछि मात्रै बजेट सार्वजनिक हुन्छ ।’
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ४३ बमोजिम सहमतिको सरकार गठनका लागि तत्काल आब्हान गर्नु पर्ने भन्दै महतले त्यसपछि मात्रै मुलुकले निकास पाउने बताए ।
‘कांग्रेस निर्वाचनको पक्षमा छ,’ कांग्रेस नेता महतले भने, ‘प्रधानमन्त्रीले भने जस्तो निर्वाचन हुन सक्दैन ।’
कामचलाउ सरकारका शान्ति तथा पुनः निर्माणमन्त्री टोपबहादुर रायमाझीले पाँच बुँदे सहमति कांग्रेस र एमाले लगायतका दलहरुले कार्यान्वयन गरे प्रधानमन्त्रीले पद छाड्ने बताए ।
उनले सडकबाट माग्दैमा प्रधानमन्त्रीको राजीनामा कुनै पनि हालतमा नआउने बताए ।
एमालेका पोलिटब्यूरो सदस्य भीम रावलले राष्ट्रपतिले कामचलाउ भनेर सहमतिका लागि पहल गर्न निर्देशन दिईसकेको अवस्थामा त्यसलाई बेवास्ता गरेर हिड्ने प्रधानमन्त्रीलाई सचेत गराउनु पर्ने उल्लेख गरे । उनले निर्देशन अवज्ञा गर्ने प्रधानमन्त्रीले ल्याएको कुनै पनि अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाउन नमिल्ने दावी गरे ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिले नै सहमतिको सरकार गठनका लागि पहल गर्नु पर्ने बताए ।

प्रतिक्रिया