दाहाल–डेलिसी भेटबार्ता

काठमाडौं, ३० जेठ । सत्तारुढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत स्कट एच.डेलिसीवीच आज भेटबार्ता भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा भएको भेटबार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
भेटमा राजदूत डेलिसीले नयाँ निर्वाचन, संविधान तथा सहमतीय सरकारलगायतमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक संकट सहमतिकै आधारमा टुङगाउने आश्वासन समेत दिएका थिए ।
मकवानपुरको हेटौडामा पूर्व लडाकुलाई जागिर दिलाउनका लागि एमाओवादीले दबाव दिएको भन्ने समाचारका विषयमा समेत अमेरिकी राजदूत डेलिसीले चासो राखेका थिए ।
सो विषयमा अध्यक्ष दाहालले समाचारको खण्डन गर्दै जागिरका लागि दबाव दिने पार्टीको कुनै नीति नरहेको जवाफ डेलिसीलाई दिएको उनको निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय आफ्नो विदाई भेट गर्दै आएका अमेरिकी राजदूत डेलिसीले दाहालसँग परामर्श गरेका हुन् । डेलिसी छिट्टै स्वदेश फिर्ता हुँदैछन् ।

प्रतिक्रिया