मोबाइल बार्ता पछि नायिका पासोमा

काठमाडौं, ३० जेठ । नेपाली रजतपटकी नायिका जेसिका खड्काले आत्महत्या गरेकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्वर–२३, बसन्तपुरको झोसेंस्थित डेरा गरेर बस्दै आएकी खड्काले आज विहान आत्महत्या गरेको महानगरीय प्रहरी जनसेवा प्रभाग न्यूरोडले जनाएको छ । उनको स्थायी घर सुनसरीको इटहरी हो ।
आज विहान करिव १/२ वजेको समयमा नायिका खड्काले घरको दलिनमा सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी भनाई छ । उनी राज्य शाक्य नाम गरेका व्यक्तिको घरमा विगत ३/४ बर्षदेखि डेरामा बस्दै आएकी थिईन ।
नायिका खड्काको आत्महत्याको विषयलाई लिएर प्रहरीले धरान नगरपालिका वडा नम्वर–१५ स्थायी घर भएका बालदीप राईलाई पक्राउ गरेको छ । राई चलचित्र निर्माता हुन् । उनी काठमाडौंको सिफलमा बस्दै आएका छन् ।
व्वाईफ्रेण्ड समेत रहेका राईसँग खड्काको गएराति मोबाईलमा भएको लामो कुराकानीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।
मोबाइलमा कुराकानी सकिए लगत्तै नायिका खड्काले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ । खड्काको शव संकास्पद अवस्थामा फेला परेको थियो ।
नायिका खड्का र चलचित्र निर्माता राईवीच लामो सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका खड्काको पछिल्लो चलचित्र ‘जंगल क्वीन’ रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया