चीनबाट रासायनिक मल ल्याउने गृहकार्य

काठमाडौं, ३० जेठ । सरकारले चीनबाट रासायनिक मल ल्याउने तयारी गरेको छ । प्रत्येक वर्ष रासायनिक मलको चरम अभाव भएको र एउटै मात्र मार्गबाट मल निकासी गर्दा एकाधिकार भएको भन्दै सरकारले वैकल्पिक मार्गका रूपमा चीनबाट मल ल्याउने गृहकार्य अघि बढाएको हो ।
नेपालमा मल भित्रिने वैकल्पिक मार्गका रूपमा चीनबाट मल भित्र्याउनेबारे हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौँ,’ कृषि मन्त्रालयका प्रवक्ता डा. हरि दाहालले भने, ‘एउटा मार्गबाट भन्दा विभिन्न मार्गबाट मल भित्र्याउँदा थप राहत हुने भएकाले यसतर्फ पनि सोचाइ बनाएका हौँ ।’ चीनबाट रासायनिक मल ल्याउने विषयमा निकै अघिदेखिको सोचाइ भए पनि चीनबाट मल ल्याउन केही प्राविधिक समस्या हुने देखिएकाले थप प्रक्रिया अघि बढेको थिएन तर अब अघि बढाउने सोचाइमा छौँ, प्रवक्ता दाहालले बताए ।
मन्त्रालयले चीनबाट रासायनिक मल ल्याउनेबारे चीन सरकारसँग आधिकारिक छलफल गरी अघि बढ्न सरकारसँग आग्रह गर्ने तयारी गरेको छ । मन्त्रालयले यसका लागि सबैभन्दा पहिले चिनियाँ राजदूतमार्फत आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सरकारले चिनियाँ राजदूतावासमार्फत सहुलियत मूल्यमा मल ल्याउनेबारे छलफल गर्ने छ । मन्त्रालयले नयाँ आर्थिक वर्षको सुरुमै चिनियॉ दुतावासमार्फत औपचारिक रूपमै चीनबाट मल खरिद गरी नेपाल भित्र्याउने दुई पक्षीय छलफल गरिने छ ।
‘यसबीचमा कुनै अवरोध आएन भने, आगामी आवमा चीनबाट नेपालमा मल भित्रन्छ, यसका लागि नेपाल सरकारले चीनसँग अनौपचारिक छलफलसमेत गरिसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
स्रोतका अनुसार चीनले पनि नेपाललाई सहुलियत मूल्यम रसायनिक मल दिने विषयमा अनौपचारिक सहमति जनाइसकेको छ । चीनबाट सहुलियतदरमा रासायनिक मल ल्याए पनि कुन मार्गबाट र कसरी ल्याउने भन्ने विषयमा भने नेपाल सरकारले कुनै निक्र्योल गर्न सकेको छैन । ‘बाटो लामो पर्ने भएकाले केही समस्या हुन्छ कि भन्ने हो,’ मन्त्रालयका प्रवक्ता दाहालले भने, ‘यसबारेमा विभिन्न उपायको खोजी गर्ने कार्य भइरहेको छ ।
यता, सञ्चारमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइटेलले पनि सरकारले रासायनिक मलको अभाव कम गर्न चीनबाट मल ल्याउने प्रक्रिया अघि बढाएको बताए । उनले रासायनिक मल अभाव अन्त्यका लागि चीनबाट मल ल्याउने प्रक्रियाबारे मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरेको बताए । उनले प्रमुख बाली धान रोप्ने बेलामा मुलुकमा रासायनिक मल अभाव हुने धारणा पनि सो अवसरमा राखे ।
नेपाल र भारतीय सरकारबीच भएको समझदारीअनुसार नेपालले लामो ठेक्का प्रक्रिया गरी तत्काल मल ल्याउन सम्भव नभएका बेला भारतबाट एक लाख मेट्रिक टनसम्म मल अन्तर्राष्ट्रिय मूल्यमा सोझै आयात गर्न पाउने व्यवस्था छ । तर, पनि सरकारले रकम अभावका कारण देखाउँदै सो परिमाणमा मल ल्याउन सकेका । कृषि विकास मन्त्रालयले भारतबाट सोझै मल ल्याउनका लागि सरकारसँग तीन अर्ब २१ करोड रुपियाँ रकम माग गरेको थियो तर सरकारले रकम अभाव भएको भन्दै सो रकम निकास नदिएपछि मल अभाव चर्कोको हो ।
काठमाडौंमा जेठमा, पहाडमा असारमा र तराईमा साउनमा धान रोपिन्छ । तर, अब सरकारले सो रकम उपलब्ध गराए पनि मल खरिदका लागि कम्तीमा पाँच महिना लाग्ने भएकाले यस वर्ष धान खेतीका लागि मल ल्याउन भ्याइने सम्भावना छैन । कृषि मन्त्रालयका अनुसार मल खरिद गर्न डेढ महिना ठेक्का आह्वान प्रक्रिया, ठेकेदार छनोट गर्न दुई साता, ठेकेदार कम्पनीले विदेशबाट मल आयात गर्न तीन महिना लाग्ने भएकाले नेपालमा मल भित्र्याउन पाँच महिना लाग्ने भएको हो ।
समयमै नेपालमा मल भित्र्याउन नसक्दा धान खेतीपछि लगाइने मकै, उखु, गहुँ, तरकारीलगायत खेतीका लागि मल अभाव हुने भएको छ । रासायनिक मल अभाव भएमा धान र तरकारी खेतीमा ३०, उखुमा ७०, मकैमा ४० र गहुँमा ५० प्रतिशतसम्म उत्पादनमा घट्ने कृषि विज्ञहरूको भनाइ छ । यसले मुलुकको कुल गार्हस्थ उत्पादन घट्ने र खाद्यान्न अभाव चरम हुने चिन्ता पनि विज्ञाहरूले गरेका छन् । किसानले धान खेतीमा मल हाल्न नपाए उत्पादन ३० प्रतिशतसम्म घट्ने मन्त्रालयका प्रवक्ता दाहालले बताए । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३३ प्रतिशत छ भने कृषिमा धानको मात्र योगदान २१ प्रतिशत छ ।
कृषि सामग्री संस्थानका अनुसार एक आवका लागि कम्तीमा पनि पाँच लाख टन रासायनिक मलको आवश्यकता पर्छ । तर, नेपालले प्रत्येक वर्ष कम्तीमा डेढ लाख टन मात्र ल्याउने योजना बनाए पनि पूरा हुन सकेको छैन ।

प्रतिक्रिया