वर्तमान परिदृश्यमा प्रचण्ड प्रवृत्ति

समाज विकासको क्रममा केही यस्ता सकारात्मक र नकारात्मक प्रवृत्तिहरू देखापर्छन् जसले एउटा युगलाई नै प्रभाव पार्छ । नेपालको राजनीतिक इतिहासमा नेपाल राष्ट्रको एकीकरणपश्चात् राजा रणबहादुर शाहमा एउटा प्रवृत्ति देखापर्‍यो जुन प्रवृत्तिले राणा जंगबहादुरको उदय हुनमा मद्दत पुर्‍याएको थियो । राजा रणबहादुरले राजदरबारभित्र दुनियाँको सबै प्रकारको सुखभोग भित्र्याउने नाममा मानवीय मूल्य मान्यता, रीतिथिति, परम्परा, ऐन नियम सबै मिच्न पुगे । व्यक्तिगत सुखभोगका निम्ति राज्यको ढुकुटीसमेत रित्याउने काम गरे । राज्य सञ्चालन गर्न जनताको गास काटेर राज्यको ढुकुटी भर्नुपर्ने अवस्था सृजना गरे । यिनै प्रवृत्तिले जन्माएको आत्मकेन्द्रित महत्त्वाकांक्षाबीचको टक्करले जंगबहादुर राणाको उदय भएको थियो । त्यसपछि जंगबहादुरले एक सय चार वर्ष नेपाल राष्ट्रका जनतालाई गुलाम र चाकर बनाउने काम गरे । आफ्ना सम्पूर्ण स्वप्नील जीवनलाई जनताले टुलुटुलु हेरेर एउटा बहुला घोडाको टापमुनि दबाएर बिताउनुपर्‍यो । राजाको आत्मकेन्द्रित बहुलठ्ठीपन र राणाको स्वार्थी सन्कीपनका कारण मुलुकमा विकास र शान्तिको स्थापना कहिल्यै हुन सकेन । शोषणकारी, विभेदकारी, निरंकुश तिनै राणा प्रवृत्तिको अन्त्यका लागि राजा र जनताको एकताले २००७ को जनक्रान्ति सम्पन्न भयो । ‘सात सालको क्रान्ति’को नामले चिनिने उक्त क्रान्तिले राजालाई राणाको खोरबाट जनताको माझमा ल्याउने काम गर्‍यो भने जनप्रतिनिधिलाई पनि राज्यसत्ताको पहुँचमा पुर्‍याउने काम गर्‍यो । सात सालपछि मात्र नेपालको राजनीतिले वैचारिक रूपमा ध्रुवीकरण हुन पाएको हो भने राजाले पनि खुलेर शासनको नेतृत्व गर्न पाएको हो भन्दा अत्युक्ति नहोला ।
राजा महेन्द्रको नेतृत्वमा भएको १ पौष ०१७ को सैनिक ‘कु’पछि नेपालको राजनीतिले पुन: कोल्टे फेर्‍यो । ३० वर्षसम्म निरंकुश पञ्चायती शासनको सिकार नेपाली जनता हुनुपर्‍यो । ०४६ सालको बृहत् जनआन्दोलनको परिणामस्वरूप देशमा बेलायती मोडलको बहुदलीय प्रजातान्त्रिक संसदीय व्यवस्थाको स्थापना त भयो तर जनताले पञ्चायती मण्डले प्रवृत्तिबाट मुक्ति पाउन सकेनन् जुन मण्डले प्रवृत्तिलाई प्रजातन्त्रप्राप्तिपछिका शोषकहरू विशेषगरी गिरिजाप्रसाद कोइराला प्रवृत्तिले मलजल गरी नै रहे, जसले गर्दा नेपाली जनताले जुन जुन जनविरोधी प्रवृत्तिबाट मुक्ति चाहेका थिए त्यो सम्भव भएन । जनताले बहुदलीय प्रजातान्त्रिक व्यवस्था त पाए तर उनीहरूले खोजेका मौलिक अधिकारबाट भने सधैँ वञ्चित नै हुन बाध्य भए । बहुदलीय शासन व्यवस्थामा पनि जनताले राजनीतिक स्थिरताको अनुभूति गर्न पाएनन् । उनीहरूले आशा गरेको शिक्षा, स्वास्थ्य, सुरक्षा, शान्ति, विकास, रोजगारीजस्ता सामाजिक सुरक्षाका विषय गरिब नेपाली जनताको पहुँचभित्र पुर्‍याउने काम कुनै पनि दलको शासनले गरेन । बरु मुलुकमा चौतर्फी गिरिजाप्रवृत्ति हाबी हुन पुग्यो । गिरिजाप्रवृत्ति भन्नाले मुलुकमा राजनीतिक भ्रष्टाचार, वैदेशिक चाटुकार, गुन्डागर्दी, संस्थागत अपराध, दण्डहीनता, आर्थिक अराजकता, पुलिसतन्त्र, कर्मचारीतन्त्र, कांग्रेसी ठालुतन्त्रजस्तो विकृति मुलुकभर एकछत्र हाबी हुन पुग्यो जसको सिकार निरन्तर गरिब जनता हुन बाध्य हुनुपर्‍यो । यसैका कारण नेपाली जनता बहुदलीय प्रजातान्त्रिक व्यवस्थाबाट टाढिन थाले । कांग्रेस र एमालेको सत्तालिप्साद्वारा स्थापित कुशासनभित्र विष घोल्ने काम प्रतिगामी तत्वले गर्न पुग्यो । त्यसबाट सृजना भएको परिस्थितिबाट माओवादी सशस्त्र युद्धको सूत्रपात हुन पुग्यो । साँच्चै भन्ने हो भने यो गिरिजाप्रवृत्तिको उपज नै थियो । हुन त माओवादीले सशस्त्र युद्ध सुरु गर्नुभन्दा पहिले देउवा सरकारलाई बुझाएको ४० सूत्रीय माग जनसरोकारको विषयजस्तो देखिए पनि बाख्राको पाठोले पानी धमिल्याएको निहुँमा बाघले खोँचे थापेको नीतिकथाजस्तै थियो । किनभने, उनीहरूले दिएको अल्टिमेटमको अवधि पूरा नहुँदै युद्ध सुरु गरेका थिए ।
गिरिजाबाबुले दिएको पृष्ठभूमिबाहेक उनीहरूसँग नेपालमा सशस्त्र युद्ध गर्ने सैद्धान्तिक आधारहरू थिएनन् । चिनियाँ कम्युनिस्ट पार्टीको छैटौं महाधिवेशनमा दिएको भाषणमा माओत्सेतुङले वैधानिक रूपमा राजनीतिक स्वतन्त्रता भएको ठाउँमा वैधानिक संगठनको आधारमा जनताबीचमा जानुपर्ने कुरामा जोड दिएका छन् । सशस्त्र युद्धकालमा माओवादीले राजसंस्थासँग मिलेर संसदीय प्रजातन्त्रवादीविरुद्ध धावा बोल्ने रणनीति लिएको थियो । कम्युनिस्ट पार्टीको सिद्धान्तमा आधारित प्रमुख शत्रुलाई परास्त गर्न गौणशत्रुलाई प्रयोग गर्ने यो रणनीति कम्युनिस्ट सिद्धान्तविरोधी थियो साथै त्यो आत्मघाती पनि थियो । कहिले राजसंस्थासँग मिलेर संसद्वादीलाई सफाया गर्ने र कहिले भारतीय सेनालाई जिस्क्याएर नेपाल प्रवेश गराउन खोज्ने उनीहरूको रणनीतिलाई कुनै पनि हालतमा कम्युनिस्ट रणनीति मान्न सकिँदैन तापनि उनीहरूले सशस्त्र युद्धलाई १० वर्षसम्म धकेलेर ल्याए र अर्बाैंको भौतिक संरचना ध्वस्त पारे । आर्थिक रूपमा मुलुकलाई धेरै वर्ष पछाडि धकेल्ने काम गरे ।
अहिले मुलुक घनीभूतरूपमा प्रचण्ड प्रवृत्तिको सिकार बनेको छ । माओवादी अध्यक्ष प्रचण्ड अहिले ध्वंसात्मक प्रवृत्तिको एउटा प्रतीक बनेका छन् र समाजको हरेक क्षेत्रमा नकारात्मक पक्षको विम्बको रूपमा प्रचण्ड स्थापित छन् । कम्युनिस्ट पार्टीको नेता भए पनि उनी जातीय राजनीतिको प्रवक्ता बने, कम्युनिस्ट आन्दोलनको लक्ष्य भनेको वर्गीय शोषणको अन्त्य गर्ने हो तर प्रचण्डको प्राथमिकताको विषय समाजमा जातीय राजनीतिको वीजारोपण गर्नु बनेको छ जुन नीति ६० को दशकतिर सिआइएका अधिकारी जोन केनेथ न्याउसले प्रतिपादन गरेका थिए । शदियौँदेखि आपसी सद्भावका साथ मिलेर बसेको समाजलाई खलबल्याएर आपसी विद्वेष फैलाउने काम अहिले प्रचण्डले गरेका छन् । आफूले भनेको नमान्नेलाई भौतिक रूपमा खत्तम पार्नु प्रचण्डप्रवृत्ति हो । आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति भनेको प्रचण्डप्रवृत्ति हो । द्रव्यपिचासी प्रवृत्ति, एकमनावादी प्रवृत्ति, हुकुमी प्रवृत्ति, अधिनायकवादी प्रवृत्ति, अस्थिर र अवसरवादी प्रवृत्ति र चटके प्रवृत्ति भनेको प्रचण्डप्रवृत्ति हो । अहिले मुलुक चौतर्फीरूपमा प्रचण्डप्रवृत्तिको रोगले ग्रस्त बनेको छ । गिरिजाप्रवृत्ति र प्रचण्डप्रवृत्तिले जनआन्दोलन–०६२/६३ को राष्ट्रिय सहमतिको अभिमतलाई तोडेका कारण राष्ट्र अहिलेको भयावह स्थितिको सामना गर्न बाध्य छ । अहिले मुलुकको हरेक क्षेत्रमा देखापरेको दण्डहीनता र अराजकताको स्रोत गिरिजा र प्रचण्डप्रवृत्ति नै हो । नयाँ नेपालको दुहाइ दिँदै नेपाललाई मध्ययुगीन बर्बर अवस्थामा फर्काउने चिन्तन र चरित्र नै वास्तविक रूपमा प्रचण्डप्रवृत्ति हो । प्रचण्डप्रवृत्तिमा परिवर्तन र प्रगतिशीलतालाई कहीँ कतै स्थान छैन । प्रचण्डपुराण गाउने भजनमण्डलीलाई मात्र फलिफाप र ऐश्वर्यप्राप्त छ । अब खोजौँ प्रचण्डप्रवृत्तिको विकल्प जसले नेपाल राष्ट्रको ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई जोगाओस् र नेपाली जनताबीचको आपसी एकता र सद्भावनालाई अक्षुण्ण राख्न सकोस् । अन्यथा, जसरी गिरिजाप्रवृतिले प्रचण्डप्रवृत्ति जन्मायो, प्रचण्डप्रवृतिले त्यसरी नै मुलुक समाप्त पार्ने अर्को प्रवृति जन्माउनेछ ।

प्रतिक्रिया