विकृतिविरुद्ध “धर्तीपुत्र”

काठमाडौं : नेताहरू सामाजिक जिम्मेवारी बिर्सिएर भ्रष्टाचारमा मात्रै लिप्त हुँदा बेरोजगारी समस्याले कसरी जरो गाड्छ र युवाहरू कसरी कुलतमा फस्छन् भन्ने कथावस्तु समेटेर चलचित्र निर्माण भएको छ– धर्तीपुत्र । दिलीप रायमाझी, सुनील थापा, शूरवीर पण्डित, प्रेम खड्का, सञ्चिता गुरुङ, उषा खरेल, विक्रान्त बस्नेत, रेसम फिरिरी, विनय लामा आदिको अभिनय रहेको चलचित्रलाई अमर ओलीले निर्देशन गरेका हुन् ।
जेठको अन्तिम साताबाट देशभर प्रदर्शनको तयारीमा जुटेको यो चलचित्र प्रेम खड्का, सागर क्षत्री र सीता क्षत्रीले निर्माण गरेका हुन् । नेताहरूको आश्वासनमा परेर भौँतारिएका युवाबीच जब नेताको गलत चरित्रको पर्दाफास हुन्छ तब ती युवाशक्ति नेताहरूविरुद्ध कसरी खनिन्छन् भन्ने कथावस्तुलाई सन्देशमूलक ढंगले प्रस्तुत गरिएको निर्देशक ओलीले जानकारी गराए । (सौस)

प्रतिक्रिया